एक गाग्री पानीका लागि डेढ घन्टाको यात्रा

433 पटक पढिएको

सम्पादक: Dhadingnews.com

धादिङ – धादिङ जिल्लाको कुम्पुर गाउँ बिकास समितिको वडा नम्बर ६मा रहेको आदमटारवासीलाई एक गाग्री पिउने पानीका लागि डेढ घन्टाको यात्रा गर्नुपर्ने वाध्यता छ ।पृथ्वीराजमार्गको आदमघाटबाट १० मिनेटको दूरीमा पर्ने आदमटारमा खेतीका लागि सिँचाइको सुविधा छ तर पिउने पानीका लागि भने नजिकै कुनै स्रोत नभएका कारण सधैं पिउने पानीको हाहाकार पर्ने गरेको स्थानीय कृष्णप्रसाद खतिवडा बताउनुहुन्छ । करिब ९० परिवारको बसोबास रहेको आदमटारमा २०६४ सालमा रेडक्रसको सहयोगमा स्थानीय सत्यवती उच्च माध्यामिक विद्यालयमा ल्याईएको पिउने पानी नै अहिलेसम्म गाउँलेले समेत उपभोग गर्दै आएका छन् । २०६४ सालमा चार सय विद्यार्थीले अध्ययन गर्ने यस विद्यालयमा अहिले विद्यार्थी संख्या तीन गुणाले बढेको विद्यालयले जनाएको छ । विद्यार्थीको चापका कारण विद्यालयलाई नै पिउने पानीको समस्या परिरहेकोमा स्थानिय अबिभाबक समेत यही पानीमा भर पर्नाले समस्या भएको हो ।गाउँको सिरानमा एउटा सानो पँधेरो छ । एक गाग्री पानी भर्न आधा घन्टाभन्दा बढी समय लाग्ने गर्दछ । सबैले यही पँधेरोको भर पर्नुपर्ने हुँदा दुईतीन घन्टासम्म पँधेरोमै बस्नुपर्ने बाध्यता रहेको गाउँले बताउँछन् । पँधेरामा दिनभरिमा तीस गाग्री पनि पानी जम्मा हुँदैन । गाउँबाट अर्को पँधेरामा जानु झन्डै दुइ घन्टा हिँड्नुपर्ने उनीहरूको भनाइ छ । नजिकै मुहान नभएकाले पिउने पानीको समस्या भोग्नुपरेको खतिवडा बताउँछन् । खानेपानीको समस्यामा परेका आदमटारवासी गाउँनजिकै स्रोत भेटिए आफै लगानी गरेर पनि गाउँमा पिउने पानी ल्याउन तयार छन् । ठूलो योजना खर्चेर आदमखोलाको शीरबाट पिउने पानी ल्याउनुपर्ने भएपछि बजेटको अभावमा योजना सञ्चालन गर्न नसकिएको उनीहरूको भनाइ छ ।