दाइजो प्रथा र छोरीको अधिकार

1009 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

शिला महतो
shila Mahtoदाइजोबारे पछिल्लो समयमा निकै चर्चापरिचर्चा भइरहेको पाइएको छ । मधेशी समुदायअन्तर्गत खासगरि उच्च जात कहलिएका कायस्थ, ब्राह्मण र भूमियारअन्तर्गत यो समस्याले विक्राल रूप लिएको भनिएको छ । तर, यो समस्या सिंगो मधेशमै छ भन्ने होइन र यो मधेशको कुनै प्रमुख समस्या पनि होइन । केहि एनजिओ आइएनजिओहरूले दाइजोलाई मधेशको विक्राल समस्या भने तापनि त्यो भने उनीहरूको मागि खाने भाँडौ नै हो भन्दा अन्यथा नहोला । त्यसो त कानुनी रूपमा दाइजो स्त्री धनअन्तर्गत पर्दछन् । दाइजो र पेवाको सम्बन्धमा स्त्री अंश धनको महलको ४ र ५ नं. मा गरिएको छ । यस महलको ५ नं. अनुसार स्वास्नी मानिसले आफ्नो दाइजो पेवा आफूखुशी गर्न पाउँछ । स्वास्नी मानिसको मृत्युपछि निजले “यसले खानु” भनी लिखित प्रमाण रहेछ भने सो बमोजिम हुन्छ र त्यो लिखित नभएमा उसँग बसेको छोराले नत्र छुट्टै बसेका छोराले नत्र लोग्नेले, त्यसो नभए कन्या छोरीले त्यो नभए पनि नातिले नत्र हकवालाले नै पाउँछ ।
यी त भए कानूनी कुरा । तर, व्यावहारिक कुरालाई ख्याल गर्ने हो भने पनि दाइजो एक प्रकारले महिला अधिकार हो । यस कुरालाई यो उदहारणबाट पनि प्रष्टिकरण गर्न सकिन्छ । ‘समान्यतः कुनै घरमा यति २ जना छोरा र एक जना छोरी रहेको छ भने त्यसको पैतृक सम्पत्तिमा मात्र छोराहरूको जवजवा देखिएको हुन्छ । त्यसको पैतृक सम्पत्तिमा छोरीको अंशको कुरा कहि देखिएको हुँदैन ती छोरी जतिसुकै सुन्दर शुसिल अनुसासित भएपनि त्यसको पैत्रिक सम्पत्तिमा उसको पनि अधिकार छ भन्ने भान उसकै परिवार, समाजले गर्न दिएको हुँदैन । तसर्थ पनि दाइजो एक प्रकारले छोरीको जन्मजात अधिकार नै हो भन्न सकिन्छ । रहयो गरिबीको कुरा । हो त्यहाँ दाइजो एउटा अभिश्रापझैं प्रस्तुत हुन्छ । तर, छोरी विवाह गर्नेबेला दाइजोको विरोध र छोरा विवाह गर्ने बेलामा दाइजो लिन अग्रसर हुने केही सीमित परिवारका कारण यो अभिश्राप बन्ने गरिएको छ ।
विवाहपछि पूर्ण स्वामित्व भएको सम्पत्तिको बारेमा छोरीको पतिको घरपरिवारले अनेक आलोचना गरेको थोरै भए अझ माग्न पठाउने, नदिएमा बुहारीलाई कुट्ने पिट्ने, गाली गलौँज गर्ने घरबाट निकाल्ने सम्बन्ध विच्छेद गर्ने जस्ता व्यवहारहरू पनि दाइजोकै उपज भन्दै कयौं समाचारहरू बेलाबेलामा आउने गरिएको छ । तर ती महिला हिंसा के दाइजोकै कारण भएको हो त ? त्यसको पनि अध्ययन हुन अतिआवश्यक छ । हाम्रा समाजमा कुनै पनि बुहारी विावाह गरेको भोलीपल्ट नै यदि उ सम्बन्ध बिछेद गरियो भने उसले आफ्ना पतिको अधिकारबाट आधा अधिकार पाउँछन् र यस्तो मान्यतालाई कानूनले पनि स्थायित्व गरेको छ । तर के उ छोरी मान्छेले आफ्नो बुवा र दाजुसँग अधिकार मागेको हुन्छ त यो पनि एउटा सोचनीय प्रश्न हो । पछिल्लो समय त झन् अन्य कारणले हुने घरेलु हिसांलाई समेत दाइजोसँग जोडिएर महिला हिंसा भएको दावी पनि गरिन थालिएको छ र यसको मुख्य कारण हो ग्रासरूटमा पुगेर रिर्पोटिङ्ग, अध्ययन, अनुसन्धान नहुनु । किनकी पछिल्लो समय ल्यापटप केन्द्रित रिर्पोट र फोन केन्द्रित शहरिया अध्ययनले नै बजार तताएको छ । तर, दाइजो कुनै समस्या नै होइन भन्ने तर्क भने होइन । यद्यपी यसलाई समायोजन भने गर्नु पर्दछ भन्ने तर्क मात्रै हो ।
विवाहबारे शास्त्रीय अवधारणा
हिन्दू सभ्यता र संस्कृति अनुसार विवाह एउटा सम्झौता मात्र नभएर एक संस्कार हो । हिन्दू धर्मअनुसार विवाहको मुख्य उद्देश्य सन्तान प्राप्त गर्नु मात्र होइन, नर्कबाट तारण गर्ने जीवनको उत्पत्ति गर्नु हो । जसले मृत्युपछि विभिन्न कार्यहरू गरेर पितृ आत्मालाई नर्क जान नदिने र गइसके पनि छिट्टै नर्कबाट मुक्ति दिलाउन कार्य गरोस् । विवाहलाई सम्झौताभन्दा मान हानीको कुरा उत्पन्न हुन्छ भने संस्कार जन्म, मृत्युवीचको अवधिमा यस लोक र परलोक दुवैलाई सुधार्ने उद्देश्यले मानिसलाई गर्नु पर्ने कर्मलाई जनाउँदछ जसको फाइदा बेफाइदासँग कुनै अर्थ हुँदैन । यी सबै कुरालाई हेर्दा विवाह एक संस्कार हो भन्ने हिन्दू धर्म मान्यताले स्वीकार गर्नु पर्ने देखिन्छ ।
दाइजो प्रथाको इतिहास
दाइजोको सबै ठाउँमा लामो इतिहास छ । जस्तै कि यूरोप, भारत, अफ्रिका, नेपाल र विश्वका अन्य भागमा दाइजो जसलाई मगहीमा “तिलक” नेपालीमा “दाइजो”, अङ्ग्रेजी ‘डोवरी’ भन्ने गरिन्छ । प्राचीन साहित्यहरू जसमा वैवाहिक संस्कारको व्याख्या छ तर त्यसमा दाइजो प्रथालाई प्रकाश पारेको देखिँदैन । यूरोप, भारत अफ्रिका र अन्य राष्ट्रहरूमा दाइजो प्रथाको लामो इतिहास भएको देखिन्छ ।
भारतमा दाइजो निषेध नीति नियम पारित गरिँदा पनि यसको लक्ष्य प्राप्त गर्नका लागि लोकमतको विकास हुन आवश्यक छ । तर यस प्रथाको विरोधमा नारा, जुलुस निकालिएको पनि हुँदा विवाहको बखतमा दाइजो लिने तथा कसैले पनि दाइजोको बारेमा केकति लिए दिएको कुरा गर्दैनन् । पैतृक सम्पत्तिमा छोरीको अधिकार भन्ने कुराको अस्तित्व प्राचीन कालमा थियो थिएन भन्न सकिन्न तर पनि दाइजोको इतिहास यस्तो कुरासँग सम्बन्धित देखिँदैन । यूरोपतिर दाइजोले केटीहरूको विवाहमा मात्र सम्पत्ति नबढाएर शक्तिको रूपमा एउटा ठूलो परिवारले वा देशको सम्पत्ति बढाउन पनि सहयोग पुर्याएको देखिन्छ ।
