क्रिकेटमा नेपाललाई ऐतिहासिक सफलता: टीट्वेन्टीको मान्‍यता

717 पटक पढिएको

सम्पादक: Dhadingnews.com

काठमाडौं : अन्तराष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले नेपाललाई अन्तर्राष्ट्रिय ट्विेन्टीको मान्यता प्रदान गरेको छ। अस्ट्रेलियाको मेलबर्नमा शनिबार सम्पन्न आईसीसीको वार्षिक साधारणसभाले यस्तो निर्णय गरेको हो।

गत मार्च-अप्रिलमा बंगलादेशमा भएको टीट्वेन्टी विश्वकपमा उत्कृष्ट प्रदर्शन गरेपछि नेपालले प्रोत्साहनस्वरूप यो उपलब्धि हासिल गर्न सक्ने देखिएको थियो। नेपालले उक्त प्रतियोगिताको पहिलो चरणमा हङकङ र अफगानिस्तानलाई हराएको थियो भने टेस्ट राष्ट्र बंगलादेशसँग मात्र पराजित भएको थियो। बंगलादेशसँग समान अंक भए पनि नेट रनरेटमा पछि रहँदै नेपाल दोस्रो चरणमा भने पुग्न सकेको थिएन।

टीट्वेन्टी क्रिकेटमा अफगानिस्तानलाई पहिलोपटक हराएर नेपालले ऐतिहासिक सफलता हात पारेको थियो। आईसीसीको सिनियर विश्वकप क्रिकेटमा नेपालले पहिलोपटक छानिएर प्रतियोगिता सुरु हुनुअघि नै ठूलो सफलता पाइसकेको थियो।

‘नेपाली क्रिकेटका लागि ठूलो दिन!’ आईसीसीको उक्त निर्णयपछि नेपाली क्रिकेट टिमका प्रशिक्षक पुबुदु दसानायकेले सामाजिक सञ्जालमा लेखेका छन्। नेपाली क्रिकेट टिमका कप्तान पारस खड्काले मिहेनतको फल पाएको बताए। ‘हामीले धेरै मिहेनत गरेका थियौं, सबैले आआफ्नो ठाउँबाट धेरै त्याग गरेका थिए। त्यसको सम्मान भएको छ’, उनले भने।

आईसीसीले अन्तर्राष्ट्रिय टिट्वेन्टीका लागि मात्र मान्यता प्रदान गरेको यो पहिलोपटक हो। १० टेस्ट राष्ट्र र ६ वटा एकदिवसीय मान्यताप्राप्त एसोसिएट राष्ट्रलाई अन्तर्राष्ट्रिय टिट्वेन्टी मान्यता थियो। आईसीसीले एकदिवसीय मान्यता पाउने एसोसिएट राष्ट्रलाई स्वत टिट्वेन्टीको मान्यता दिँदै आएको थियो।

गत जनवरी-फेब्रुअरीमा न्युजिल्यान्डमा सन् २०१५ को एकदिवसीय विश्वकपका लागि भएको छनोटमा शीर्ष चारमा पर्न नसकेपछि नेपालले एकदिवसीय अन्तर्राष्ट्रियको मान्यता पाउन सकेको थिएन। सन् २०१९ को एकदिवसीय विश्वकपका लागि एसोसिएट टिमको छनोट नहुँदासम्म नेपाललाई टीट्वेन्टी अन्तर्राष्ट्रियको मान्यता रहनेछ।

हाल एकदिवसीय मान्यता पाउने एसोसिएट टोलीमा अफगानिस्तान, हङकङ, आयरल्यान्ड, स्कटल्यान्ड, पपुआन्युगिनी र यूएई छन्। आईसीसीले राम्रो प्रदर्शन गरेको भन्दै अर्को एसोसिएट राष्ट्र नेदरल्यान्ड्सलाई पनि टीट्वेन्टी अन्तर्राष्ट्रियको हैसियत प्रदान गरेको छ। नेपालले अब टेस्ट राष्ट्रसँग समेत टीट्वेन्टी क्रिकेट शृंखला खेल्न सक्नेछ।

नेपाल क्रिकेट संघ (क्यान) ले विज्ञप्ति जारी गरी आईसीसीप्रति आभार व्यक्त गरेको छ।

नेपाललाई के फाइदा हुन्छ ?

– टेस्ट राष्ट्रसँग टीट्वेन्टी क्रिकेट खेल्न पाउँछ

-टेस्ट र एकदिवसीय मान्यताप्राप्त टोलीसँग खेलेको खेलले टीट्वेन्टी अन्तर्राष्ट्रियको मान्यता पाउँछ

-टीट्वेन्टी विश्वकपको विश्वस्तरको छनोटमा सोझै छनोट हुन्छ

– आईसीसीको सहयोग बढ्न सक्छ

-अन्नपूर्ण पोष्ट डट कम