चम्किए नेमार, जित्यो ब्राजिलले

610 पटक पढिएको

सम्पादक: Dhadingnews.com

जेठ ३० – यूवा स्ट्राइकर नेमार चम्केपछि ब्राजिलले विश्वकप फुटबलमा विजयी सुरुवात गरेको छ । विश्वकपको पहिलो खेलमा ब्राजिलले त्रोएशियालाई ३–१ ले हरायो ।

साउपउलोमा भएको उदघाट्न खेलमा घरेलु टोली ब्राजिललाई जिताउन नेमारले २ गोल गरे । खेलको ११ औं मिनेटमा ब्राजिलका मारसेलेले आत्मघाती गोल गरेपछि पछि परेको ब्राजिललाई खेलमा फर्काउँदै नेमारले जित दिलाए ।

२९ औं मिनेटमा २५ यार्ड टाढाबाट बराबरी गोल फर्काएका नेमारले ७१ औं मिनेटमा पेनाल्टीमार्फत दोश्रो गोल गरे । तर यो पेनाल्टी भने विवादास्पद बन्यो । क्रोएशियाका डेजेन लोभ्रेनले फ्रेडलाई डी बक्समा फल गरेको भन्दै खेल सञ्चालन गरिरहेका जापानी रेफ्रीले ब्राजिललाई पेनाल्टीको हान्ने मौका दिए । तर टेलिभिजनमा रिप्ले हेर्दा त्यहाँ पेनाल्टी दिनु पर्ने फल भएको थिएन ।

खेलको अन्तिममा ओस्कारले अर्को गोल थपेपछि ब्राजिल ३–१ले विजयी भयो । पछिल्ला १७ खेलमा १६ औं खेल जितेको ब्राजिलको यो लगातार १० औं जित हो ।

-उज्यालो अनलाईनवाट