आज धान दिवस – एसियामै कम धान फल्ने मुलुक नेपाल

498 पटक पढिएको

सम्पादक: Dhadingnews.com

 –

 

SAMSUNG DVC PICTURES१५ असार, काठमाडौँ – नेपाली अर्थतन्त्रमा धानको योगदान महत्वपूर्ण रहे पनि यो एसियामै कम धान उत्पादन गर्ने मुलुकमा परेको छ।

धान विज्ञ भोलामानसिंह बस्नेत र अन्तर्राष्ट्रिय धान अनुसन्धान संस्था (इरी)ले गरेको अध्ययनले नेपाल धान उत्पादनका हिसाबले तल्लो वर्गमा रहेको देखाएको छ।

बस्नेतका अनुसार एक हेक्टर जमिनमा चीनमा सात, जापानमा ६, भियतनाम, भारत र बंगलादेश पाँच तथा श्रीलंका र माल्दिभसमा चार टन धान उत्पादन हुन्छ। नेपालमा ३.१ टनमात्रै हुन्छ ।

प्रविधिको प्रयोग नहुनु, खेतीयोग्य जमिन बाँझो रहनु, मल, बीउ तथा सिँचाइको अपर्याप्तताले यहाँ धान उत्पादन बढ्न नसकेको अध्ययनले देखाएको छ।
नेपालमा हाइब्रिड तथा उन्नत जातको बीउ सहज रुपमा उपलब्ध हुन नसकेको र सिँचाइ अभावले पनि उत्पादन बढन नसकेको कृषि विकास मन्त्रालयको भनाइ छ। ‘रोपाइँ गर्ने बेला हामी आकासे पानीको भर पर्नुपर्छ,’ कृषि मन्त्री हरिप्रसाद पराजुलीले नागरिकसँग भने, ‘समयमा पानी नपरेकाले उत्पादन बढन नसकेको हो।’

राष्ट्रिय कृषक समूह महासंघ नेपालका अध्यक्ष उद्धव अधिकारी भने यसलाई राज्यले कृषिमा पर्याप्त लगानी नगर्दाका परिणाम ठान्छन्। ‘एसिया र दक्षिण एसियाली मुलुकमा राज्यले कृषिमा ठूलो लगानी गरेको छ,’ उनले भने, ‘नेपालमा त्यस्तो व्यवस्था नहुँदा धानको उत्पादकत्व र उत्पादन बढन नसकेको हो।’

धान विज्ञ बस्नेतका अनुसार चीनले यस वर्षदेखि प्रतिहेक्टर क्षेत्रफलमा १२ टन फल्ने गरी हाइब्रिड बीउ विकास गर्ने तयारी गरेको छ। ‘नेपालमा अहिले पनि बीउ प्रतिस्थापन दर वार्षिक रुपमा ११ देखि १२ प्रतिशत मात्र छ,’ उनले भने, ‘तर, एसियाका अन्य मुलुकमा ३० देखि ४० प्रतिशतसम्म छ।’

मन्त्रालयका सह–सचिव रामप्रसाद पुलामीले कुल खेतीयोग्य जमिनमध्ये ५० प्रतिशतमा धानखेती हुन्छ। तर सोचेजति उत्पादन नबढेको उनको भनाइ छ। हाल नेपालमा करिब ३० लाख हेक्टर जमिनमा धानखेती हुने गरेको मन्त्रालयको तथ्यांक छ।

मन्त्रालयको कृषि व्यवसाय प्रवर्द्धन तथा तथ्यांक महाशाखाका अनुसार ४० वर्षको अवधिमा धान उत्पादन दोब्बर भएको छ। सन १९७० मा नेपालमा २३ लाख टन धान भित्र्याईएको थियो।

त्यसको ४० वर्षपछि सन् २०१० मा ४२ लाख टन उत्पादन भएको तथ्यांकले देखाउँछ। सन् १९७० मा संसारमा ३१ करोड ६३ लाख ५० हजार टन धान उत्पादन भएको थियो। ४० वर्षपछि दोब्बर बढेर ६७ करोड २२ लाख टन धान उत्पादन भयो।

धान विज्ञ बस्नेतले पछिल्लो ११ वर्षमा धानको उत्पादकत्व खासै बढ्न नसकेको बताए। ११ वर्षअघि आर्थिक वर्ष २०६०/०६१ मा प्रतिहेक्टर २८ क्विन्टल ५७ किलो धान फलेको थियो।

२०७०/०७१ मा आइपुग्दा ३३ क्विनटल ९४ किलो हुँदै छ। आर्थिक वर्ष २०७०/०७१ मा नेपालमा ५० लाख ४७ हजार ४७ टन धान उत्पादन भएको थियो। जुन रकममा मूल्यांकन गर्दा करिब एक खर्ब रुपैयाँबराबर हुन्छ। २०७०/०७१ मा १४ लाख ८६ हजार नौ सय ९१ हेक्टरमा धान रोपिएको छ।

नार्कका वैज्ञानिक शम्भु खतिवडाले एक किलो धान उत्पादन गर्न करिब तीन देखि पाँच हजार लिटर पानी आवश्यक पर्ने बताए। यसरी मूल्यांकन गर्दा एक हेक्टरमा धान उत्पादन गर्न आठ लाख लिटर पानी चाहिन्छ। पर्याप्त मात्रामा सिँचाइ नभएकाले उत्पादन बढ्न नसकेको उनको अनुमान छ।

‘किसानले हाइब्रिड र उन्नत बीउ नपाएकाले उत्पादकत्व नबढेको होइन,’ उनले भने, ‘पर्याप्त मात्रामा सिँचाइ नभएकाले यस्तो अवस्था आएको हो।’
समयमा पानी नपरेकाले असार ११ गतेसम्म ८.८ प्रतिशत क्षेत्रफलमा मात्रै धान रोपाइँ सकिएको छ।

नेपाल कृषि पत्रकार प्रतिष्ठानद्वारा राजधानीमा आयोजित अर्थतन्त्रमा धानको योगदान विषयक अन्तर्क्रियामा सरकारी अधिकारीले यो जानकारी गराएका हुन्।
कृषि विभागले दिएको जानकारी अनुसार १४ लाख ८६ हजार नौ सय ५१ हेक्टरमा धान रोपिन्छ।

११औं धान दिवसको अवसरमा नेपाल कृषि अनुसन्धान परिषद (नार्क) र कृषि विभागले छुट्टाछुट्टै स्थानमा रोपाइँ महोत्सव गर्दै छन्। विभागले ललितपुरको लेलेमा र नार्कले आफ्नै जग्गा खुमल्टारमा महोत्सव गर्दै छन्। ‘सरकारले यस वर्ष धानखेतीमा आधुनिकीकरण, खाद्यान्न आयात न्यूनीकरण’ नारासाथ यो दिवस मनाउँदै छ ।

अन्तर्राष्ट्रिय धान अनुसन्धान संस्था (इरी)ले गरेको अनुमानअनुसार संसारमा करिब एक लाख ४० हजार प्रकारका रैथाने धानका जात छन्। जसमध्ये एक लाख १७ हजार प्रकारका रैथाने जात इरीले आफ्नो जिन बैंकमा संकलन गरेको छ।

नेपालका ७२ जिल्लाबाट संकलित करिब दुई हजार नौ सय ६३ प्रकारका रैथाने जातका बीउ फिलिपिन्सस्थित इरी, जापान, इटाली, रोम र नर्वेको स्भालबार्डस्थित जिन बैंकमा राखिएको छ इ सांग्रिला डट कमले खबर लेखेको छ ।