बलात्कृतलाई सामाजिक बहिष्कार-बोलचाल र भारोपर्म मात्र रोकेनन्, मलामी समेत टुटाए

872 पटक पढिएको

सम्पादक: Dhadingnews.com

 

mahila_20140703105746धादिङ, असार १९ – सात महिनाअघि आफन्तबाटै बलात्कृत ढोला-२ की एकल महिला समाजमा बहिष्कृत भएकी छन् । बलात्कार मुद्दा फिर्ता लिन दबाब दिँदै छिमेकीहरूले पीडितमाथि बहिष्कार थपेका हुन् ।

जिल्ला अदालतमा मुद्दा दर्ता भएदेखि नै बोलचाल र भारोपर्म रोकेका छिमेकीहरू बुधबार उनकी सासू बित्दासमेत शव उठाउन गएनन् । ‘कोही छिमेकी शव उठाउन आएनन्,’ उनले भनिन्, ‘पल्लो गाउँ र मेरो पक्षमा बोल्ने ९/१० जना मिलेर अन्त्येष्टि गरिदिए ।’ गाउँमा मर्दापर्दा कम्तीमा ५० जना जम्मा हुनु सामान्य हो । बिहान ६ बजे उनकी सासू बितिन् । पल्लो गाउँका मानिसहरू आएर शव उठाउँदा १ बजिसकेको थियो ।

स्थानीय प्राथमिक विद्यालयमा ६ वर्षदेखि कार्यालय सहयोगी बसेकी २७ वर्षीया पीडित महिलाले मुद्दा फिर्ता नलिएकै कारण गत चैतमा जागिर गुमाउनुपर्‍यो । त्यसमा उनले जिल्ला शिक्षा कार्यालय, जिल्ला प्रशासन कार्यालय र महिला अधिकारकर्मी गुहारिन् तर सुनुवाइ भएको छैन ।

२०७० मंसिर ८ गते राति स्थानीय २४ वर्षीय सन्दीप सिम्खडाले उनलाई बलात्कार गरेको मुद्दाको मिसिलमा उल्लेख छ । उनले १० गते प्रहरीमा उजुरी दिएर मुद्दा दर्ता गराएकी थिइन् । ‘फिर्ता नलिएको भनेर मेलापात बन्द गरे,’ उनले कान्तिपुरसँग टेलिफोनमा भनिन्, ‘सासू मर्दा मलामी पनि आएनन् ।’ पहिलेदेखि पुज्दै आएका पण्डितले सासूको अन्तिम कर्म गर्न नमानेपछि अर्कै खोज्नुपर्‍यो । जागिर खोसिएपछि ४ कक्षामा पढ्ने ९ वर्षीया छोरी र ८ वर्षीय छोरालाई विद्यालय नै फेर्नुपर्‍यो ।

मुद्दाकै कारण कुलदेवताको पूजा गर्नबाट समेत वञ्चित गरेको उनले दुखेसो गरिन् । ‘गाउँका दुई/चार घर मात्रै मेरो पक्षमा छन्,’ उनले भनिन् ।

समाज भाँड्न खोजेको आरोपमा गाउँमा उनीसँग कमैले बोलचाल गर्छन् । ‘गाउँका केही टाठाबाठाले सुरुदेखि नै मुद्दा दर्ता गर्नु हुँदैन, गाउँघरको कुरा गाउँघरमै मिलाउनुपर्छ भनेका थिए,’ उनले भनिन्, ‘मैले नमानेपछि एक्ल्याए ।’

मलामी नजान स्थानीय बलराम सिम्खडा र मनबहादुर सिम्खडाले उर्दी गरेको एक स्थानीयले जानकारी दिए । ‘सिंगो गाउँलेको विरुद्धमा लागेर एउटी महिलाको पछि लाग्न सकिन्न,’ उनले भने । एकल महिलाले न्याय माग्दा समाजले क्रूर र अमानवीय व्यवहार गरेको महिला अधिकारकर्मी राधिका सापकोटाले बताइन् । पीडित महिलाका पतिको २०६५ सालमा मृत्यु भएको थियो ।

विद्यालयका प्रधानाध्यापक सन्तोष अर्यालले द्वन्द्व बढ्दै गएपछि गाउँलेकै सुझावमा उनलाई जागिरबाट हटाइएको प्रतिक्रिया दिए । आरोपी सन्दीप फरार छन् । आरोपी फरार रहेकाले मुद्दा मुल्तवीमा राखिएको जिल्ला अदालतका स्रेस्तेदार राजेन्द्र वाग्लेले जानकारी दिए इ कान्तिपुर डट कमले खबर लेखेको छ ।