राईस मिल दर्ता गरेर विजुली जोड्दै चलाईएका अबैध वालुवा खानी बन्द गर्न निर्देशन

640 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

केशव अधिकारी
धादिङ,१२ साउन ः धादिङ जिल्लामा राजस्व छलेर बर्षौ देखि अबैध रुपमा संचालित वालुवा खानी तथा प्रशोधन गर्ने फिरफिरेहरु वन्द गरिने भएको छ ।
DSC09734 copyढुङ्गा,गिटी,वालुवा व्यवस्थापन गर्न गठित जिल्ला स्तरीय अनुगमन तथा समन्वय समितिको सोमवार धादिङबेसीमा बसेको बैठकले अबैध रुपमा संचालित वालुवा उद्योगहरु तत्काल वन्द गराउने निर्णय गरेको हो । जिल्ला अनुगमन समितिका संयोजक एवम प्रमुख जिल्ला अधिकारी दिपकराज नेपालको संयोकत्वमा वसेको अनुगमन समितिको बैठकले दर्ता नभई अवैध रुपमा संचालनमा रहेका वालुवा प्रशोधन गर्ने उद्धेश्यका उद्योगहरु (फिरफिरे) वन्द गराउने निर्णय गरेको घरेलु तथा साना उद्योग विकास समितिले जनाएको छ ।
जिल्लाको बैरेनी, पिडा र गजुरी गाविसमा गरी ७३ वटा वालुवा प्रशोधन गर्ने फिरफिरे संचालनमा रहेका छन ।जस्मा बैरेनी गाविसमा २२ जना संचालकवाट ३४ वटा,पिडा गाविसमा १८ जना संचालक वाट ३६ वटा र गजुरी गाविसमा ३ जना संचालकवाट ३ वटा गरी समेत गरी ४३ जना संचालकले ७३वटा अबैध फिरफिरे संचालन गरिरहेको पाईएको प्रमुख जिल्ला अधिकारी दिपकराज नेपालले वताउनु भयो ।
औद्योगिक व्यवसाय ऐन २०४९ अनुसार कुनै पनि उद्योग,व्यवसाय कानुन वमोजिम दर्ता गरी संचालन गर्नु पर्नेमा ४३ जना संचालकले कुनै पनि निकायमा दर्ता समेत नगरी ७३ वटा फिरफिरे संचालन गरिरहेको पाईएकाले त्यस्ता उद्योग वन्द गर्न अनुगमन समिति मार्फत निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी नेपालले वताउनु भयो ।
यस अघि जिल्ला घरेलु तथा साना उद्योग विकास समितिले अबैध रुपमा संचालित चारवटा र अन्य ३१ वटा क्रसर उद्योगलाई पनि वन्द गर्न पत्राचार गरेको थियो । पटक पटक लिखित तथा मौखिक निर्देशन दिंदा पनि अटेर गरी अबैध ढंगवाट क्रसर तथा वालुवा उद्योग संचालन हुनेक्रम बढेपछि जिल्ला अनुगमन समितिले यस्ता व्यवसाय तत्काल वन्द गर्न निर्देशन दिनु परेको प्रमुख जिल्ला अधिकारी नेपालको भनाई छ ।
धादिङ जिल्लामा ३१ वटा क्रसर उद्योग मापदण्ड विपरीत संचालन भईरहेको र चारवटाले कानूनी प्रक्रिया समेत पुरा नगरी उद्योग चलाईरहेको पाईएपछि ति सवैक्रसर लाई पनि वन्द गर्न पत्र दिईएको बरिष्ठ उद्योग विकास अधिकृत शोभाकर गौतमले वताउनु भयो । गौतमका अनुसार चण्डिका कंक्रिट प्रा.लि. थांक्रे–४,शिलादेवी क्रसर उद्योग प्रा.लि.भुमस्थान–४,वान्ली स्याडवासिङ प्रा.लि. गोगनपानी–१र एलएम क्रसर प्रा.लि.ज्यामरुङ –६ कम्पनी रजिष्टार कार्यालयमा कम्पनी दर्ता गरेर उद्योग दर्ता नगरी अबैध रुपमा संचालनमा रहेको पाईएको गौतमले वताउनु भयो । राजमार्ग र नदी,मठ मन्दिर ,बिद्यालय तथा स्वास्थ्य संस्थाको ५०० मिटर पर राखेर मात्र वालुवा प्रशोधन गर्ने फिरफिरे संचालन गर्नु वर्ने भएपनि धादिङ जिल्लामा संचालित सवै फिरफिरे कानूनी मान्यता विपरित संचालन हुंदै आईरहेका छन । औद्योगिक मान्यता पुरा गर्दा कर तिर्नुपर्ने भएपछि यसैगरी कुटानी पिसानी मिल दर्ता गरी सोही नाममा विद्युत्त सुविधा लिएर फिरफिरे संचालन हुंदै आईरहेका छन ।
अबैध रुपमा संचालित वालुवा प्रशोधन उद्योग तथा क्रसर वन्द गर्न जिल्ला अनुगमन समितिले घरेलु समितिलाई लिखित निर्देशन दिंदै सुरक्षाको आवश्यक परे स्थानीय प्रशासनसंग समन्वय गर्न समेत लिखित निर्देशन दिएको छ । ढुङ्गा,गिटी,वालुवा व्यवस्थापन गर्न गठित जिल्ला स्तरीय अनुगमन तथा समन्वय समितिको सोमवार धादिङबेसीमा बसेको बैठकमा प्रमुख जिल्ला अधिकारी नेपालका साथै,प्रहरी नायव उपरिक्षक प्रकाश मल्ल,शशस्त्र प्रहरी वलका दलवहादुर तामाङ,सहायक जिल्ला वन अधिकृत कृष्णप्रसाद अधिकारी,जिल्ला भुंसरंक्षण कार्यालयका प्रतिनिधि धर्मराज तिमिल्सिना,सडक डिभिजन कार्यालय भरतपुरका इन्जिनियर गागल भण्डारी,सिंचाई सव डिभिजन कार्यालयका जिवन अधिकारी,घरेलु विकास समितिका शोभाकर गौतमको उपस्थिती रहेको थियो । त्यसैगरी उद्योग वाणिज्य संघ धादिङका अध्यक्ष कल्पना अधिकारी, धादिङ उद्योग वाणिज्य संघका अध्यक्ष चन्द्रकान्त अधिकारी,समितिका सदस्य सचिव स्थानीय विकास अधिकारी रुद्रसिंह तामाङ लगायतको उपस्थिती रहेको थियो ।SAM_3835 copy SAM_3836 copy