ऐतिहासिक धार्मिक क्षेत्र अम्लेश्वर महादेव मन्दिर परिसरमा वृक्षारोपण

1619 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

केशव अधिकारी
धादिङ,१४ साउन ः धादिङको बैरेनी गाविसको वडा नम्बर ९ महेशदोभानमा रहेको धार्मिक स्थल अम्लेश्वर महादेव मन्दिर क्षेत्र संरक्षणका लागि स्थानीयवासी जुटेका छन ।
धार्मिक,सांस्कृतिक एवम पर्यटकीय महत्व वोकेको अम्लेश्वर महादेव मन्दिर क्षेत्र केही बर्ष देखि चौतर्फि अतिक्रमणमा पर्न थालेपछि स्थानीयवासीले अम्लेश्वर महादेव मन्दिर संरक्षण समितिको गठन गरी संरक्षणमा लागेका हुन ।
मन्दिर क्षेत्रको वाताबरण संरक्षण गर्न नेपाली सेनाको ६ नम्बर वाहिनी अड्डा बैरेनी र मन्दिर संरक्षण समितिको सहकार्यमा बुधवार वृक्षारोपण गरिएको छ । वाहिनी पती प्रभुराम शर्माको प्रमुख आतिथ्यमा भएको वृक्षारोपण कार्यक्रममा स्थानीय राजनैतिक दलका प्रतिनिधि, सामाजिक कार्यकर्ताहरुको समेत सहभागिता रहेको थियो । मन्दिर क्षेत्रमा ४ सय भन्दा बढी विभिन्न प्रजातीका विरुवाहरु रोपिएको वताईएको छ ।
धार्मिक, सांस्कृतिक एवम पर्यटकीय महत्व बोकेको अम्लेश्वर महादेव मन्दिर क्षेत्रको पहिचान जोगाउन मन्दिर क्षेत्रमा वृक्षारोपण गरी संरक्षणको थालनी गरिएको समितिका अध्यक्ष भिमसेन पाण्डेले वताउनु भयो ।
पृथ्वीराजमार्ग र त्रिशूली नदीको किनारमा रहेको अम्लेश्वर महादेव मन्दिर पृथ्वीनारायण शाह नुवाकोटमा विजय हासिल गरेर गोरखा फर्कने क्रममा नदी छेउको चौतारामा वासवस्दा सपनामा महादेव भगावानले पृथ्वीनारायण शाहलाई थप विजयको आर्शिवाद दिाएपछि सो स्थानमा मन्दिर निर्माण गरिएको जनविश्वास छ । काठमाण्डौं वाट ५० किलोमिटरको दुरीमा रहेको मन्दिर परिसर केही बर्ष अघि सम्म चलचित्र सुटिङ, पिकनिक स्पट,त्रिशूली नदीमा जलयात्राको प्रस्थान विन्दुका रुपमा प्रयोग हुंदै आएकोमा अहिले चौतर्फि अतिक्रमणमा परेर संकटमा पर्न थालेपछि संरक्षणका लागि पहल गर्नु परेको समितिले जनाएको छ ।
अम्लेश्वर महादेव मन्दिरमा हरेक बर्ष जनै पूर्णिमा,हरितालिका, ऋषि पञ्चमी,ठूलो एकादशी,शिवरात्री लगायतका दिनमा मेला लाग्ने गर्दछ ।