असफल प्रेमविवाह पीडित महिला नै

596 पटक पढिएको

सम्पादक: Dhadingnews.com

माओवादी सशस्त्र सङ्घर्षका बेला क्रान्ति वा वर्गीय हितका लागि कसम खाएर भएका प्रेमविवाहहरू एकाएक सङ्कटमा पर्दै छन् । आश्चर्यको कुरा त्यहाँ पनि पीडित हुनेमा धेरै महिला नै छन् ।
रेवती सापकोटा
तत्कालीन नेकपा माओवादीले ०५२ मा सशस्त्र सङ्घर्ष थाल्नुअघि कृष्णध्वज खड्का, हितमान शाक्य, मणि थापा, कृष्णसेन इच्छुक र रवीन्द्र श्रेष्ठजस्ता युवाको बीचमा अन्तरजातीय विवाह गर्ने कि सजातीय भन्ने विषयमा बहस हुन्थ्यो । भारतको माओवादी कम्युनिस्ट केन्द्रले ‘विवाह गर्ने तर छोराछोरी नजन्माउने’ भनी त्यतिबेला ल्याएको नीति पनि उनीहरूको बहसको विषय हुन्थ्यो । विवाह गरेर जनयुद्ध लड्न जाँदा जन्मिने छोराछोरीको अवस्था कस्तो हुनेजस्ता विषयमा उनीहरू छलफल गर्थे । अन्त्यमा उनीहरूले अन्तरजातीय विवाह गर्ने निष्कर्ष निकालेका थिए ।
article-2101711-11BF75F3000005DC-465_468x286हितमान शाक्यले अमृता थापामगरसँग, कृष्ण सेनले तक्मा केसीसँग, कृष्णध्वजले रेखा शर्मासँग, रवीन्द्र श्रेष्ठले लक्ष्मी श्रेष्ठसँग र मणि थापाले रञ्जना श्रेष्ठसँग विवाह गरे । हितमान र अमृता नेकपा माओवादीको केन्द्रीय समितिमा छन् । एक वर्षसम्म चरम यातना पाएका कृष्णध्वज र रेखाको जोडी एकीकृत माओवादीबाट नेकपा माओवादी र अहिले पुनः एकीकृत माओवादीको केन्द्रीय समितिमा छन् । कृष्णसेन जनयुद्धका बेला महेन्द्र पुलिस क्लबमा यातना पाएर मारिएपछि तक्मा एकल महिला भएकी छिन् । माओवादीबाट एमाले प्रवेश गरेर सामान्य प्रशासनमन्त्री भएका ५० वर्षीय रवीन्द्र श्रेष्ठले २२ वर्षीया सुभेक्षा सिलवालसँग प्रेम गरी दोस्रो विवाह गरेका छन् । ‘विवाह गर्ने, तर छोराछोरी नजन्माउने’ पक्षमा बहस गर्ने रवीन्द्र पहिली श्रीमती लक्ष्मीसँग सम्बन्धविच्छेद नगरी सुभेक्षालाई अर्की श्रीमती बनाएर माओवादी आन्दोलनका नकारात्मक पात्र बनेका छन् ।
संविधानसभा सदस्यसमेत रहेकी रेखा शर्मा भन्छिन्, ‘सुझबुझपूर्ण तरिकाले विवाह गर्नेहरूको समस्या आएको छैन, भावनामा बगेर विवाह गर्नेहरूमा समस्या देखिएको छ ।’ माओवादी सेनाकी पूर्वब्रिगेड कमान्डर कमला नहर्कीका अनुसार बहुविवाह, सम्बन्धविच्छेद र घरेलु हिंसाका घटना शान्तिप्रक्रियामा आएपछि बढेको छ । ‘सशस्त्र युद्धका बेला त्यस्ता घटना रोकिएका थिए, शान्तिप्रक्रियामा आएपछि हाम्रै पार्टीभित्र पनि त्यस्ता घटना हुन थाले,’ नहर्कीले भनिन् । सशस्त्र युद्धका बेला गोरखा कारागार तोडेर भाग्ने महिलामध्येकी एक नहर्की