राजनैतिक दवावका कारण बैरेनी गाविसको १८ लाख पेश्की फर्छयौट हुन सकेन,

651 पटक पढिएको

सम्पादक: Dhadingnews.com

-राजनैतिक दलको दवावमा गाविसले १८ लाख पेश्कि फर्छयौट गर्न नसकेको खुलासा 

-गाविसको मोटरसाईकल राती अवेर सम्म रक्सि भट्टीमा भेटिने गरेको सर्वसाधारणको गुनासो 

-गाविसमा आवश्यकता भन्दा बढी कर्मचारी राखेर श्रोतको दुरुपयोग गरिएको आरोप

बैरेनी – राजनैतिक दवावका कारण धादिङको बैरेनी गाविसको कार्यालयले चालु आर्थिक बर्षमा पेश्की फर्छयौट कार्यान्वयन गर्न नसकेको सरोकारवालाहरुले वताएका छन । चालु आर्थिक बर्षको शुरुवातीमा २९ लाख रुपैया पेश्की रहेको बैरेनी गाविसमा अहिले त्यो रकम १८ लाखमा झरेपनि प्रगति हुन नसकेको वताईएको छ । गाविसको नाममा पेश्कि रकम लगेर सम्झौता अनुसारको योजना सम्पन्न गरी विल भपाई पेश गर्न नसक्नेहरुमा गाविसमा कृयाशिल सबै राजनैतिक दलका अगुवाहरु रहेकाले पेश्की फर्छयौटमा ढिलाई भईरहेको स्थानीय सामाजिक कार्यकर्ता दिपक कार्की वताउंछन । SAM_3096शुक्रवार बैरेनी गाविसमा आयोजित सार्वजनिक सुनुवाईमा स्थानीयले गाविसको पेश्कि पर्छयौटमा राजनैतिक दवाव समस्या भएको वताएका हुन । गाविसबाट माटो ढुवानीका लागि भनेर अनुमती पाएका खानी संचालकहरुले विगतमा वालुवा तथा ढुङ्गाको अबैध उत्खनन गरेर निकासी गरेपनि सो वापत गाविसलाई बुझाउनुपर्ने रकम बुझाउन भने ढिलाई गरिरहेको स्थानीय राजनैतिक संयन्त्रले वताएको छ । उज्यालो नाइन्टि नेटवर्कद्धारा शुक्रवार धादिङको बैरेनीमा आयोजना गरिएको सुनौलो भविष्य गाउं वस्ति छर्लङ्गै बिषयक सार्वजनिक सुनुवाई कार्यक्रममा वोल्दै बैरेनी गाविसका सचिव लक्ष्मण भट्टराईले गाविसले विभिन्न व्यक्ति र कम्पनीवाट लिनुपर्ने भनिएको रकमको विगतमा कुनै कागज नगरिएकाले अहिले सो रकम उठाउन समस्या परिरहेको वताए । जिल्ला विकास समितिको पटक पटकको निर्देशन पछि गाविसको सिफारिशमा पछिल्ला बर्षमा खानी संचालन हुन छाडेपनि विगतमा चलाईएका खानीवाट भने अझै १८ लाख भन्दा बढी रकम उठाउन वांकी रहेको गाविस सचिव भट्टराईले कार्यक्रममा वताएका थिए । स्थानीय अम्लेश्वर स्याण्ड वासिङ कम्पनीले गाविसलाई तिर्नुपर्ने रकम १० लाख देखिएकोमा उल्टो कम्पनीले राजनैतिक दलका अगुवाहरुको सिफारिशमा गाउंमा सडक खनिदिएको भन्दै १३ लाखको विल गाविसमा पेश गरेपछि गाविस कार्यालय समेत समस्या परेको छ । त्यसैगरी सक्सेस स्याण्ड वासिङले पनि गाविसलाई ६ लाख ७५ हजार रुपैया तिर्नुपर्नेमा उक्त कम्पनिले सडक निर्माण गरिदिएर रकम कटौती गर्ने प्रस्ताव कार्यालयमा ल्याएको गाविस सचिव भट्टराईले खुलासा गरेका छन । यसैगरी गाविसले पांच जना कर्मचारीलाई तलव खुवाएर राखेपनि ति कर्मचारीवाट गाविसले काम लिन नसकेको र गाविसको मोटरसाईकल राती अवेर सम्म रक्सि भट्टीमा भेटिने गरेको बिषयमा पनि सर्वसाधारणले गुनासो राखेका थिए । वैरेनी गाविसमा निजामती तर्फका अधिकृतको दरवन्दि रहेको छ भने गाविसकै श्रोत वाट तलव खुवाउने गरी सामाजिक परिचालक पदमा दुई जना र कार्यालय सहयोगी दुई जना गरी चार जना कर्मचारी राखिएको छ । गाविसमा नियमित सम्पादन हुने कामको चाप धेरै नभएपनि कर्मचारीको सख्या धेरै रहेको स्थानीयको गुनासो रहेको छ । स्थानीयको गुनासोको जवाफ दिंदै गाविस सचिव भट्टराईले कर्मचारीको नियुक्ति आंफु आउनुभन्दा पहिलेनै भएको र गाविसको मोटरसाईकल राती अवेर सम्म होटलमा भेटिएको बिषयमा आंफुले छानविन गर्ने जवाफ दिएका थिए । गाविसले वालुवा खानीवाट कर उठाउन छाडेपनि अबैध रुपमा संचालित वालुवाखानीवाट व्यक्तिले गाविसको नाममा रकम उठाएर दुरुपयोग गरिरहेको कार्यक्रममा वताईएको थियो । गाविसको नाममा विभिन्न व्यक्तिको नाममा रहेको बक्यौता रकम उठाउन जिल्ला प्रशासन,जिल्ला प्रहरी तथा जिल्ला विकास समिति र जिल्लाका प्रमुख दलहरुसंग सहयोग मागेपनि साथ नपाएपछि रकम उठाउन नसकेको गाविस कार्यालयले जनाएको छ । कार्यक्रममा स्थानीय राजनैतिक दलका प्रतिनिधि र गाविस सचिवले सर्वसाधरणको जिज्ञासाको जवाफ दिएका थिए । यसैगरी शुक्रवारनै जिल्लाको गजुरी गाविसमा पनि सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ ।