धादिङमा मापदण्डविपरीत ग्यास उद्योग सञ्चालन

995 पटक पढिएको

सम्पादक: Dhadingnews.com


sugam gas naubise
धादिङ-औद्योगिक करिडोरको रुपमा विकास हुँदै गरेको धादिङमा विकास र रोजगारीको संभावनासँगै चुनौतिहरु थपिन थालेका छन् । प्रचलित कानुनको समेत ख्याल नगरी स्थापना भएका कतिपय उद्योग वातावरण मैत्री छैनन् भने कतिपय राजमार्ग र नदीबीच हुनुपर्ने दुरीको समेत ख्याल नगरी मापदण्ड मिचेर सञ्चालनमा ल्याइएका छन् ।
भएका उद्योगलाई व्यवस्थित रुपमा सञ्चालन गर्न र नयाँ आउने उद्योगलाई उपयुक्त स्थान र वातावरण तयार गर्न सरोकारवाला निकायको ध्यान जान नसकेको सरोकारवालाहरुको भनाई छ । पछिल्लो समय धादिङको राजमार्ग क्षेत्रमा तिब्र रुपमा उद्योग स्थापना हुने क्रम बढ्दै गएको छ । धादिङ जिल्लामा पर्ने राजमार्ग क्षेत्रमा खाना पकाउन प्रयोग गरिने एलपी ग्यास, सिमेन्ट, औषधि, पोलीफम, ईटा लगायतका वस्तु उत्पादन गर्ने ठुला लगानीका उद्योगहरु स्थापना हुने क्रम बढ्दै गएको छ । राजधानीको नजिक रहेका कारण ठूला लगानीका उद्योग व्यवसाय दर्ताको लागि धादिङ जिल्ला पहिलो रोजाईमा पर्ने गरेको व्यवसायीहरु बताउँंछन् । ठूला लगानीकर्ता खेतान समूहको एचपी ग्यास, अग्रवालको मेडिसिन, दुगडले युनाईटेड सिमेन्ट र गोल्छाले फुल खेती गर्न धादिङमा  प्रवेश गरिसकेका छन ।
देशमा १० वर्षे द्वन्द्धको अन्त्य र २०६२÷०६३ को जनआन्दोलन पछि धादिङ जिल्लामा लगानीको सुरक्षा र आर्थिक उन्नती हुने देखेर करिव दुई दर्जन ठुला उद्योग स्थापना हुन थालेका हुन । २०६३ अघिसम्म उद्योगको नाममा निर्माण सामाग्री उत्पादनका लागि स्थापना गएिका क्रसरहरु नै जिल्लामा ठुला उद्योगको रुपमा रहेको भएपनि अहिले करोडौंको लगानीमा उद्योग स्थापना हुन थालेको उद्योग वाणिज्य संघ धादिङका महासचिव लोकनाथ डल्लाकोटी बताउनुहुन्छ ।
जिल्लामा ठुला लगानीका  उद्योग धन्दा  भित्रिए पश्चात कृषिका लागि उर्वर भुमीहरु औद्योगिक करिडोरमा परिवर्तन हुन थालेको सरोकारवालहरुको भनाई छ ।  ठुला उद्योगहरुले स्थानीय स्तरमा रोजगारीको सृजना संगै भित्रिएको प्रदुषण र खेतियोग्य जमिनको क्षयिकरणले कालान्तरमा जिल्लाको पहिचाननै मेटिन सक्ने घरेलु तथा साना उद्योग विकास समिति सञ्चालक समिति अध्यक्ष जगन्नाथ नेपालको भनाई छ ।  ठुला उद्योगहरु भित्रिनु राज्य र निजिक्षेत्रका लागि फाइदा हो । यसले समग्र जिल्लाको पनि उन्नती प्रगति हुन्छ यसको लागि खेतियोग्य उर्वर भुमी रोज्न नहुने अध्यक्ष नेपाल बताउँछन् । उद्योग स्थापनाका लागि कुन ठाउँ उपयुक्त हुन्छ त्यसको व्यवस्थापन निजि क्षेत्र र राज्यले गर्नु पर्ने नेपालको तर्क छ ।
राजधानीसंग जोडिएको जिल्ला भएकाले धादिङमा औद्योगिक विकास गर्न सहज हुने उद्योग मन्त्रालयका उपसचिव रुद्रबहादुर मल्ल बताउँछन् । यहाँका फाँटहरुमा गरिएको तरकारी खेती, राजमार्ग आसपासमा बढ्दै गरेका उद्योग धन्दा, राजधानी लगायत पोखरा, नारायणगढ, बुटवल, हेटौंडा जस्ता शहरको नजिक रहेको र पृथ्वी राजार्ग, त्रिभुवन राजपथ, चिन भारत जोड्ने रसुवा ठोरी सडकको मध्य भागमा रहेकोले धादिङमा उद्योगको निकै संभावना रहेको मल्ल बताउँछन् । यसका लागि व्यवस्थापनका केही कामहरु गरे मात्र पुग्ने मल्लको तर्क छ ।
