भारतका तीन सहरमा नेपाली कविता उत्सव

706 पटक पढिएको

सम्पादक: Dhadingnews.com

माधव अधिकारी
काठमाडौं–काठमाडौंस्थित देवकोटा–लुसुन प्रज्ञा प्रतिष्ठानको तत्वावधानमा गएको नेपाली स्रष्टाहरूको १४ सदस्यीय टोली भारतका तीन सहरमा काव्य महोत्सव सकेर नेपाल फर्केको छ । जेठ १५ बाट आरम्भ यस पाँच दिने भ्रमणका क्रममा टोलीले भारतको सिलिगुडी, कालिम्पोङ् र गान्तोकमा कविता उत्सव सम्पन्न गरेको हो ।
जेठ १८ मा सिक्किमको गान्तोकस्थित जनता भवनको प्रेक्ष्यालयमा टोलीको तेस्रो र अन्तिम कार्यक्रम सम्पन्न भयो । प्रेस क्लब आफ सिक्किमद्वारा आयोजित कार्यक्रममा कविता उत्सवसँगै नेपालका युवा कवि हेमन्त विवशको कवितासङ्ग्रह “सैपालको आँगन” को विमोचन गरियो । नेपाली कविका साथै सिक्किमका राजेन्द्र भण्डारी, सुधा एम राई, प्रवीण राई जुमेली, चक्रपाणी भट्टराई, कर्ण बिरह, प्रवीण खालिङ्लगायतका श्रष्टाहरूले कविता वाचन गरेका थिए । कार्यक्रममा प्रेस क्लब आफ सिक्किम र देवकोटा–लुसुन प्रज्ञा प्रतिष्ठानबीच हरेक वर्ष नेपाल र भारतमा श्रष्टाहरूको भ्रमण र कार्यक्रमको तर्जुमा गर्ने विषयमा एक सम्झौतापत्रमा पनि हस्ताक्षर गरियो ।
Nepal Bharat Kavita Utasvजेठ १७ गते स्रष्टाहरूको टोली दार्जिलिङ् जिल्लाको सुन्दर सहर कालिम्पोङ् पुगी यस्तै काव्य उत्सव सम्पन्न ग¥यो नेपाली श्रष्टाहरूको प्रस्तुतिमा आफ्ना प्रस्तुति मिसाए कालिम्पोङ्का टीका भाइ, प्रदीप लुहागुन, मोहन बोगटीलगायतका श्रष्टाहरूले । कार्यक्रमा बोल्दै कालिम्पोङ् क्षेत्रका विधायक डा. हर्कबहादुर क्षेत्रीले । निकट भविष्यमा यस्तै उत्सव दुई दिन कालिम्पोङ्मा सम्पन्न गर्नका लागि आफूले तारतम्य मिलाउने पनि बताए । कालिम्पोङ्को कार्यक्रमलाई सडक कविता समूहले संयोजन गरेको थियो ।
जेठ १६ गते सिलिगुडीको युरेसिया रेयुकाईको प्रेक्ष्यालयमा आयोजित कविता उत्सवको अध्यक्षता सिलिगुडीका पाका महाकवि मोहन दुकुनले गरेका थिए । नेपालतर्फबाट विवश पोखरेल, हरिगोविन्द लुइँटेल, कृष्ण प्रसाई, भूपिन, हेमन्त विवश, ज्योति जङ्गल, महेश पौड्याल, सीमा आभास, हेमन यात्री, हेमप्रभास र राबतले कविता सुनाए भने सिलिगुडीको प्रतिनिधित्व गर्दै कविहरू ज्ञानेन्द्र खतिवडा, लक्ष्मण श्रीमाल, एम.बी. राई, राजा पुनियानी, सुकराज दियाली लगायतका कवितहरूले कविता वाचन गरेका थिए । कार्यक्रममा नेपालका युवा कवि हेमप्रभासको कविताकृति “गीतै गीतको गाउँ” को पनि लोकार्पण गरियो । कवितामाथि युवा समालोचक महेश पौड्यालले प्रकाश पार्दै ग्रमीण विम्बहरूको प्रयोगले हेमप्रभासका कविताले पृथक कलेवर अङ्गीकार गनेको बताए । सिलिगुडीको उत्सवलाई कवि भक्त राई स्मृति मण्डपले संयोजन गरेको थियो ।