धादिङको सडक र  त्रिशूली नदीलाई अव जोगाउने की ?

881 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

                                                                                                                                                                                                                                                                               –  केशव अधिकारी

SAM_3868पृथ्वीराजमार्गमा पर्ने बैरेनी गाविसको वडा नम्बर ९ महेशदोभान देखि गल्छि सम्मको सडक छेउमा एक दशक अघि सम्म मौसम अनुसारका खेतीवाली हुने गर्दथे । सडकमा पैदल हिंडदा होस या सवारी साधनमा  यात्रा गर्दा सडक छेउको दृष्यले धेरैको मन लोभ्याउने गर्दथ्यो । एक दशक यता त्यहि ठाउं सबैभन्दा बढी प्रदुषित र सबैको लागि समस्या बनेर देखापरेको छ । सडक छेउमा खेतीवाली होइन, सदावहार वालुवाको थुप्रो लाग्ने गर्दछ । धान फल्ने खेतमा वालुवा फलाएर धेरैले आफ्नो जिवन निर्वाह मात्र गरेका छैनन । वाताबरणिय प्रदुषण फैलाउनुका साथै गैरकानूनी उत्खनन गराएर प्राकृतिक श्रोतमा कव्जा जमाउन सफल भएका छन । धादिङ जिल्लाको बैरेनीवजार क्षेत्र त एउटा उदाहरण मात्र हो । राजमार्गको धादिङ खण्डका  अधिकांश बस्तीमा वालुवा,ढुङ्गाको उत्खनन गर्ने कार्यले निकै प्रश्रय पाउंदै गईरहेको भएपनि यस्को रोकथाम गराउने तर्फ जिल्लाका प्रशासन र प्रहरी असफल हुंदै आईरहेका छन । नदी र खोलामा पसेर जथाभावी वालुवा उत्खनन गर्ने स्काभेटर कहिले काँही  प्रहरीले नियन्त्रणमा लिएपनि राजनैतिक तथा अन्य शक्ति केन्द्रको आडमा ति स्काभेटर तत्काल छुट्ने गरेका छन ।
धादिङ जिल्लाको पृथ्वीराजमार्गको आसपासका क्षेत्र,त्रिशूली तथा अन्य नदीमा  पर्यावरणको समस्या दिनदिनै गम्भीर बन्दै गएको छ । यसक्षेत्रमा  कृषि योग्य जमीनको विनाश, हावापानीमा बढ्दो प्रदूषण, ओजनको विनाश आदिको असर परिरहेको छ । त्रिशूली नदी हिउँद होस या बर्षा सँधैभरी हिलाम्मे भएर बगिरहेको हुन्छ । नदीको स्वच्छता घट्दै गइरहेको छ । राजमार्ग र नदी आसपासका क्षेत्रमा बर्षेनी वाढी, पहिरो बढ्दै गइरहेका छन् । त्रिशूली नदी पहिलेको तुलनामा कैयौं गुणा बढी सुकेर जानुका साथै पानी पनि फोहर भएको छ । तर यस तर्फ धेरैको ध्यान पुग्न सकेको छैन । अहिले जति आवाज उठिरहेको छ त्यसलाई अझै शशक्त बनाउनु जरुरी छ ।
राजमार्ग र नदी छेउछाउमा बढ्दै गएको अतिक्रमण रोकिन नसकेपछि यस्को प्रभाव अव गाउंतिर पनि पर्न थालेको छ । गाउंमा सडक निर्माणका नाममा वन जंगलको विनास हुनेक्रम बढिरहेको छ । सडक निर्माणका नाममा मात्र होइन गाउं विकासका लागि भन्दै सामुदायिक वन गैरकानूनी ढ्रंगवाट  विनासगर्ने क्रम बढीरहेको छ । भविष्यका लागि केही नसोची तत्काल हातमा नगद पर्ने भएपछि वन विनासमा स्थानीय समुदायले पनि साथ दिंदै आईरहेका छन । यस्को पछिल्लो उदाहरण बनेको छ गजुरी गाविसको