अम्लेश्वरमा जनैपूर्णिमको मेला सम्पन्न

636 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

SAM_4050धादिङ,२५ साउन ः धादिङको बैरेनी स्थित पवित्र धार्मिक स्थल अम्लेश्वर महादेवको मन्दिरमा जनै पूर्णिमाको अवसरमा लागेको मेला सम्पन्न भएको छ ।
गोसाईकुण्डको त्रिशूलधारावाट वग्दै आएको त्रिशूली नदीको किनारमा रहेको अम्लेश्वर महादेवको मन्दिरमा हरेक वर्ष जनैपूर्णिमाको दिन मेला लाग्ने गर्दछ । धादिङ जिल्लाका विभिन्न स्थानका साथै छिमेकी जिल्ला नुवाकोट, चितवन, मकवानपुर, गोरखा लगायतका जिल्लावाट समेत मेला भर्न  दशनार्थीहरु आउने गर्दछन ।
धार्मिक एवम सांस्कृतिक महत्वलाई जोगाई राख्न अम्लेश्वर मन्दिर संरक्षण समिति र स्थानीय भीमेश्वर कृषि सहकारी संस्थाले मेलाको अवसरमा भजन किर्तनको आयोजना गरेको थियो । आईतवार विहानै देखि मेला भर्न आएका दर्शनार्थीले त्रिशूली नदीमा जलस्नान गर्नुका साथै धार्मिक विधि अनुसार जनै र रक्षावन्धन लगाएका थिए । त्रिशूली नदीको उदगमस्थल गोसाईकुण्डमा जनैपूर्णिमाका वेला लाग्ने मेलामा पुग्न नसक्नेहरुले महेशदोभान स्थित अम्लेश्वर महादेवको मन्दिरको दर्शन गरी त्रिशूली नदीमा स्नान गर्नाले जिवनमा गरिएका पाप मोचन हुनुका साथै पित्तृहरुले मुक्ति मिल्ने जनविश्वास रहेको स्थानीय पण्डित हरिप्रसाद रिमालको भनाई छ ।
महेशखोला र त्रिशूली नदीको संगमस्थल भएकाले यस स्थानलाई महेशदोभान भनिएपनि एक सय बर्ष अघि बैरेनी गाविसको वडा नम्बर ८ स्थित गल्छिकाटेर महेशखोला त्रिशूली नदीमा मिसाईएपनि यस क्षेत्रको नाम अहिले पनि महेशदोभाननै प्रचलित छ । पृथ्वीनारायण शाह नुवाकोटमा विजय हासिल गरेर गोरखा फर्कनेक्रममा वास बसेको वेला सपनामा आएर महादेवले थप राज्य विजयको आर्शिवाद दिएकाले सोही वेलामा यस मन्दिरको निर्माण गरिएको जनविश्वास छ ।
हरेक बर्षको जनैपूर्णिमा, हरितालिका,ऋषिपञ्चमी, ठुलो एकादशी,शिवरात्री जस्ता पर्वहरुमा यस मन्दिरमा मेला लाग्ने गर्दछ । मन्दिर क्षेत्रलाई धार्मिक पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न मन्दिर संरक्षण समितिले संरक्षणका विभिन्न कार्यहरु गर्दै आईरहेको भएपनि मन्दिर क्षेत्रको जमिन अतिक्रमणमा पर्दै आईरहेको छ ।