बहिष्कृत महिलाबारे अधिकारकर्मीको चासो

757 पटक पढिएको

सम्पादक: Dhadingnews.com

ढोला (धादिङ),  – बलात्कृत भएपछि समाजबाट बहिष्कृत महिलाका बारेमा चौतर्फी चासो हुन थालेको छ । स्थानीय तहमा भने घटना राजनीतीकरण हुँदै गएपछि महिला गाउँबाटै विस्थापित हुन सक्ने अनुमान स्थानीयवासीले गरेका छन् । ढोला २ की एकल महिला बलात्कार घटनामा गाउँ नै दुई पक्षमा विभाजित भएको स्थानीय एक व्यापारीले जानकारी दिए । ‘पीडितलाई न्याय दिने र पीडकलाई जोगाउने उद्देश्य लिएर समाज विभाजित भएको छ,’ उनले भने, ‘पक्ष-विपक्षको सिकार महिला भएपछि गाउँमै बस्न नसक्ने अवस्था छ ।

स्थानीय कांग्रेस नेता कार्यकर्ता मुद्दा फिर्ता लिएर घटनालाई गाउँमै मिलाउने पक्षमा छन् भने एमाले कार्यकर्ताले साथ दिएर मुद्दा फिर्ता लिन नहुने र आफूहरूले संरक्षण दिने आश्वासन दिएका छन् । घटना राजनीतीकरण हुँदै जाँदा समाजको ठूलो समूहबाट महिला बहिष्कृत हुन पुगेको स्थानीयवासीले बताए । उक्त ठाउँमा कांग्रेसको वर्चस्व छ । स्थानीय कांग्रेस नेताले मुद्दा दर्ता गराउन नहुने भनेपछि महिलाले स्थानीय एमाले कार्यकर्ताको सहयोग लिएकी थिइन् ।

महिलालाई कुलदेवता पूजा गर्नबाट वञ्चित गरेर, विद्यालयको जागिरबाट निकालेर र सासूको निधनमा मलामीसमेत नगएर सामाजिक बहिष्कार गरेेकोप्रति विभिन्न संघसंस्थाले चासो व्यक्त गरेका छन् । प्रधानमन्त्री कार्यालय, राष्ट्रिय मानवअधिकार आयोग, जिल्ला प्रशासन, प्रहरीले चासो व्यक्त गरेका हुन् । इन्सेक, ओरेक नेपाल र महिला अधिकारकर्मीले मंगलबार पीडित महिलालाई १९ हजार नगद सहयोग गरेका थिए । गाउँलेले शोकको समयमा असहयोग गरेका बेला सहयोग गरेको इन्सेक प्रतिनिधि सीताराम अधिकारीले बताए ।

छिमेकीले सासूको मृत्युमा मानोचामलसमेत नदिएर बहिष्कार गरेको पीडित महिलाले गुनासो गरिन् । ‘मैले मुद्दा दर्ता गरेदेखि नै एक्लो पार्दै आएका छन्,’ उनले भनिन्, ‘दुःखका बेला पनि वास्ता गरेनन् ।’ यसअघि पनि राति घरमा आएर ढुङ्गामुढा गरेपछि प्रहरीमा दर्ता भएको मुद्दाका विषयमा आरोपप्रत्यारोप नगर्ने सहमति भएको स्थानीयवासीले जानकारी दिए । स्थानीय कांग्रेस, एमाले नेताको टक्करका कारण घटनाले ठूलो रूप लिन थालेको ती शिक्षकले बताए । ‘मलामी गएका केही पनि मानोचामल लिएर आएका छैनन्,’ उनले भनिन्, ‘मलामी नजाने त र्फकेर पनि हेर्दैनन् ।’ छोराछोरी सुरक्षित छैनन् भनेर हल्ला चलाएकाले गाउँमा बस्न सक्ने अवस्था नभएको उनले बताइन् । सिंगै गाउँलेले एक्लो पारेर एकल महिलालाई घरमा बस्न नदिने चाल रचेको छिमेकी गाउँकी उषा भट्टले बताइन् ।

०७० मंसिर ८ गते राति स्थानीय २४ वषर्ीय सन्दीप भनिने सञ्जीव सिंखडाले उनलाई बलात्कार गरेको आरोप छ । सञ्जीव हाल फरार छन् । महिलाले १० गते प्रहरीमा उजुरी दिएर मुद्दा दर्ता गराएकी हुन् । मुद्दा फिर्ता भएपछि अन्य घटनाका शृंखला सुरु भएका थिए । जिल्ला प्रहरी प्रमुख प्रकाश मल्लले सामाजिक सद्भाव र सामाजिक सुरक्षाका लागि दुई पक्षबीच प्रहरीले छलफल गराएर सहमति गराउने बताए ।

-इ कान्तिपुरवाट