कांचको पर्दामा भन्दा फलफुल वगैचामा मख्ख छन पत्रकार लुईटेल

1828 पटक पढिएको

सम्पादक: Dhadingnews.com

केशव अधिकारी
IMG_0879 (1)धादिङको छत्रेदेउराली गाविस घर भएका पत्रकार मधुकर लुईटेल राजधानीवाट प्रशारित निजी टेलिभिजनमा समाचार सम्पादन तथा कार्यक्रम प्रस्तुत गर्ने जिम्मेवारी छाडेर यति बेला गाउंमै रमाउन थालेका छन । छत्रेदेउराली गाविसमा व्यवसायीक फलफुल खेतीमा किसानहरुको अकार्षण बढ्न थालेपछि पत्रकार लुईटेल पनि सक्रिय पत्रकारितालाई केही समय थांती राखेर फलफुल खेतीमा लागेका हुन । व्यवसायिक फलफुल खेतीमा जिल्लाकै अग्रणी बन्न थालेको छत्रेदेउरालीमा मात्रै वार्षिक पाँच करोड भन्दा बढी नगद किसानहरुले फलफुलवाटै भित्र्याउने गरेका छन् । त्यो रकम भित्र्याउने किसान मध्येका एक पात्र वनेका मधुकर केही समय अघि सम्म राजधानीमा वसेर काँचको पर्दामा उभिएर देश र दुनियाँको खबर प्रस्तुत गर्दै गरेको अवस्थामा देखिएपनि यति वेला समाचारको दुनियांमा भन्दा पनि लिचि टिपेर बेच्नमा व्यस्त देखिन्छन ।
अधिकांश किसानहरुलाई असारमा रोपाई गर्ने चटारो परिरहेका बेला धादिङ छत्रेदेउराली गाविसका किसान भने मध्य असारमा फलफुल टिप्दै नगद गन्नमै व्यस्त छन । केही वर्ष अघि पाखो÷भिरालो जमिनमा लगाइएको लिचिको विरुवाले मनग्गे आम्दानी दिन थाले पछि किसानहरु खेतको कामै छाडेर लिचि टिप्ने IMG_1036काममा व्यस्त भएका हुन् भने सक्रिय पत्रकारीता छाडेर लुंइटेल पनि गाउं पसेका हुन ।
लिचि खेतीका लागि उपयुक्त हावापानी भएको थाहा पाएपछि छत्रेदेउरालीमा १५ वर्ष अघि १० वटा विरुवाबाट सुरु भएको लिचि खेती यतिबेला गाविसका सबै विस्तार हुन पुगेको छत्रेदेउराली गाविस वडा नम्बर ५ आँपचौरका शिवकुमार लुईटेलले बताउनु भयो । विरुवा लगाएको चार वर्ष पछि पहिलो पटक सात हजार रुपैयाँ आम्दानी लिएका शिवकुमारले अहिले वार्षिक दुई लाखको हाराहारीमा आम्दानी लिने गरेको जानकारी दिनुभयो । वडा नम्बर पाँचमा मात्रै तीन दर्जन बढी किसानले व्यवसायीक लिचि खेती गरेका छन् । यहांका सय भन्दा बढी किसानले कम्तिमा दश बोट लिचि लगाएका छन् ।
काठमाण्डौंको छेउमै रहेको धादिङको छत्रेदेउरालीमा अहिले अधिकांश किसान लिचिबारीमा भेटिन्छन् । हरिया रुखको घारीमा लटरम्म फलेका राताम्मे लिचिले गाउँको सुन्दरतानै वदलिदिएको छ । असार सुरु भएलगत्तै टिप्न सुरु गरिएको लिचि यतिबेला सम्म बांकी नै रहेको छ । लिचिको आम्दानीबाटै यहाँका किसानका छोराछोरी राम्रो विद्यालयमा पढेर उच्च शिक्षा हासिल गर्न सफल भएको शिवकुमार बताउनुहुन्छ ।
