तीजको लहर आयो वरिलै………..

709 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

सरिता श्रेष्ठ,

timthumbतीजको लहर आयो वरिलै 

गाँउ सहर घुमेर दिदी र बहिनी

नाचौँ न मिलेर नाम लिएर

यस वर्षको तीजले नेपाली महिलाहरुलाई स्वागत गरिसकेको छ । बजारमा आएका नयाँ नयाँ गीत संगीतहरु, थर थरीका पहिरन, दर खाने कार्यक्रमले पनि तीजको रौनकतालाई अझ बढी हौसाएको छ । सहरी बजारमा मात्र होइन यसले गाँउ घरमा पनि छुट्टै रौनकता भित्रयाएको छ । हरेक वर्षको भाद्र शुक्ल तृतीयाका दिन नेपाली महिलाहरुले तिजलाई हर्ष उल्लासका साथ मनाउने गर्दछ ।

तीज कहिले र किन मनाइने भन्ने यकिन तथ्य थाहा नभए पनि हरेक वर्ष महिलाहरु यसै समयमा तीजालाई मुख्य चाडको रुपमा अपनाई मनाउने गरको पाइन्छ । हिमालयकी शुपुत्री पार्वतीले भगवान् शीवजीलाई पतिका रुपमा प्राप्त गर्न निराहर व्रत बसेकी थिइन्् । पानी पनि नखाई निराहर व्रत बसेर शीवजीलाई पाएको सम्झनामा हरेक वर्ष नेपाली महिलाहरु शीवजी जस्तै पति पाउन तीजमा व्रत बस्ने गर्दछन् । विशेषगरी अविवाहिताहरु शीवजी जस्तै पति पाउने आशमा व्रत बस्ने गर्दछ भने विवाहिताहरु आफ्नो पतिको दिर्घायु, सुरक्षा, शुस्वास्थ्य एवम् सन्तानको सुखको कामना गर्दै व्रत बस्ने गर्दछ ।

महिलाहरुको मात्र एकल चाड मानिने तीजमा महिलाहरु एकसुत्रमा बाँधिएर दुखसुखका वेदनालाई  विर्सिएर हाँसो, खुसीमा रम्ने गर्दछ । टाढा टाढा रहेका दिदी बहिनी, आमा, भाउजू नन्द, आमाजू लगायत आफन्तजनहरुसँग भेटघाटको सुनौलो अवसर महिलाहरुले यसै बेला पाउने गर्छन । आफ्ना मनका वहहरुलाई एक आपसमा साटफेर गर्ने मौका पनि यसै समयमा हुने गर्दछ । यसले सारा नेपाली महिलाहरुमा खुसीयालीको आगमन पैदा भएको महसूस गर्न सकिन्छ ।

तीज पर्वलाई विभिन्न समुदायहरुले आ–आफ्नै शैलीमा मनाउने गरेको पाइन्छ । कसैले टाढा रहेका दिदी बहिनीलाई माइती पक्षले दिन जाने चलन छ भने कतै श्रीमान। तथा घरपरिवारसँग नै मिलेर तीज पर्व मनाउने गरेको पाइन्छ । माइती पक्षबाट छोरीलाई दर पठाउने प्रचलन पनि रहेको छ । यस दिन नजिकै रहेका शीवको मन्दिर तथा शिवालयहरुमा पूजा गर्ने चलन छ । तीजमा महिलाहरुले लगाउने पहिरन तथा गरगहनाको पनि आफ्नो छुट्टै मौलिक संस्कार तथा संस्कृति रहेको छ । तीजको दिन लगाइने रातो साडी सुख, समृद्धि एव् साहसको प्रतिक मानिन्छ । 

रातो रंगलाई सौभाग्यको प्रतिकको रुपमा चिनिन्छ । रातो रंगले महिलाहरुलाई शक्ति प्रदान गर्ने धार्मिक विश्वास रहि आएको छ । पोतेले महिलाहरुलाई शान्ति र आनन्द प्रदान गर्दछ । चुराले एक सुत्रमा बाँध्ने काम गर्दछ । सोह्र श्रृंगार गर्दा आफूलाई छुट्टै आनन्द मिल्ने र विवाहको दिनको सम्झना दिलाइदिने धारणा छ । र तीजमा व्रत बस्दा महिलाहरुमा  आपसी सद्भावको पाठ सिक्ने मौका पाउँछ ।  

आपसी प्रेम बढाउने यो पर्वमा तीजको अघिल्लो दिन १२ बजेर उठेर दर खाने चलन छ । तीजका दिन निराहर व्रत बसी नाचगान गर्ने भएकाले तीजको अघिल्लो दिनमा दर खाने प्रचलन रहेको हो । त्यस्तै तीजको दिन बिहानै उठेर नुहाई धुवाई गरी चोखो बस्ने गर्दछ । अनि राता पहिरन, चुरा, पोते तथा गरगहनामा सजिएर नजिकै रहेको  शीवको मन्दिरहरुमा पूज ागर्न जाने चलन छ । यस दिन शीवका मन्दिरहरुमा पूज ागर्ने महिलाहरुको ठूलो घूइँचो लाग्ने गर्दछ । दिउँसो भरी तीजका गीतसंगीतमा नाचगाना गरी रमाइलो गर्ने प्रचलन चलि आएको छ ।