राक्सिङ स्थित सामुदायिक वन । राक्सिङको वन विनास गरेर आएको रकम कसरी चलाउने भन्ने बिषयमा यहांका स्थानीयवासी बिच पटक पटक झगडा भईसकेको छ । गाउंको काठ बिक्री गरिएकाले गाउंमै सडक वनाउनुपर्छ भन्दै गाउंमा डोजर नचाएर गाउंलेले दुई लाख रुपैया गाउंवाट वाहिर पठाउन पहल गरिरहेका छन । एक वर्ष अघि देखि गाउंवासी बिच काठ बिक्रि गरेर आएको रकम कसरी सिध्याउने भन्ने बिषयमा पक्ष विपक्ष चल्दै आएको छ ।
वन विनाश,ढुङ्गा तथा वालुवा उत्खनन जस्ता कारणले पर्यावरणमा परेको असर रोक्न पहल गर्नुपर्ने सरकारी निकाय जिल्ला विकास समिति हरेक बर्ष जिल्लाको आम्दानी घटेको भन्दै घुमाउरो वाटोवाट ढुङ्गा वालुवा उत्खनन भईरहोस भन्नेमा देखिन्छ । पर्यावरण विनाशवाट हुने असरका कारण मानव जातिमा पर्न सक्ने प्रभाव न्युनिकरणका लागि  अहिले विश्वव्यापी रुपमा नै प्रयत्न भइरहेका छन् ,आन्दोलन चलिरहेका छन् । धादिङमा पनि  केही संघ संस्थाहरुले अभियान चलाईरहेका छन् । राजनीतिक दल वा संगठनहरुको भने यसतर्फ पर्याप्त ध्यान गएको पाइन्न । पर्यावरणका क्षेत्रमा धादिङमा देखिएको समस्या राष्ट्रिय तथा अन्र्तराष्ट्रिय महत्वको भएपनि धेरैले यसवाट हरेक व्यक्तिलाई समस्या पर्दछ भन्ने बुझ्न सकेका छैनन या लोभलाचमा फसेका छन त्यो उनिहरुलाई नै जानकारी हुनुपर्दछ ।
धादिङ जिल्लाको जस्तै पर्यावरण विनासका समस्या देशका अन्य जिल्लामा पनि देखिएका छन । यहि कारण देशका धेरै ठाउंमा  वातावरण संरक्षणका लागि आवाज उठिरहेको छ । पूर्वी नेपालका विभिन्न जिल्लाहरुमा बालुवा, गिट्टी, ढुंगा आदिको निकासीका विरुद्ध आन्दोलन, काठमाडौंमा गोदावरीको पर्यावरण आन्दोलन, अर्घाखाँचीको चूनढुंगाको उत्खननका विरुद्धको आन्दोलन,वागमती बचाउ आन्दोलन  धादिङको अभियान संग मिल्दोजुध्दो देखिन्छ । अवका दिनमा धादिङका अभियानकर्ताहरुले ति जिल्लाका अभियानकर्मीहरु संग मिलेर राष्ट्रिय अभियान चलाउनु पर्दछ ।
केही बर्ष अघि सम्म जतिबेला पनि पिउन सकिने त्रिशूली नदीको पानी अहिले हातमा राख्न पनि घिन लाग्दो भईसकेको छ । सडक छेउमा हिंडदा वालुवाको कारण दुर्घटना भएर अकालमै ज्यान गुमाउनेहरुको सँख्या बढिरहेको छ,बिद्यालय जाने वालवालिका सडकछेउवाट हिंड्नै सक्दैनन,सडक सम्म थुपारिएको वालुवका कारण पैदलमार्ग समेत प्रभावित भएको छ । सडक भन्दा माथि तिर अवैध रुपमा चलाईएका खानीका कारण सडकमा पहिरो खस्ने,लेदो माटो जम्ने समस्या अव नौलो रहेन । आम सर्वसाधरण मानिसले पिउने पानी र जीवनका लागि नभइनहुने हावा समेत प्रदूषित हुँदै गइरहेको छ भने ओजन तहको पनि विनाश हुँदै गइरहेको छ । जिल्लाको आयआर्जनका लागि भन्दै विनासका कार्यलाई प्रोत्साहन गर्ने जिल्ला विकास समितिले अव बेलैमा सोच्नुपर्दछ । नेपाल इतिहासमा पहिलो पटक जलयात्राको शुरुवात भएको त्रिशूली नदीलाई प्रदुषित हुनवाट रोक्ने हो अहिले वालुवा तस्करीवाट भन्दा जलयात्रा वाट जिल्लाले धेरै आम्दानी लिन सक्नेछ ।