केही बर्ष अघि सम्म दुध र तरकारी बेचेर आम्दानी गर्ने गरेका किसानहरुको अहिलेको मुख्य आम्दानीको श्रोत लिचि बन्न पुगेको पत्रकार लुईटेलको भनाई छ । तरकारीमा पनि दुःख धेरै हुने र आम्दानी थोरै हुने भएपछि गाउंलेहरु फलफुल खेती तर्फ लागेको सानुकान्छा लुइटेलले बताउनु भयो । सानुकान्छाले ८० बोट लिचिबाट वार्षिक डेढ देखि दुई लाख रुपियाँ लिँदै आउनु भएको छ । ‘मैले लिचिमात्रै हैन नास्पाती, अम्बा, सुन्तला, कटहर र बगैचा भित्रै अदुवा, बेसार जस्ता नदगेबाली लगाएको छु उहांले बताउनु भयो । १३ रोपनी भिरालो जमिनमा हरेक मौसममा फलफुल उत्पादन गरेर नदग आर्जन गर्ने गरेको सानुकान्छाले बताउनु भयो । आंफुले अदुवा र बेसारबाट वार्षिक दुई लाख, नास्पाती, अम्बा, सुन्ताला बाट त्यतिकै आम्दानी लिने गरेको उहांको भनाई छ ।
व्यवसायीक फलफुलका खेतीमा जिल्लाकै नमुना वन्न पुगेको छत्रेदेउरालीका वडा नम्बर १, २, ४ र ५ मा प्रत्येक वडाले वार्षिक ७० हजारदेखि एक करोड नगद आम्दानी लिचिबाटै लिने गरेको व्यवसायीक लिचि खेती गर्दै आउनु भएका किसान एवं पत्रकार मधुकर लुईटेल बताउनुहुन्छ । यहाँ प्रायः घरमा लिचि र अन्य फलफुल प्रसस्त हुन्छ, छत्रेदेउराली गाविसमा मात्रै यो मौसममा वार्षि पाँच करोड रुपियाँ लिचिबाटै भित्रिने गरेको पत्रकार लुईटेलको भनाई छ । पत्रकारिता संगै लिचि पाक्ने मौसममा घरमै बसेर लिचि टिप्ने र बजार पठाउने काममा व्यस्त हुने गरेको लुईटेलले वताउनु भयो ।
काठमाडौंको कालीमाटी स्थित तरकारी तथा फलफुल बजारमा खपत हुने लिचिवाट प्रति किलो ७५ देखि ८० रुपियाँ थोक मुल्य किसानले पाउने गर्दछन । उत्पादन जति भए पनि बजारको समस्या नभएकाले हरेक वर्ष यहाँ लिचि खेती गर्ने किसानको संख्या पनि बढ्दै गएको स्थानीयवासीले वताए ।
किसानहरु खेत अरुलाई रोप्न दिएर पाखो बारीमा फलफुल खेती गर्न थालेको सानुकान्छाले बताउनु भयो । अरु खेती भन्दा लिचि खेतीमा धेरै दुःख गर्नु नपर्ने, बर्षमा एक पटक गोडमेल गरेपछि र फल टिप्न पाईने किसानहरुको भनाई छ । गाउंका अधिकांश किसान लिचि खेतिमा लागेपछि हरेक बर्ष विरुवाको खोजीमा उनिहरु भारतको विहार लगायत ठाउंमा पुग्ने गरेका छन् । सुरुमा ३३ रुपियाँ प्रति विरुवा पाइने उन्नत जातको लिचि अहिले चार सयसम्म पर्छ । यहाँ साही, मजफरपुरिया, चाइनिज जातका लिचि लगाइएको किसानहरुले वताए । लिचिका जात अनुसारका फल र स्वाद समेत फरक फरक पाइन्छ ।
छत्रेका अलावा जिवनपुर, केवलपुर, नौबिसे, थाक्रे लगायत अधिकांश गाविसमा लिचि खेती हुने गरेको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । पछिल्लो समय फलफुल खेतीको रुपमा विभिन्न स्थानलाई पकेट क्षेत्रको रुपमा विकास गर्ने कृषिको योजना अनुरुप छत्रे र जिवनपुर लिचिको लागि सबैभन्दा उपयुक्त रहेको कृषि बिज्ञहरुको भनाई छ ।