स्तरबृद्धिको पखाईमा धादिङ जिल्ला अस्पताल

2433 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

केशव अधिकारी
SAM_4239धादिङ-ग्रामीण क्षेत्रका जनताको स्वास्थ्य सेवामा सहज पहुँच पुर्याउन धादिङ जिल्लाको एक मात्र सरकारी अस्पतालको स्तर बृद्धिका लागि गरिएको पहल निरर्थक वन्दै गएको छ ।
धादिङ जिल्लाको सदरमुकाम धादिङबेसीमा रहेको १५ शैय्याको जिल्ला अस्पताललाई ५० शैय्याको वनाउन आर्थिक बर्ष २०६९÷७० को शुरुवात देखि पहल शुरु गरेपनि अहिले सम्म निर्णय कार्यान्यवन हुन सकेको छैन । अस्पतालको स्तरबृद्धिका लागि आवश्यक भौतिक पुर्वाधार तयार पार्न (जर्मन प्राविधिक संस्था जिटिजेड)ले पटक पटक चासो देखाएपनि स्वास्थ्य मन्त्रालयले जिल्ला अस्पतालको स्तरबृद्धिको स्विकृति नदिंदा नयां भवनको निर्माण कार्य अघि बढ्न नसकेको जिल्ला अस्पताल श्रोतले जनाएको छ । जिटिजेडको आर्थिक तथा प्राविधिक सहयोगमा अस्पतालको अहिले संचालनमा रहेको नयां भवन दुई बर्ष अघि चार करोडको लागतमा निर्माण सम्पन्न भएको हो ।
अस्पतालको अहिलेको भवनवाटै तत्कालका लागि ५० शैय्याको अस्पताल संचालन गर्न सकिने र थप पुर्वाधारहरु निर्माणका लागि सहयोगी निकायले चासो दिईसकेकाले मन्त्रालयले अस्पतालको स्तरबृद्धिको निर्णय गरिदिए जिल्लावासीले सहज स्वास्थ्य सेवा पाउने स्वास्थ्यकर्मीहरुको भनाई छ । अस्पतालमा अहिले जटिल प्रक्रियाको शल्यक्रियाका विरामी आएमा तत्काल काठमाण्डौं या चितवन पठाउनु पर्ने वाध्यता रहेको स्वास्थ्यकर्मीहरु बताउंछन ।
अस्पतालको स्तर वृद्धि गर्नका लागि जिल्ला अस्पताल सहयोग समितिले माग गरेपछि स्वास्थ्य मन्त्रालयले प्राविधिक टोली खटाई एक वर्षअघिनै अस्पतालको संगठन तथा व्यवस्थापन सर्भेक्षण (ओएण्ड एम सर्भे) सम्पन्न गरको थियो । ओएण्ड एण्ड एम सर्भे गरिएको प्रतिवेदन लामो समय सम्म स्वास्थ्य मन्त्रालयको कर्मचारी प्रशासन महाशाखा र आर्थिक प्रशासन महाशाखामा नपुगेपछि अस्पतालको स्तरबृद्धि गर्ने बिषयमा छलफल हुन नसकेको जिल्ला स्वास्थ्य कार्यालयका एक कर्मचारीले वताए ।
जिल्ला स्वास्थ्य कार्यालय धादिङ र अन्य सरोकारवाला निकायको चासो पछि जिल्ला अस्पतालको ओएण्ड एम सर्भे गरिएको प्रतिवेदन केही दिन अघि मात्रै स्वास्थ्य मन्त्रालयको कर्मचारी प्रशासन महाशाखा प्रमुख केदारवहादुर अधिकारी समक्ष पेश भएको वताईएको छ । महाशाखा प्रमुख अधिकारीले आंफुले भर्खरै मात्र धादिङ जिल्ला अस्पतालको स्तरबृद्धिका लागि गरिएको ओएण्ड एम सर्भेको फाईल पाएको स्विकार गर्नु भएको छ । फाईल भर्खरै मात्र टेवलमा आईपुगेको छ, अध्ययन पश्चात माथिल्लो निकायमा पठाउने छु– महाशाखा प्रमुख अधिकारीले जानकारी दिनु भयो ।
स्वास्थ्य मन्त्रालयवाट खटिएको प्राविधिक टोलीले समयमै सर्भे गरेपनि सर्भेक्षण फाईल महाशाखामा नबुझाएका कारण अस्पतालको स्तरबृद्धिको निर्णय हुन नसकेको जिल्ला स्वास्थ्य कार्यालय धादिङका बरिष्ठ जनस्वास्थ्य प्रशासक मोहम्मद दाउद बताउनुहुन्छ । धादिङ जिल्ला अस्पतालसंगै जिल्लाको सल्यानटारमा रहेको प्र्राथमिक स्वास्थ्य केन्द्रलाई ३ बाट १५ शैय्याको वनाउन र मैदी स्वास्थ्य चौकीलाई प्राथमिक स्वास्थ्य केन्द्रमा स्तर बृद्धि गरिदिन जिल्ला स्वास्थ्य कार्यालयले आग्रह गरेको र सोही अनुसार ओएण्ड एम सर्भे भएर पनि निर्णय प्रक्रिया अघि बढ्न नसकेको दाउदले वताउनु भयो ।
धादिङमा अहिले सरकारी स्तरमा जिल्ला अस्पताल १,प्राथमिक स्वास्थ्य केन्द्र २,स्वास्थ्य चौकी ३३,उपस्वास्थ्य चौकी १६,खोप क्लिनिक २२५, गाउंघर क्लिनिक १९१ र महिला स्वास्थ्य स्वयमसेविका ४६३ जना मार्फत स्वास्थ्य सेवा प्रवाह हुंदै आईरहेको छ ।यसैगरी निजी क्षेत्रबाट करिव एक दर्जन अस्पताल र पोलिक्निनिक संचालनमा रहेका छन ।