दाइजोको प्रभाव र असर
दाइजोले छोरीमा भएको विकृति ढाक्दछ जस्तै कुनै केटीमा कुनै प्रकारको शारीरिक विकृति भएमा, शिक्षाको कमी भएमा, मन्द बुद्धिको भएमा वा कुनै खास कारणवश विवाह नै नहुँदा धेरै भन्दा धेरै मात्रामा दाइजो दिएर सजिलै विवाह गर्न सकिन्छ । कुनै केटी गरीब छ र आफ्नो अािर्थक स्थितिको कारण आफ्नो खुट्टामा उभिन सकिरहेको छैन भने उसलाई दाइजो दिएर त्यही रकमबाट उसलाई पढाई लेखाई वा व्यापार चलाइदिएर आफ्नी छोरी उसलाई विवाह गरिदिँदा दुवै घर व्यवस्थित रहन्छ र एक अर्कोलाई सहयोग पनि पुग्न जान्छ । दाइजोले वर्ग भिन्नता केही हदसम्म हटाएको देखिन्छ जस्तै गरिब वर्गको केटीपक्षले बढीभन्दा बढी दाइजो रकम तिरी धनी वर्गको केटासँग आफ्नी छोरीको विवाह गर्न पनि सकेका छन् । दाइजोले गर्दा नै छोरीको पैतृक सम्पत्तिमा भएको अधिकार पाउन सकेको छैन । दाइजोमा अनेक वस्तु गहनाहरू, लुगाफाटा, पैसा, भाँडाकुँडा आदि दिँदा नयाँ गृहस्थी बसाउने नववधुलाई केही दिन घर गृहस्थी चलाउन सजिलो हुन्छ ।
घरेलु हिंसा र हत्या सम्मको सवाल
पछिल्लो समय आएको केहि समाचारलाई अधार मान्ने हो भने जनकपुरमा नौ महिना अघि विवाह गरेकी १९ वर्षीया रूपा कर्णलाइ थप दाइजो नदिएका कारण ससुराली पक्षवालाले रूपा कर्णको हत्या गरेका छन् । विवाह हुँदा चार लाख रूपैयाँ, हिरोहोन्डा मोटरसाइकल, चार तोला सुनको साथै विभिन्न फर्निचरका सरसमान लगायत लता कपडाहरू पनि दिएका थिए भने उक्त रूपाको बुवा अरूणकुमार लाल कर्णले सञ्चारकर्मीसँग भने । केही महिना अगाडि रूपाको पति सतिश कर्णले एलसीडी टि.भी. को माँग गरिरहेका थिए । उक्त दाइजो नदिएकाले नै रूपाको हत्या गरिएको थियो भन्ने समाचार त आए तर त्यको ठोस आधार भने आएन । कहिलेकाहि बुहारीको गलत चरित्र, गलत संगत र अमर्यादित कार्य पनि हत्याको कारण बनेको हुन्छ । यद्यपी यसको कारण भने दाइजोलाई जबरजस्ती बनाएको हुन्छ । यसरी भनिरहदा प्रायः सबै घटना यस्तै प्रकृतिको हुन्छ भन्ने तर्क भने होइन । अशिक्षा, गरिबी, कुलतको जबजबा पनि यी समस्याको अर्को कारण हो । गोरखापत्रमा प्रकासित एउटा समाचार जसमा भनिएको छ सप्तरी समाचारदाता अनुसार, दाइजो कम ल्याएको निहुँमा ललित मुखियाले आफ्नै श्रीमतिको हत्या गरेका छन । सप्तरीको जगतपुर गा.