तामाङ बोम्पो : एक प्राकृतिक चिकित्सक

1370 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

1098209_10201167019074195_839049309_n
गोपाल फ्युबा तामाङ

तामाङ नेपालको एक महत्त्वपूर्ण आदिवासी जनजाति हो । यस जातिसँग आफ्नै संस्कार, संस्कृति, भेषभूषा, रहनसहन र भाषा रहेको छ । धार्मिक रुपमा आठौं शताब्दी ताका महायानी बौद्ध धर्मको प्रचारप्रसार हुनुभन्दा अघिसम्म तामाङ गणराज्यहरूमा बोम्पो मात्र प्रचलनमा रहेको तथ्यहरु सार्वजनिक भएका छन् । आचार्य पद्मसम्भवले बौद्ध शिक्षामा काटमारको निषेध गरिएको कुरा कडाइका साथ लागु गरे । र बोम्पोहरूलाई लखाटिए । पछि स्थानीय मत अनुसार धर्म, संस्कार, संस्कृति बौद्धकरण गरिए । तैपनि तामाङ परम्परामा बोम्पो आज पर्यन्त चलिरहेको छ । तामाङमा मात्र नभएर अन्य जनजातिमा पनि ज्योतिषी चिना हेर्न, झारफुक गर्न, भूत मन्छाउन, बली तथा भाकल चढाउन र देवीदेवताको पूजा आरधना गर्न बोम्पोको प्रयोग आवश्यक छ ।

विद्वान लेखक स्वयम्बरसिंह लामाका अनुसार छैठौं शताब्दीको उत्तराद्र्धमा तिब्बतको तोन पा शेन् रब मिबोचेद्वारा स्थापित परम्परा नै बोम्पो पद्दति हो । पछि यसले धर्मको रुप लियो । डक्पा र शेपा मिबोचेले बोम्पो बनी थप शक्तिशाली मन्त्रको अध्ययन गरेका थिए । बोम्पोबारेमा नेपालीको ध्यान खासै देखिदैन तर विदेशी अनुसन्धाताहरूले प्रसस्त खोज अनुसन्धान गरेका छन् । बोम्पो धर्म र बौद्ध धर्मको अस्तित्व अलगअलग समानान्तर तरिकाले अगाडि बढेको पाइन्छ ।

युङद्ुङ बोनका अनुसार बोम्पो धर्म मध्य एसियाको ओम्लो लुङ्ग्रिङ ताजिङमा आज भन्दा अठार हजार वर्ष पहिले नै सुरु भएको पाइन्छ । यो युङ्द्रुङ गुत्सेग पर्वतको आसपासमा पर्दछ । त्यस बेला नै तोन पा शेन रब मिबोचेको कार्यलाई ख्याबा लाग्रिङले कडा चुनौती दिएका थिए । यहाँ सम्मकी किम्बदन्ती अनुसार सेले होइसेर नामको एक शक्ति सम्पन्न बोम्पो घाम छोएर फर्किने र त्यसपछि सबैले उनलाई मान्नु पर्ने सर्तमा उडेर घाम तर्फ लागे । साच्चै घाम छोइ फर्केमा लामाहरूमा विश्वास घट्न जाने हुनाले एक लामाले गोकुल धुपको धुवाँ उडाइ दियो । गोकुल धुप बोम्पोको सारथीलाई मन नपर्ने हुनाले त्यसको गन्धले सेले होइसेर बोम्पो पृथ्वीमा खसी मरे । अनी जन्म भर बोम्पो र मृत्यु कार्य लामाले गर्ने सर्तनामा भयो । बोम्पोलाई खासगरी लामाहरूको तर्फबाट बाधा गरेको पाइन्छ । गोले बोम्पोइ कथा, दुङ्सुर बोनकी कथा आदि तामाङ लोक कथाहरू अद्यपी प्रचलनमा छन् ।

तामाङ जातिमा बोम्पोलाई उच्च स्थान दिने गरिन्छ । अन्य मर्दा लामाले र लामा मर्दा बोम्पोले अन्तिम संस्कार गर्नुपर्ने प्रचलन अझै कतिपय तामाङ गाउँहरूमा रहेको छ । बोम्पोको सम्बन्धमा एउटा किम्बदन्ति ल्हप्सङकर्पो क्षेत्रमा प्रचलनमा रहेको छ । त्यस किम्बदन्ति अनुसार उहिले गुरु उकर््यन्पका दुई छोराहरू पृथ्वी लोकको विचरण गर्न आएछन् । उनीहरूलाई हरेक कुरामा निपुण बनाउने गुरुको योजना थियो । यहाँका दुःख, कष्टसँग परिचित गराउन चहान्थे । त्यही क्रममा दुबै जनालाई प्रतिष्पर्धी भावना विकास गराएछन् । छ्र्योई कण्ठष्थ पार्न निश्चित समय दिएछन् । दाई एकदमै दुःख गरेर कण्ठष्थ पार्न थालेछन् भाइचाहि डुल्दै फूलको सुगन्ध लिदै र रस चुस्दै हिडेछन् । अन्तमा दाइले पढेर पाठ बुझायो भने भाइले कष्ठष्थ सुनाए । त्यही बेलादेखि गुरु उकर््यन्पले दाइलाई पढेर संस्कार चलाउनु भनेछन् भने भाइलाई छ्योइबिना संस्कार चलाउनु भन्ने आदेश दिए । त्यही मुताविक दाइ लामा बने अनि भाइ बोम्पो बने ।

