तिप्लिङमा सुनजस्तै महंगो पर्छ नुन

637 पटक पढिएको

सम्पादक: Dhadingnews.com

केशव अधिकारी

तिप्लिङ (धादिङ) – धादिङ उत्तरी भेगको सबैभन्दा विकट वस्ती तिप्लिङमा बासिन्दाले महंगीको मार खेप्दै आएका छन् ।

दैनिक उपभोग्य वस्तुको मूल्य बजारको भन्दा तेब्बर पर्छ ।

सडक सुविधा नपुगेको तिप्लिङका वस्तीमा सामान ढुवानीका लागि खच्चरको प्रयोग गर्नुपर्छ । ढुवानीमा धेरै खर्च लागेको भन्दै गाउँका व्यापारीहरुले बजार मूल्भन्दा तेब्बर बढाएर सामान बिक्री वितरण गर्ने गरेका छन ।

तिप्लिङ गाविसको लव्दुङ, ठूलोगाउँ र लिङजोमा रहेका पसलहरुमा गाउँ नै पिच्छे सामानको मूल्य फरक पर्छ । तिप्लिङ गाविसको ग्रामीण वस्तीमा रहेको पसलहरुमा दाल, चामल, तेल, नुन, चिनी मसलाजन्य पदार्थ लगाएतका दैनिक उपभोग्य सामग्रीको मूल्य सदरमुकामको भन्दा तेब्बर भएको उपभोक्ताको गुनासो छ ।

‘गणेश हिमालको फेदीमा रहेको जिल्लाकै सबैभन्दा विकटको वस्ती भएकाले राज्यको ध्यान पुग्न सकेको छैन, त्यसैले हामीलाई सुनभन्दा नुन पाउन गाह्रो हुने गरेको छ’ तिप्लिङका नरबहादुर घले बताउनुहुन्छ । तिप्लिङमा मात्रै होइन उत्तरी भेगको सेर्तुङ,लापा, रि र झार्लाङ गाविसका बासिन्दाले पनि यस्तै समस्या भोग्न बाध्य छन् । सेर्तुङका दामीरत्न तामाङका अनुसार सदरमुकाम धादिङबेसीमा प्रतिकिलो १५ रुपैया पर्ने ढिकेनुन सेर्तुङ पुग्दा ७० रुपैयाँ पर्छ भने तिप्लिङमा पाथीको १ सय २०  रुपैयाँसम्म पर्छ  । सडक सञ्जालले नछोएको धादिङको उत्तरी भेगको पाँचवटा गाविसका बासिन्दाले बर्षांैदेखि यस्तो समस्या भोग्दै आईरहेका छन् ।

बर्षायाम शुरु भएपछि ग्रामीण सडकमा सवारी नचल्ने भएपछि उत्तरी धादिङको पाँच गाविस प्रवेश गर्ने मुख्य नाका दार्खा गाविसको घ्यान्साङमा यतिवेला सामान ढुवानीका लागि गाउँलेहरुको भिड लाग्ने गरेको छ । घ्यान्साङ धादिङबेसीबाट सात घण्टाको यात्रा पछि पुग्न सकिन्छ ।

सदरमुकाममबाट  घ्यान्साङसम्म मोटर पुगेपनि त्यहाँबाट भने खच्चर मार्फत या भरिया लगाएर सामान बोक्नुपर्ने वाध्यता रहेको झार्लाङ गाविसका मंग तामाङ बताउनुहुन्छ ।  व्यापारीले खच्चर मार्फत सामान बोकाएपनि न्युन आय भएका स्थानीयबासिन्दाले भने घ्यान्साङबाट आफैंले बोकेर खाद्यान्न लैजाने गरेको पनि तामाङले बताउनुभयो । घ्यान्साङबाट खच्चरलाई बोकाएर सामान लैजाँदा सेर्तुङ सम्मको प्रतिकिलो २० रुपैंया, तिप्लिङ ठुलो गाउँसम्मको २५ रुपैयाँ, लव्दुङ सम्मको ३० रुपैयाँ र लिङजो पुर्‍याउँदा ३५ रुपैयाँ भाडा लाग्ने गरेकाले गाउँमा सामानको मूल्य पनि महंगो हुन पुगेको खच्चर व्यवसायीहरु बताउँछन् । तिप्लिङ गाविसमा मात्रै सामान ढुवानीका लागि ६० वटा खच्चर छन ।

खच्चर लगाएर  सामान लिएर जांदा पनि तिप्लिङमा दुई दिन सम्म तथा सेर्तुङ, झार्लाङ, रि र लापामा डेढ दिनसम्म लाग्ने भएपछि ज्याला बढ्दै गएर सामानको भाउ महंगो हुन पुगेको तिप्लिङका सामाजिक कार्यकर्ता चन्द्र तामाङले बताउनुभयो । मान्छे लगाएर सामान ढुवानी गर्नुपर्दा झनै महंगो पर्ने तामाङको भनाई छ ।

जिल्लाको उत्तरी भेगको तिप्लिङ र  छिमेकी गाविसहरुमा अहिले  १ केजी चिनीको १ सय ३० रुपैयाँ पर्छ भने १ किलो ढिके नुनको ६० रुपैयाँ, आधा लिटरको भटमासको तेलको १ सय २० रुपैयाँ, एकबोरा सोना मन्सुली चामलको २३ सय रुपैयाँ तिरेर खरिद गर्न उपभोक्ताहरु बाध्य छन् । आयश्रोत केही नभएका गाउँलेले किनेर खान समेत नसक्ने अवस्था छ । अन्नबालीका रुपमा मकै र कोदो फलेपनि न्युन उत्पादनका कारण अधिकाँश परिवार बजारको खाद्यान्न किनेर खान वाध्य छन् । तिप्लिङको अधिकांश वस्तीमा आलु उत्पादन भएपनि नजिकै बजार नहुँदा समस्या भएको चन्द्र तामाङले बताउनुभयो । केही परिवारले भेडा र चौंरी पालनबाट आय आर्जन गर्दै आएका तिप्लिङ गाविसका पूर्व अध्यक्ष फैसिंह घलेले बताउनुभयो ।

तिप्लिङमा सुनजस्तै महंगो पर्छ नुन

-उज्यालो अनलाईनवाट