नेकपा एमाले धादिङको कार्यवाहक अध्यक्षमा भुमि त्रिपाठी

1672 पटक पढिएको

सम्पादक: Dhadingnews.com

SAM_0314केशव अधिकारी धादिङ–नेकपा एमाले धादिङको कार्यवाहक अध्यक्षको जिम्मेवारी एमालेका जिल्ला उपाध्यक्ष भुमि त्रिपाठीले पाउनु भएको छ । साउन ३ गते शनिवारवाट अनौपचारिक रुपमा कार्यवाहक अध्यक्षको जिम्मेवारी सम्हाले पनि त्रिपाठीले औपचारिक रुपमा भने साउन ७ गते पुष्पलाल स्मृत्ति दिवसको दिन वाट जिम्मेवारी वहन गर्नुहुने भएको छ । एमालेका जिल्ला अध्यक्ष खेम लोहनी पार्टीको नवौं महाधिबेशनवाट बैकल्पिक केन्द्रिय सदस्यमा निर्वाचित भएपछि पार्टीको विधान अनुसार त्रिपाठीले कार्यवाहक अध्यक्षको जिम्मेवारी पाउनुभएको हो । लोहनी २०६९ फागुन १८ र १९ गते धादिङबेसीमा सम्पन्न भएको पार्टीको सातौं जिल्ला अधिबेशनवाट सर्वसम्मत रुपमा अध्यक्ष पदमा निर्वाचित हुनु भएको थियो । कार्यवाहक अध्यक्षको जिम्मेवारी सम्हाल्नु भएका त्रिपाठीको जन्म २०२३ साल असार १८ गते धादिङ जिल्लाको वेनिघाट गाविस वडा नम्बर १ मा भएको हो । भुमि वुबा गंगादत्त त्रिपाठी र आमा दुर्गादेवी त्रिपाठीका कान्छा छोरा हुनुहुन्छ । कानूनमा स्नातक र राजनितिशास्त्रमा स्नातकोत्तर तह सम्मको अध्ययन पुरा गर्नु भएका त्रिपाठी काठमाण्डौं जिल्ला अदालतमा कृयाशिल कान्ुन व्यवसायी समेत हुनुहुन्छ । बिद्यालय तहको पढाईकै क्रममा २०३६ सालमा आदशै उच्च मावि गजुरीमा तत्कालिन नेकपा मालेको जनवर्गिय संगठन अनेरास्ववियुको साधारण सदस्य भएर राजनैतिक फांटमा प्रवेश गर्नु भएका त्रिपाठीले सोही बर्ष आदर्श उच्च मावि गजुरीमा अनेरास्ववियुको प्रारम्भिक कमिटीको सचिवको जिम्मेवारी सम्हाल्नु भएको थियो । यसैगरी २०४९ सालमा नेपाल ल क्याम्पसको स्वतन्त्र बिद्यार्थी युनियनको सचिव पदमा उहां विजयी हुनुभएको थियो । बिद्यार्थी फांटवाट शुरु भएको राजनैतिक सक्रियताकै कारण २०५४ सालमा धादिङ काठमाण्डौं सम्पर्क मञ्चको उपाध्यक्ष हुंदै दुई कार्यकाल पुरा गरेर अध्यक्षको जिम्मेवारी समेत वहन गर्नुभएको थियो । सम्पर्क मञ्चको उपाध्यक्ष रहेको वेला पार्टी विभाजन भएर अध्यक्ष नेकपा माले तिर लागे पछि आंफु स्वत अध्यक्षको जिम्मेवारीमा पुगेको उहांको भनाई छ । सम्पर्क मञ्च हुंदै पार्टीको चौथो जिल्ला अधिवेशनमा जिल्ला कमिटीको वैकल्पिक सदस्य,पांचौ जिल्ला सम्मेलनमा पूर्ण सदस्य हुंदै छैटौं अधिबेशनमा सचिव पदको जिम्मेवारी वहन गर्नुभएका त्रिपाठी २०६९ फागुन १८ र १९ गते धादिङबेसीमा सम्पन्न भएको पार्टीको सातौं जिल्ला अधिबेशनवाट उपाध्यक्ष पदमा चयन हुनुभएको थियो । जिल्ला कमिटीको उपाध्यक्षको जिम्मेवारी सम्हालेकै वेला यस पटक त्रिपाठीलाई अर्को अवसर मिल्न गएको छ । पार्टी अध्यक्ष केन्द्रिय सदस्यमा निर्वाचित भएपछि जिल्ला कमिटीको नेत्तृत्व हांक्ने जिम्मेवारी त्रिपाठीको कांधमा आएको हो । दोश्रो संविधान सभा निर्वाचनमा नेकपा एमाले धादिङ क्षेत्र नम्बर ३ को निर्वाचन परिचालन समितिको संयोजकको जिम्मेवारी सम्हालेर २०६४ मा एमालेले पराजय भोग्नु परेको धादिङ क्षेत्र नम्बर ३ मा २०७० को निर्वाचनमा विजय हुन सफल भएको थियो । स्पष्टवक्ता, कार्यकर्ताहरुको संरक्षणमा समर्पित, धाराप्रवाह भाषण दिने कला, विपक्षीहरुसंग झुकेर सम्झौता नगर्ने स्वभावका कारण त्रिपाठीलाई धादिङ जिल्लाको सक्षम नेताका रुपमा लिने गरिन्छ । एमालेका केन्द्रिय अध्यक्ष केपि शर्मा ओलीका विश्वासपात्रका रुपमा चिनिनुहुन्छ । महाधिवेशन सम्म पार्टी भित्र जे जस्तो लवि देखिएपनि अव पार्टी कार्यकर्तालाई धारमा विभाजित गर्ने कार्य कतैवाट पनि हुन नहुने र एकतावद्ध भएर अघि बढ्न सक्ने एमालेको पक्षमा आंफु रहेको त्रिपाठीले धादिङ न्युजलाई वताउनुभयो ।