तामाङ जातिमा बोम्पोले जन्मपूर्वदेखि सुख शान्तिको लागि पूजा पाठ गर्ने गर्दछ । जन्मपूर्व नै स्हुङ बाध्ने, दुष्ट मसान देसान नलागोस भन्नाका खातिर देवी देवताको पूजा पाठ गर्ने, भूत मन्साउने गर्दछन् । जन्म पश्चात न्वारन गरी चोख्याउने, नामकरण गर्ने, छेवरमा (गोइला सङ्प) लुगा चोख्याउने, फप्पाको बेला फप्पा गर्ने र बेला बेलामा तन्त्र मन्त्र सहितको कोल्ला लगाइदिएर सधैको लागि उनले भर गरिरहेको हुनछ । यसर्थ एउटा बोम्पो एक व्यक्तिको लागि हरतरहले सबै समयको लागि रक्षक बनेर रहेको हुन्छ । त्यसरी नै जिन्ता (जजमान) हरुले उनलाई मान सम्मान गर्ने गर्दछन् ।

बोम्पोहरू यस संसारमा देवता मात्र छैनन् भूत पनि छन् भनी विश्वास गर्दछन् । मान्छेका मानवीय र दानवीय प्रवृत्ति झै संसारिक प्रकृया पनि उस्तै हुन्छन् । बोम्पो आफ्ना गुरुसँग लिएको ज्ञान कण्ठष्थ राख्दछन् । भूत प्रेतसँग बच्ने खतरनाक मन्त्र समेत कण्ठस्थ हुन्छ ।

बोम्पोलाई हिन्दुसँग नजिक गराउने प्रयास तिब्वतमा राजा खिस्रोङदेवचनको पालामा भारतीय विद्वान कमलशीलले गरेका थिए तर चिनियाँ विद्वान ह्वसङले बौद्धमार्गी बज्रयान भएको जिकिर गरें ।

यस सन्दर्भमा अनुसन्धानकर्ता बाबुराम फ्युवाका अनुसार “तामाङहरूको सृष्टि कसरी भयो भन्ने कुरामा एक रोचक पौराणिक कथा छ । ब्रह्मा, बिष्णु र महेश्वर तीन भाई तामाङहरूका पूर्खा थिए । ब्रह्मा बाहुनहरूका पूर्खा भए र बिष्णु क्षेत्रिहरूका पूर्खा भए । तामाङहरूका पूर्खा महेश्वरलाई चाहिं एउटा बनझाँक्रीले लगेर जङ्लमा लगेर पाल्यो रे । यस कथाले बाहुन, क्षत्री र तामाङ तीनै जातका पूर्खा एकै थिए भन्ने प्रचारको सङ्केत त दिन्छ ।” यसरी हेर्दा बोम्पोले हिन्दु र बौद्ध धर्मको एकिकृत रुप बोकेको पाइन्छ । अहिले बोम्पोको नौ बोन (प्रकार) पाइन्छ ।

बोम्पोहरू पकृति पुजक हुन् । यिनीहरूले प्रकृतिमा रहेका जल, वायु, रुखविरुवा आदिको पूजा गर्दछन् । गाउँको आसपासमा कुङ्कर बनाएर पुजापाठ गर्ने नजिकका पवित्र डाडाहरूमा तीर्थस्थल बनाइ विभिन्न अवसरमा तीर्थ जाने गर्दछन् । पाठ गर्दा सुरुमै सह्रीग्रङ्पा गर्ने गर्दछन् । सह्रीग्रङप भनेको वरीपरीका पवित्रस्थानहरुको स्मरण गर्नु हो । साथै पुस्ताको बपसा समेत फलाक्ने गरिन्छ, उइसमेसम्म । ती स्थानहरूमा कुन शक्ति छ त्यो समेत स्मरण गर्दछ । लिखित दस्तावेज विना नै आफ्नो संस्कार पूरा गर्दछन् । यस्तो हुँदा पनि फलाक्ने, मिप्सल, सङ्रप, ख्यारप आदि मिल्दछन् । बोम्पोहरू त्यसैले प्राकृतिक, सांस्कृतिक राजदूत पनि हुन् ।