तीजको चौथीका दिन स्नान गरी पारायण व्रत गरेपछि खाना खानुपर्छ । त्यस्तै तेस्रो दिन ऋषि पञ्चमीका दिन व्रतालु महिलाहरुले ३ सय ६५ वटा दतिवनले दाँत माझेर माटो लेपन गरी स्नाना गर्ने गर्दछ । यसले शरीरमा भएका रोगहरुलाई केहि मात्रामा कमी गर्छ भन्ने प्रचलन छ । पञ्चमीका दिन अरुन्धती सहित कश्यप, अत्रि, भारद्धाज, विश्वामित्र, गौतम, जगदग्नि तथा वरिष्ठ ऋषिको पूजा गरी हलोले नजोतेको अन्नको भात कर्कलाको तरकारीसँग खानुपर्छ । यो दिनमा आफ्नो श्रीमानको हातबाट बनाएको परिकार खाँदा आपसी सद्भाव, माया एवम् सद्भाव बढ्ने धार्मिक विश्वास गरिन्छ ।

पहिले देखि चलिआएको संस्कृति परम्परालाई हामीले जोगाई राख्नुपर्छ तीजमा महिलाहरु आफ्ना सारा कुराहरुलाई विर्सीएर रमाइलो गर्छन् । महिलाहरुले लगाउने रातो, पहेलो, हरियो एवम् रंगविरङगी सजिएर रमइलो गर्दा वातावरण नै रमणिय भएको आभास गर्न सकिन्छ । तीजको उल्लास एवम् उमंगमा हरेक महिलाहरु खुसी हुन्छन् जीवनका सारा दुख र वेदनालाई विर्सन्छन् । तीजमा महिलाहरु व्रत बस्नु भावनाका अतिरिक्त रचनात्मक पनि बनेको छ । त्यस्तै आधुनिकताको पर्याय पनि बनेको छ । श्रीमान्प्रतिको प्रगाढ माया, स्नेह र पारिवारीक सुखका निम्ति महिलाहरु विभिन्न चाडपर्वको अवसरमा व्रत बस्ने गर्दछ । वर्षको एक दिन दिएको यो व्रतले ३ सय ६४ दिनसम्म मिलेर बस्ने धैर्य प्रदान गर्दछ ।

पछिल्लो समय तीजका नाममा महिलाहरुले आफ्नो संस्कृतिलाई भुल्न गएको छ । तीज आउनु महिनै अगावै दर खाने कार्यक्रमको आयोजना गरि संस्कृतिलाई भाडभैलोको उपमा दिएको छ । यसले सारा नेपालीमा नैरास्यताको भाव उत्पन्न गराएको छ । त्यस्तै तीजका दिन गरगहना, पहिरनहरुको प्रर्दशन गर्ने, अर्काको देखासिखि गरी परिवारलाई आर्थिक भार बोकाउने गरेको पाइन्छ । यो संस्कृति प्रतिको अपहेलना हो । यसमा महिलाहरुले पनि विशेष ध्यान दिनु आवश्यक छ । चाडपर्वका नाममा अनेक विकृतिले भाबी पुस्तामा हुन सक्ने विभेदलाई महिलाहरुले कदापी भुल्नु हुन्न । तीज महिलाहरुको मात्र चाडको रुपमा चिनिन्छ । तर पनि बजारमा आएका हरेक तीजका गीतहरुमा पुरुषको आवाज सुन्न पाउँछौँ । तीजका नाममा अनेक थरी गीत संगीतले समाज प्रति भएको सामाजिक, धार्मिक एवम् साँस्कृतिक परम्परा तोडिन कुनै समय लाग्दैन । महिलाहरुले मनाउने विशेष चाडको छुट्टै महत्व भएपनि अनावश्यक गीतहरुले तीजलाई भड्किलो बनाएको अनुमान लगाउन सकिन्छ ।  अनेक प्रकारका शब्द चयनका गीतहरुले तीजलाई नकरात्मकतामा ढालेको छ । बजारमा आएका त्यस्ता गीतहरुलाई महिलाहरुले ठूलो ठूलो क्यासेटमा बजाएर नाच्ने गर्दछ ।

तीजमा महिलाहरु पानी पनि नखाई निराहर व्रत बस्ने गर्दछ । यो आफैमा गलत कुरा हो । महिलाहरुले आफ्नो स्वास्थ्यलाई पनि ध्यानमा राखेर तीजमा व्रत बस्नु पर्छ । भौकै बसेर मात्र धर्म हुदैन । त्यसैले व्रत बस्दा पानी, फलफूल खादा धर्मका नाममा अपहोलन हुदैन । यी विविध कुराहरुलाई महिलाहरुले सुधारका बाटाहरु अपनाउनुपर्छ  । समाजमा पर्ने असरप्रति महिलाहरुले पनि ध्यान दिनु जरुरी छ । आफ्नो मौलिक संस्कृति, सामाजिक मूल्य र मान्यतालाई जोगाएर राख्नु सम्पूर्ण महिलाहरुको अहोभाग्य हो । परिवर्तन प्राकृतिक नियम भएकाले यसलाई कसैले रोक्न सक्दैन तर पनि यस्ता कुराहरुमा महिलाहरुले पनि सीमारेखा खिच्न जान्नुपर्छ ।

सम्पूर्ण नेपाली दिदी बहिनीहरुमा तीजको शुभकामना………