न्यू डायमण्डद्वारा राष्ट्रिय भलिबल प्रतियोगिताको उपाधि रक्षा

617 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

विजय नेपाल /पोखरा
new diamaond cupसाविक विजेता न्यू डायमण्ड एकेडेमीले पोखराको लामाचौरमा आयोजित राष्ट्रियस्तरको महिला भलिबल प्रतियोगिताको उपाधि रक्षा गरेको छ ।
तीजको अवसरमा स्थानीय नवआदर्श सामुदायिक विकास समाजले १८ औं वार्षिकोत्सवमा आयोजना गरेको हरितालिका तीज महोत्सव एवं राष्ट्रिय महिला भलिबल प्रतियोगितामा न्यू डायमण्डले उपाधिसहित नगद ५० हजार साथमा ट्रफी जितेको हो ।
लामाचौरमा बिहीबार सम्पन्न फाइनलमा चिरपरिचित प्रतिद्वन्द्वी सशस्त्र प्रहरी बल (एपीएफ) को टीमलाई ३–१ को सेटमा पराजित गर्दा उसले २२–२५, २५–२१, २५–२३ र २५–११ को स्कोर निकालेको हो । उपविजेता एपीएफले ट्रफीसहित ३० हजार हात पार्यो ।
प्रतियोगितामा नेपाल प्रहरी तेस्रो भयो भने पश्चिमाञ्चल भलिबल संघको टीम चौथो भयो । तेस्रो स्थानको लागि भएको खेलमा प्रहरीले पश्चिमाञ्चललाई २५–१७, २५–१९ र २५–२१ को सोझो सेटमा पराजित गर्न सफल भएको थियो । उनीहरुले क्रमशः १५ हजार रा १० हजार साथमा ट्रफी प्राप्त गरे ।
न्यू डायमण्डले विधागतरुपमा ३ उपाधि भित्रायो । उत्कृष्ट खेलाडीको रुपमा न्यू डायमण्डकी प्रतिभा माली घोषित हुँदै मोवाइल सेट जितिन् भने वेष्ट स्पाइकर रमिला तण्डुकार र सर्भर कृपा अधिकारी घोषित भइन् । पश्चिमाञ्चलकी मनिषा चौधरी वेष्ट ब्लकर, नेपाल प्रहरीकी कमला पुन वेष्ट डिफेण्डर र वेष्ट सेटर एपीएफकी विनिता बुढाथोकी घोषित भइन् ।
खेलाडीहरुको मेहनतले यसपालि पनि उपाधि जित्न सकिएको भन्दै न्यू डायमण्डका प्रशिक्षक कुमार राईले खुशी व्यक्त गरे । ३ दिनसम्म चलेको प्रतियोगितामा ६ टीमले भाग लिएका थिए ।
यस्तै, अन्तरबिद्यालयस्तरीय छात्रा भलिवल प्रतियोगिताको उपाधि भने रामघाटको टप्स उच्च माविले जितेको छ । फाइनलमा नोभेल इण्टरनेश्नल एकेडेमीलाई २५–१७ र २५–१३ को सोझो सेटमा पराजित गर्दै उसले २५ हजार १०१ पुरस्कार पायो भने उपविजेता नोभेलेले १५ हजार १०१ पुरस्कार पायो । प्रतियोगितामा टप्सकी मनिषा चौधरी नै स्कुलस्तरको छात्रा भलिबलमा उत्कृष्ट खेलाडी घोषित भइन् । खेलमा ७ टीमले भाग लिएको प्रतियोगिता संयोजक सुशीलकुमार श्रेष्ठले बताए ।