धादिङमा दुई उद्योग वाणिज्य संघका बिच शितयुद्ध चरमउत्कर्षमा-बिबाद बढाउन भवनको स्वामित्वको किचलो संगै एउटै समयमा दुई धादिङ महोत्सवको घोषणा

734 पटक पढिएको

सम्पादक: Dhadingnews.com

केशव अधिकारी
धादिङ,२५ बैशाख ः राजनैतिक मतभेदका कारण दुई तिर विभाजित हुन पुगेका धादिङका उद्यमी व्यवसायीहरुको दुई संस्थाका बिच शितयुद्ध चरमउत्कर्षमा पुगेको छ ।
10268626_1496005390619520_2100765920027119797_nनयां सदस्यता बितरण र पुराना सदस्यता नविकरणका लागि राजनैतिक आस्थाका आधारमा विभेद गरेको भन्दै नेपाली कांग्रेस र नेकपा एमाले समर्थित व्यवसायीहरुले २०६९ मंसिर ३० गते धादिङ उद्योग वाणिज्य संघ सामुहिक रुपमा परित्याग गरेका थिए । पुरानो संस्था त्यागेका व्यवसायीहरुले सोही दिन कल्पना अधिकारीको अध्यक्षतामा उद्योग वाणिज्य संघ धादिङ गठन गरेपछि जिल्लामा दुईवटा उद्योग वाणिज्य संघ संचालनमा रहेको छ । पुरानो संघले पनि सोहि दिन चन्द्रकान्त अधिकारीको अध्यक्षतामा एमाओवादी समर्थित व्यवसायीहरुलाई समेटेर कार्य समिति चयन गरेको थियो । सातौं अधिबेशनवाट चयन भएको धादिङ उद्योग वाणिज्य संघको कार्य समिति डेढ बर्षमा चार पटक पुर्नगठन भईसकेको छ ।
उद्योग वाणिज्य संघ धादिङ गठन गरेर अघि बढेको समुहले पुरानो संस्था छाडेको करिव डेढ बर्ष पछि पुरानो संस्थाको भवनको निर्माणमा आफुंहरुको पनि परिश्रम र लगानी रहेको भन्दै भवनको स्वामित्व पाउनु पर्ने माग राख्दै स्थानीय प्रशासन र नेपाल उद्योग वाणिज्य महासंघलाई पत्राचार गरेपछि दुई संस्थाका बिच शितयुद्ध शुरु हुन पुगेको हो । समान उद्देश्यका दुई संस्थाको आवश्यकता नरहेको भन्दै दुईवटा संघ एकीकरणका लागि पटक पटक गरिएका प्रयास असफल हुंदै आईरहेको छ । गत बर्ष एक महिनाको फरकमा दुई वटा धादिङ महोत्सव सम्पन्न गरेका उद्योग वाणिज्य संघहरुले यस बर्ष पनि एउटै समयमा दुईवटा धादिङ महोत्सवको घोषणा गरेर तयारी शुरु गरेका छन । अघिल्लो बर्ष धादिङबेसीमा महोत्सव सम्पन्न गरेको उद्योग वाणिज्य संघले यस बर्षको लागि २०७१ पुस ७ गते देखि १७ गते सम्मका लागि धादिङबेसीमा धादिङ महोत्सव आयोजना गर्ने घोषणाका साथ तयारी शुरु गरिसकेको छ ।
अघिल्लो बर्ष पृथ्वीराजमार्गको गलौंदीमा धादिङ महोत्सव सम्पन्न गरेको धादिङ उद्योग वाणिज्य संघले पनि २०७१ पुस ९ गते देखि २१ गते सम्म धादिङबेसीमा धादिङ महोत्सव २०७१ को आयोजना गर्ने घोषणा गरेर प्रचार प्रसार शुरु गरेको छ । एउटै समयमा धादिङ महोत्सवको घोषणा गरिनुलाई दुवै संघको अस्तित्वको लडाई भएको अनुमान गरिएको छ ।
सदरमुकाम धादिङबेसीको सितलवजार स्थित गणेश भगवती मन्दिरको नाममा रहेको जग्गामा निर्माण गरेको धादिङ उद्योग वाणिज्य संघको सचिवालय भवनमा आंफुहरुको पनि लगानी रहेकोले भवन उपयोग गर्न पाउनुपर्ने उद्योग वाणिज्य संघ धादिङले दावी गरेको छ । उद्योग वाणिज्य संघको दावी विधि सम्मत नभएको भन्दै धादिङ उद्योग वाणिज्य संघले भवनको निर्माण र प्रयोगको हक अधिकार संघ संग मात्र रहेको वताउंदै आईरहेको छ । यसै बिच वैशाख १९ गते धादिङका प्रमुख जिल्ला अधिकारीलाई पत्र लेख्दै भवनको सुरक्षाका लागि धादिङ उद्योग वाणिज्य संघले सुरक्षा र सहयोगको माग गरेको छ ।
धादिङवाट सरुवा भएर गएका प्रमुख जिल्ला अधिकारी बिष्णुप्रसाद पोखरेलले जिल्ला छाड्नु अघिल्लो दिन २०७१ बैशाख २३ गते दुवै संघका प्रतिनिधि मण्डलसंग छलफल गर्दा दुवै पक्षको हठका कारण वार्ता निष्कर्ष विहिन हुन पुगेको थियो । प्रमुख जिल्ला अधिकारीको रोहवरमा दुई उद्योग वाणिज्य संघका अगुवा प्रतिनिधि बिच भएको वार्ताले कुनै निकास दिन नसकेपछि धादिङ उद्योग वाणिज्य संघले भवनको सुरक्षाका लागि स्थानीय निकायसंग सहयोग मागेको छ भने उद्योग वाणिज्य संघले आगामी जेठ ५ गते संघको सचिवालय पुरानो संघमा सार्ने सार्वजनिक सूचना जारी गरेको छ ।
केही जानकारहरुका अनुसार पछिल्लो समयमा दुवै संघका बिच एकताको प्रयास भित्री रुपमा भईरहेको बुझिएको छ । दुवै संघले आंफुहरु संग एक हजार भन्दा बढी सदस्य रहेको दावी गरेपनि असारमसान्त सम्ममा कुन संघका कति सदस्यले सदस्यता नविकरण गर्छन त्यस्को आधारमा सदस्यको संख्या उकिन गर्न सकिने एक व्यवसायीले वताए । दुवैसंघमा मिलेर जानुपर्छ भन्नेको भन्दा एक्लै अघि वढेर एकले अर्कोलाई नङग्याउनुपर्छ भन्नेहरुको संख्या बढी रहेकाले एकताका लागि गरिएका सबै प्रयासहरु असफल हुन पुगेको जानकारहरु वताउंछन ।