बोम्पोले उपचारमा तन्त्र मन्त्रको प्रयोगको साथसाथै स्थानीय जटिबुटीको प्रयोग गर्दछन् । जटिबुटीको पहिचान गरी नाडी छामेको भरमा उपचार गर्दछन् । खरानी हातमा दलेर नाडीको धड्कनको आधारमा बोम्पोले रोगको कारण पत्ता लगाउदछन् । एलोपेथिक डक्टर जस्तो अरुले निर्माण गरेको औषधीको भरमा उपचार गर्दैनन् । उनीहरु आफै चिपा (तिथि) हेरी कसैलाई नभनी सुटुक्क जटिबुटी खोजन जान्छन् । कहिलेकाही यस्तो कार्य तिन दिनमा पनि सम्पन्न हुदैन । आफू जुठो भएमा यस्तो अवस्था हुने सत्यदेवीका एक बोम्पो जेनरोङ तामाङको अनुभव छ । औसीको रातमा खोलाको तीरतीर बत्ती नबाली हिडेको तैपनी आवश्यक बुटी नभेटाएको उनको स्मरण ताजै छ । खासमा गुरुले उनलाई परिपक्व बनाउन यसो गरिएको उनका गुरु हनुमान तामाङले बताए । केही निश्चित जटिबुटी निश्चित दिनमा मात्र देखिने ७९ वर्षीय नाब्रे बोम्पोले बताए । यस प्रकारले उनीहरु आफै बुटी बनाई विरामीको उपचार गर्ने गर्दछन् ।

बोम्पोले विरामीको सामान्य उपचार मात्रै हैन शल्यक्रिया गर्नुपर्ने समेत जडिबुटी, अनुभव र मन्त्रको भरमा फत्ते गर्दछन् । ब्युर्चेत गाउँका हिरावीर तामाङ फुटबल खेल्ने क्रममा तिघ्राको हाड भाच्चियो । तत्काल उपचारको लागि न त साधन र पहँुच थिया,े न त पैसा । आखिरमा दार्खा सल्लेरीका एक बोम्पोले ठीक गरे । न्यून खर्चमा गाउँमै उपचार भएको उनी सगर्व सुनाउछन् । त्यसले आर्थिक फाइदा हुनुका साथै स्थानीय जटिबुटीको प्रयोग पनि हने गर्दछ ।

अब्दुल बहाका अनुसार रोग दुई प्रकारका हुन्छन्, एक मानसिक र अर्को शारीरिक । मानसिक रोगलाई प्रार्थना, झारफुक, तन्त्र, मन्त्र र साधनाद्वारा ठीक गर्न सकिन्छ तर शारीरिक रोगलाई औषधी प्रयोग आवश्यक छ । बोम्पो यी दुई प्रकारकै रोगको लागि निपूर्ण हुन्छन् । तन्त्र मन्त्र र साधना पनि सिकेको हुन्छ भने जटिबुटीको पहिचान र प्रयोगमा पनि सिपालु हुन्छ ।

त्यसैले पहिले बोम्पोलाई देखाउने र निको नभएमा मात्र अस्पताल÷डाक्टरलाई देखाउने गरेको पाइन्छ भने कसै कसैले पहिले डाक्टरलाई देखाउने र निको नभएमा अथवा विरामीको आत्मसन्तुष्टिको लागि भएपनि बोम्पोलाई देखाउने गरेको पाइन्छ ।

बोम्पोलाई बोक्सीको उपचारक भनि सङ्कुचित परिभाषा दिएको पाइन्छ । वास्तवमा ती बोम्पोहरूले सामान्य रोगदेखि ठूला रोगसम्मलाई जडिबुटीको प्रयोगद्वारा सञ्चो पार्दछन् । केही बोम्पोहरूसँग विगत केही वर्षदेखि निकट सम्बन्ध राखी गरेको अध्ययन अनुसार यिनीहरूले तान्त्रिक शक्तिसँगै जडिबुटीको अत्यधिक प्रयोग गर्दछन् । अहिलेसम्म शहरमा रोग पत्ता लाग्न नसकेको विकार पेटमा जमेमा एलोपेथिक पद्दति निकम्मा भएको अवस्थामा पनि बोम्पोले ठीक पारेको प्रसस्त उदाहरणहरु छन् । त्यसैले यिनीहरु प्राकृतिक उपचारक हुन् ।

बोम्पोसँग रहेका कतिपय अन्धविश्वासी कर्मकाण्डहरूलाई त्यागेर असल कर्मको अनुसरण गरिनु आवश्यक छ । अझ प्राकृतिक जटिबुटी प्रयोग गर्ने मौलिक आम्ची कला हामी सबैले सिक्नु जरुरी छ । त्यसले जटिबुटीको सही प्रयोगका साथै आर्थिक उपार्जन समेत हुन सक्दछ । बेलैमा चेतना भर्नु पर्दछ । बोम्पो (बोन्पो) फाउन्डेसनले यसबारेमा थप अध्ययन र अनुसन्धान गरिरहेको छ ।

(लेखक गोपाल फ्युवा तामाङ एक दशकदेखि ल्हाप्साङकर्पो क्षेत्रका तामाङ लोक साहित्यका खोज अनुसन्धान गरिरहनु भएका अध्यता हुन् ।)