मेस्सीको गोलमा अर्जेन्टिनाको संघर्षपूर्ण जित

576 पटक पढिएको

सम्पादक: Dhadingnews.com

असार ८ – संघर्षपूर्ण खेलमा इरानलाई १–० ले हराउँदै अर्जेन्टिना विश्वकप फूटबलको नकआउट चरणमा प्रवेश गरेको छ ।

शनिबार राती भएको समूह एफ को खेलको अन्तिम समयमा लियोनेल मेस्सीको गोलको मद्दतले इरानलाई हराउँदै अर्जेन्टिनाले अन्तिम १६ मा स्थान पक्का गरेको हो ।

सजिलो समूह रहेकाले अर्जेन्टिना सहजै दोस्रो चरणमा प्रवेश गर्ने अनुमान गरिएपनि त्यसो भएन, अर्जेन्टिनाले इरानलाई हराउन निकै मेहनत गर्नु पर्‍यो । खेलको अन्तिम समयमा लियोनल मेसीले गरेको एकमात्र गोलमा अर्जेन्टिना विजयी भयो र इज्जत जोगियो । मेसीले गोल गरेपछि पुरै स्टेडियम मेसी मेसीले गुज्जिएको थियो ।

पहिलो हाफमा पुरै रक्षात्मक खेलेर र दोस्रो हाफमा अर्जेन्टिनी पोष्टमा आक्रमण गरेर एशियाली टिम इरानले अर्जेन्टिनालाई आच्छुआच्छु पार्‍यो । दोस्रो हाफमा रेजा र दिजा गाहले गरेको प्रहार अर्जेन्टिनी किपर रोमेरोले नरोके भए इरान खेलमा बराबरी मात्रै होइन जित नजिकै पुगेको थियो । निकै उत्कृष्ट प्रदर्शन गरेको इरानी डिफेन्स लाइन र इरानी गोल रक्षकले ९१ औं मिनेटमा मेस्सीले गरेको प्रहारको कुनै अनुमान लगाउन सकेनन् र मेस्सीले डी बक्स भन्दा बाहिरबाट प्रहार गरेको बल सिधै जालीमा छिर्‍यो ।

त्यसअघि अर्जेन्टिनाले लगातार इरानी पोष्टमा आक्रमण गरेपनि इरानी गोल रक्षक अलि रेजा र डिफन्डरले सफल हुन दिएका थिएनन् । पहिलो हाफमा इरानका स्ट्राइकर सहित  सबै ११ जना अर्जेन्टिनाको आक्रमण रोक्ने काममा लागेका थिए र, त्यो रणनीतिले काम पनि गरेको थियो । बराबरीको नतिजाले पनि दोस्रो चरणमा पुग्ने अनुमान सहित रक्षात्मक खेलेको इरान मेसीको गोलसँगै स्तब्ध भयो । समूह एफमा यसअघि अर्जेन्टिनाले बोस्निया हर्जगोभिनालाई २–१ ले हराएको थियो भने इरानले नाइजेरियासँग गोल रहित बराबरी खेलेको थियो । एक खेल बाँकी रहेको अवस्थामा इरानको पनि नकआउट चरण प्रवेशको संभावना बाँकी नै छ ।                                                                        

   – उज्यालो अनलाईनवाट