पुनियानीले तताए त्रिवि

677 पटक पढिएको

सम्पादक: Dhadingnews.com

Raja Puniani (1)काठमाडौं- सिलिगुडी, भारतका युवा कवि राजा पुनियानीले शुक्रवार त्रिभुवन विश्वविद्यलायमा विद्यार्थी, प्राध्यापक, अन्य कवि र पत्रकारको उपस्थितिले खचाखच प्रेक्ष्यालयमा आफ्ना वैचारिक कविता सुनाएर श्रोतालाई आढाई घण्टा बाँधेर राखे । अङ्ग्रेजी विभाग अन्तर्गतको क्रिएटिभ लिटरेरी फोरमको निमन्त्रणामा नेपाल आएका पुनियानीले उनको प्रकाशित कृति “अर्को लश्कार” मा रहेका हस्तक्षेप श्रृङ्खलाका केही कविता, र उनका नयाँ गरी करीब एक दर्जन कविता सुनाए । “आदिवासी धुवाँ” र “सेवारो धुलो” जस्ता कविता उनले श्रोताको आग्रहमा दुईदुई पल्ट सुनाए । उनले केही अङ्ग्रेजी कविता पनि वाचन गरे । उनलाई कवि हेमन यात्रीले पनि वाचनमा सघाएका थिए ।

अङ्ग्रेजी विभागका प्राध्यापक डाक्तर रेवती न्यौपानेले पुनियानीलाई स्वागत गर्नुका साथै कविहरूबाट आम पाठकले के अपेक्षा राखेको हुन्छ भन्ने बारेमा आफ्ना धारणा राखे । कार्यक्रम संयोजक, समालोचक महेश पौड्यालले राजाले नेपाली भाषामा कविता लेखेर उनकी आमाको भाषा नेपालीलाई सम्मान दिएको बताए । उनले राजा पुनियानीले आफ्ना प्रयोगशील कवितामार्फत भारतीय युवा नेपाली कविहरूको वैचारिक नेतृत्व गरिरहेको पनि बताए ।