अहिले पार्टी सङ्गठनमा गोरखामा खटिएकी छिन् । उनले गत वर्ष माघमा हेटौँडामा भएको सातौँ महाधिवेशनमा प्रतिनिधिका रूपमा बोल्दै अन्तरजातीय विवाह गरेका युवतीले घरेलु हिंसा व्यहोर्नुपरेको घटना विवरण सुनाएकी थिइन् । उनी भन्छिन्, ‘हामी ब्यारेकमा हुँदा बहुविवाह गरेका, सम्बन्धविच्छेद गरेका र श्रीमती पिटेका घटना मिलाउँदैमा हैरान थियाँै ।’
घरमा श्रीमती र छोराछोरी भइसकेको पार्टीको जिम्मेवार कार्यकर्ताले बहुविवाह गरेका घटनालाई नहर्कीले महाधिवेशनमा सशक्त रूपमा उठाएकी थिइन् । एकीकृत माओवादीबाट विद्रोह गरी नेकपा (माओवादी) गठन गरेका मातृका यादवकी छोरी सङ्गीता यादवसँग सम्बन्धविच्छेद नगरी दिलीपकुमार साहले अर्को विवाह गरेका छन् । साहले मातृकाको पार्टी र श्रीमती सङ्गीतालाई सँगसँगै छोडेका थिए । साहले एमाओवादीमा प्रवेश गरेपछि दोस्रो विवाह गरेका हुन् । मातृकाकी छोरी सङ्गीता र साहका दुई बच्चा छन् । सम्बन्धविच्छेद नगरी विवाह गरेपछि साहलाई मातृकाको सहयोगमा प्रहरीले पक्राउ गरे पनि कुनै कारबाही गरेन । गत मङ्सिर ४ गते भएको संविधानसभाको दोस्रो निर्वाचनका बेला आफूलाई अध्यक्ष पुष्पकमल दाहालको सहयोगीको रूपमा प्रस्तुत गरेका साह समानुपातिकको सूचीमा पनि थिए ।
बहुविवाहलाई कानुनले निषेध गरेको छ । तर, कानुनको उल्लङ्घन गर्ने क्रम पनि त्यत्तिकै बढिरहेको छ । ‘मुलुकको कानुन मान्न हरेक नागरिक बाध्य छन् । कानुनले बहुविवाहलाई निषेध गरेको छ, तर सानालाई ऐन र ठूलालाई चैन गर्ने प्रवृत्ति अन्त्य हुनुपर्छ र सबैलाई समान व्यवहार गर्नुपर्छ,’ एक अधिवक्ता भन्छन् । एमाओवादी अध्यक्ष दाहालपुत्र प्रकाशले पनि आफूले दोस्रो विवाह गरेकी सिर्जना त्रिपाठीसँग सम्बन्धविच्छेद नगरी विद्यार्थी नेतृ बिना मगरसँग तेस्रो विवाह गरे । सिर्जना कास्की जिल्ला कमिटीमा छिन् भने बिना संविधानसभा निर्वाचनमा कञ्चनपुरबाट उम्मेदवार बनेकी थिइन् । बिनालाई उम्मेदवार नबनाउन एमाओवादीका महिला नेतृहरूले हस्ताक्षर अभियान सञ्चालन गरेर पार्टी नेतृत्वलाई हस्तान्तरण गरे पनि त्यसको सुनुवाइ भएको थिएन । नहर्की भन्छिन्, ‘हामीले आवाज उठायौँ, तर त्यस्ता कमरेडहरू अहिले पनि सङ्गठनमा काम गरिरहेका छन् ।’ उनका अनुसार अन्तरजातीय विवाह गरेका तल्लो तहका कार्यकर्तामा सम्बन्धविच्छेदका घटना बढेका छन् ।
पूर्वशान्तिमन्त्री सत्या पहाडी भन्छिन्, ‘माओवादी आन्दोलनमा थुप्रै अन्तरजातीय विवाह भएका छन् । तीमध्ये जसको चेतनास्तर माथि उठेको छ, उनीहरूको अहिले पनि टिकेको छ, जसको चेतनास्तर कमजोर थियो, उनीहरूको सम्बन्ध भत्केको छ ।’ अन्तरजातीय विवाह गर्ने शक्ति बस्नेत र सत्या पहाडीको उतारचढावपूर्ण रहँदै अहिले सम्बन्ध सुमधुर छ ।
