विकट गाउँमा एक करोडको आलु-बिक्री गर्न नसक्दा किसान समस्यामा

552 पटक पढिएको

सम्पादक: Dhadingnews.com

 

???????????????????????????????केशव अधिकारी

धादिङ,  – जिल्लाको हिमाली गाउँ तिप्लिङमा उत्पादित आलुले बजार नपाउँदा किसानको घरमा नै खेर गएको छ ।

गाउँमा मुख्य वालीको रुपमा आलु उत्पादन भएपनि ढुवानी समस्याका कारण किसानहरुले बिक्री गर्न नसकेका हुन् ।  तिप्लिङका ५ सय ५० घर किसानले बर्षमा ३३ हजार मुरी (६६० मेट्रिक टन) आलु उत्पादन गर्ने अनुमान छ । उत्पादित आलुमध्ये १ हजार मुरी (२० मेट्रिक टन) मात्रै बजार पुर्‍याउन सकिएको स्थानीय अगुवा मेन घलेले बताउनुभयो ।

आलु खन्ने समय बर्खामा पर्ने र त्यतिबेला खच्चड मार्फत ढुवानी गर्न नसकिंदा आलु बजारसम्म पुर्‍याउन नसकिएको उहाँको भनाई छ । भरिया मार्फत बोकाउँदा बजार पुर्‍याउन २ दिन लाग्ने र ढुवानी चर्को पर्ने स्थानीय वासिन्दा बताउँछन् ।

स्थानीय तथा लेकाली आलुको मिठो हुने भएकाले बजारमा यसको धेरै माग छ । तर ढुवानी गर्न बढी खर्च लाग्ने कारण आलु बेच्न नसकिएको तिप्लिङका चन्द्रबहादुर तामाङले बताउनुभयो । खच्चडलाई बोकाएर तिप्लिङबाट सडक सञ्जाल जोडिएको दार्खा गाविसको घ्याङसाङ पुर्‍याएको किलोको २० रुपैयाँ र त्यहाँबाट सदरमुकाम पुर्‍याएको किलोको ५ रुपयाँ लाग्छ ।  यसरी ल्याउँदा वजारको प्रचलित मूल्य भन्दा बढी ढुवानीमा नै खर्च हुने भएकाले आलु बेच्न नसकेको तामाङको भनाई छ । आफ्नै खच्चड हुने केही किसानले मात्र आलु बिक्री गर्न लैजाने गरेका छन् ।

उत्पादित आलु प्रतिकिलो २० रुपैयाँमा बेच्न सकेपनि गाउँमा १ करोड ३२ लाख रुपैयाँ भित्रने स्थानीय किसान बताउँछन् । तिप्लिङसम्म सडक पुर्‍याउन सके आलु बेच्न सजिलो हुने र चामलमा तिर्दै आएको ढुवानी खर्च समेत घट्ने स्थानीय अगुवा नरवहादुर घले बतानुहुन्छ ।

उज्यालो अनलाईनवाट