धादिङमा जलविद्युत, चुनढुंगा, रुवी तथा बहुमुल्य पत्थर, जस्ता खानी, जडिबुटीको प्रच्युर संभावना रहेको जिल्लामा यहाँको उत्पादन सुहाउँदो उद्योग स्थापनामा जोड दिनु पर्ने नेपाल घरेलु तथा साना उद्योग महासंघका अध्यक्ष बलराम लम्सालले बताए । स्वतस्फुर्त रुपमा कृषि उत्पादनको लहर चलेको बताउँदै यसलाई व्यवसायीकरण गर्न राज्यको सहयोग चाहिने उनको भनाई छ ।
देशको अस्थिर राजनीतिक अवस्थाले लगानीकर्ताहरु उत्साहित र ढुक्क हुननसकेको, उद्योग नीतिमा अस्पष्टता, सरकारै पिच्छे नीति परिवर्तन जस्ता चुनौती उद्यमीले झेल्नु पर्ने भएकाले नीतिगत रुपमा स्पष्ट हुनु पर्ने अन्य सरोकारवालको सुझाव छ । कृषि, जलस्रोत, खनिज, पर्यटन उद्योगहरुको विकास गर्न सके आम जिल्ला बासीले प्रत्यक्ष लाभ लिन सक्ने धादिङ उद्योग वाणिज्य संघका अध्यक्ष चन्द्रकान्त अधिकारी बताउँछन् ।
काठमाडौंबाट नजिक र जग्गाको मुल्य, औद्योगिक वातावरण लगायतका दृष्टिकोणले धादिङ उद्योगी व्यवसायीहरुको नजरमा पर्न थालेको व्यवसायीहरु बताउँछन् । राजधानी भित्रिने एक मात्र मुख्य नाका पृथ्वी राजमार्गले थप आकर्षण गरेको छ ।
वर्षमा सरदर तीनदेखि चार वटा ठुला उद्योग स्थापना भएका छन् । तिब्र गतिमा स्थापना भएका उद्योगहरुको सूचिमा आधा भन्दा बढी हिस्सा खाना पकाउन प्रयोग हुने एलपी ग्यास उद्योगले ओगटेको छ । सात वर्षको बीचमा धादिङको मझिमटारदेखी नौबिसे सम्म ग्यास उद्योग मात्रै १३ वटा स्थापना भएका छन् । सिमेन्ट २, औषधी उत्पादन गर्ने २, फम, चाइनिज ईटा, कंक्रिट पोल र ह्युमपाइप उद्योग १/१ वटा छन् । पचासवटा क्रसर उद्योगहरु सञ्चालनमा छन् ।
पछिल्लो समय राजमार्ग क्षेत्रमा खुलेका ठुला उद्योग बाहेक धादिङमा ३६ सय १५ वटा उद्योग दर्ता भएका छन् । वाणिज्य तर्फ २१ सय चार वटा फर्म दर्ता भएको घरेलु तथा साना उद्योग विकास समिति धादिङका कार्यालय प्रमुख वरिष्ठ उद्योग अधिकृत शोभाकर गौतमले जानकारी दिए । इजाजत पत्र लिनु पर्ने बाहेक डेढ करोड लगानी सम्मका उद्योग यहाँ दर्ता हुन्छन् गौतम भन्छन् इजाजत लिनु पर्ने र सो भन्दा माथि लगानी भएका उद्योगहरु सिधै उद्योग विभागमा दर्ता हुने भएकाले जिल्लामा कुनै जानकारी हुँदैन ।
जिल्लामा २६ करोड ९७ लाख, १३ हजार ५ सय रुपियाँ पुँजी लगानीबाट १५ सय सात जनाले रोजगारी पाएको बताइएको छ । समितिले उद्यमी विकास र उद्योग प्रवद्र्धन कार्यक्रम अन्तर्गत मैन वत्ति बनाउने, सिलाई मेसिन मर्मत, हाउस वायरिङ, आधारभुत कम्प्युटर, सिलाई कटाई, भांग्रो कपडा बुनाई, हस्तकला, साबुन बनाउने तालिम दिएर उद्यामीहरुको व्यवसायीक विकास गर्दै आएको प्रमुख गौतमले जानकारी दिए ।