सशस्त्र सङ्घर्षका बेला माओवादीले प्रेम, विवाह र यौनका बारेमा नीति नै बनाएको थियो । ‘बिहेबारी २० वर्षपारि’ भन्ने सरकारी नीतिलाई माओवादीले त्यतिबेला पालना गर्दै प्रेमविवाहलाई प्रोत्साहित गरेको थियो । यौन अपराध र यौन अराजकता निम्तिन सक्ने खतरा महसुस गरी माओवादीले सशस्त्र सङ्घर्षका बेला श्रीमान्–श्रीमतीलाई नजिकको कार्यक्षेत्रमा खटाउने गरेको थियो । ‘यौन जैविक आवश्यकता हो, त्यसलाई नियन्त्रण होइन, व्यवस्थित र अनुशासित बनाउने प्रयास हामीले गरेका थियौँ,’ सशस्त्र सङ्घर्षका बेलामा पश्चिम नेपालमा खटिएका एक नेता भन्छन् ।
रगतको नाताभन्दा वर्गीय नाता गहिरो र भावनात्मक हुन्छ भन्ने मान्यतामा अगाडि बढेका माओवादी नेता–कार्यकर्ता सशस्त्र सङ्घर्षको समापन र शान्तिपूर्ण जीवनमा आफ्ना पुराना मान्यतामा स्खलित हुँदै गएका छन् । ‘वर्ग दृष्टिकोण र वर्गीय निष्ठामा आएको गम्भीर विचलनको परिणाम नै पार्टीका नेता तथा कार्यकर्ताको कार्यशैली र सांस्कृतिक आचरण अत्यन्त अपारदर्शी, अराजक, आत्मकेन्द्रित व्यक्तिवादी, छाडा, उपभोक्तावादी र ढोंगी प्रकारको बन्दै गएको छ,’ एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केन्द्रीय समिति (२–१८ माघ २०७०) मा पारित गराएको दस्तावेजमा भनिएको छ, ‘यौनजन्य विकृतिलगायत घरपरिवार, व्यक्तिगत सम्पत्तिसम्बन्धी धारणा र मूल्य–मान्यतामा पनि निकै ठूलो अराजकता र नैतिक ह्रास आइरहेको छ ।’
एमाओवादीका सल्लाहकार तथा स्तम्भकार नरेन्द्रजंग पिटरका शब्दमा राजनीति संस्कृतीकरण भइदिएको भए अन्तरजातीय विवाह दिगो हुन सक्थ्यो । ‘विचार फेर्न जति सजिलो हुन्छ, संस्कृति फेर्न फलामको चिउरा चपाएजस्तै कठिन हुँदोरहेछ,’ पिटर भन्छन्, ‘युद्धको तीव्रतामा राजनीतिलाई संस्कृतीकरण गर्न नसकिँदाको परिणाम अहिले समाजले भोगिरहेको छ ।’
‘या त हाम्रो समाज क्रान्तिकारी रूपान्तरण भएर हामी अर्को समाजमा जानुपथ्र्यो । हाम्रो समाज रूपान्तरण भएन । हामी करिब–करिब यथास्थितिमा रह्यौँ,’ कृष्णध्वज भन्छन्, ‘हामीले जाति, वर्ग, क्षेत्र, लिङ्गको मुद्दालाई चर्को रूपमा उठायाँै । त्यो मर्मलाई हामीले जनतालाई बुझाउन सकेनौँ । दलितमाथि छुवाछुत हुनेबित्तिकै तत्काल दण्ड र सम्मान गर्ने व्यवस्था भइदिएको भए अन्तरजातीय विवाहमा समस्या आउने थिएन ।’
(सञ्चारिका फिचर सेवा)
(रेवती अन्नपूर्ण पोष्ट दैनिकका वरिष्ठ संवाददाता हुन्)