पार्टीको नीति अनुसार नै भट्टराई पक्षलाई कारबाहीः पासाङ

737 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

123धादिङ, २०,साउन – एकीकृत नेकपा माओवादी स्थायी समिति सदस्य नन्दकिशोर पुन ‘पासाङ’ले वरिष्ठ नेता डा बाबुराम भट्टराई पक्षका नेतालाई पार्टी नीति अनुरुप नै कारबाही गरिएको बताउनुभएको छ ।

प्रशिक्षणका लागि मंगलबार धादिङबेशी पुगेका पुनले पत्रकारसँग कुरागर्दै पार्टी नीतिविपरीत गतिविधि गर्ने जोकोहीलाई कारबाही हुने चेतावनी दिनुभयो ।

पार्टीमा गुटबन्दी गर्दै जिल्ला जिल्लामा समानान्तर कमिटी बनाउँदै हिँड्ने केन्द्रीय नेतालाई कारबाही हुने उहाँको भनाइ छ ।

‘स्पष्टीकरणपछि पार्टीको नीतिअनुसार नै कारबाही गरिएको हो,’ पुनले भन्नुभयो, ‘पार्टी पद्धतिमा नचले जोकोहीलाई पनि कारबाही हुन्छ ।’

स्थायी समितिबाट हटाइएका टोपबहादुर रायमाझी र देवेन्द्र पौडेलको ठाँउमा केन्द्रीय समितिमा छलफल गरेर अन्यलाई ल्याउने या पुरानैलाई कायम गर्ने भन्ने बिषयमा निर्णय नभइसकेको उहाँको भनाइ छ ।

भट्टराई पक्ष अनुपस्थित एमाओवादी स्थायी कमिटीको बैठकले सोमबार पार्टी नीतिविपरीत काम गरेको भन्दै नेताद्वय गंगा श्रेष्ठ र रामरिझन यादवलाई एक महिनाको लागि केन्द्रीय सदस्यबाट निलम्बन गरेको थियो । यस्तै टोपबहादुर रायमाझीलाई सचिव पदबाट हटाएको थियो ।