वि.स.–१, बस्ने ललित मुखियाले २० वर्षीया श्रीमति कल्पना मुखियालाई आइतबार विहान सुुकेको गोबर (गोइठा) ले मुख थुनेर मारे । कम दाइजो ल्याएको भन्दै कल्पनालाई ससुराली पक्षबाट पटक–पटक शारीरिक र मानसिक यातना दिइने गरेको थियो । यस्ता घटनाहरू प्नि भएका छन् समाजमा दाइजोकै कारण । तर, यी घटनालाई रोक्न दाइजोमा नै प्रतिबन्ध तब गर्नु पर्दछ जब छोरीलाई उसको पैतृक सम्पतिमा समाजिक र कानूनी दुवैरूपबाट अधिकार प्रत्याभूत होस् । र, दाइजोकै कारण हुने हत्यासम्मको घटनामा संलग्नलाई ठोस अनुसन्धान गरी उसलाई कडा कारबाही गर्नु पर्दछ । ताकी अर्को त्यस्तो घटना न दोहोरियोस् ।
दाइजोले गर्दा हुने हिंसा र यातनाको शिकार नेपाली महिलाहरूले विशेषगरी बुहारी अवस्थामा हुनु परेको देखिन्छ । बुहारी माथिको प्रताडना सासुहरूबाट नै बढी हुनु परेको छ । त्यसरी बुहारीमाथि हुने प्रताडनाको मुख्य कारणहरू अधिकांश सासुहरू आफूलाई त्यो अधिकार प्राप्त भएको ठान्छन् । उनीहरू बुहारीले सासुको प्रताडना सहनु पनि बुहारीको धर्म वा कर्तव्य नै मान्दछन् । यस्ता समस्या प्रायः तराई–मधेशमा ब्राह्मण, कायस्थ, भूमियार लगायत मुस्लिम सहित पिछडा वर्ग (ओबिसी) आदिवासी जनजाति, दलित र वैश्य समाजमा बढी हुने गरेको छ । बुहारीहरूको आफ्नो कर्तव्य र बानी व्यहोरा गलत भएमा जस्तै सासुको सेवा राम्ररी नगर्नु, कार्यालयमा काम गर्नु, समाजमा खुलेर काम गर्नु, परम्परागत पहिरनमा नबस्नु आदि गरेमा सासुहरूले बुहारीमाथि विशेष निगरानी राख्ने गर्दछ । तर, त्यस्तै निगरानी छोरीमाथि राख्न सक्दैन र आफ्नी छोरीमाथि निगरानी राखेको सुन्न पनि चाहदैन । तर १०–१५ वर्ष यतादेखि यस्ता यातनाहरू निकै बढी हुने गरेको सञ्चारमाध्यमहरूमा आउने गरेका छन् । दाइजोका कारण बुहारीमाथि गरिने यातनाका परिणामहरू हत्या र आत्महत्या रूपमा परिणत भएको हुन्छ ।
अर्थात्, यसप्रकार दाइजोले समाजमा अनेक फाइदा भए तापनि यसले बेफाइदा नै पुर्याए तापनि यसलाई अन्त्य नै गरिनु हुन्न बरू यसलाई व्यवस्थित बनाउनु पर्दछ । केटाहरूको अनुपातमा केटीहरूलाई पनि सानैदेखि शारीरिक मानसिक रूपले सबल बनाइ उनीहरूलाई पनि आर्थिक रूपले स्वतन्त्र बनाउनुपर्छ । यसरी आर्थिक रूपले स्वतन्त्र भएमा केटीहरूले पति वा कसैमाथि आश्रित भएर बस्नु पर्दैन र पतिको घरमा कसैले दुव्र्यवहार गर्न पाउँदैन जसले गर्दा केटीहरूको जीवन सुख र शान्ति भएर जीवन निर्वाह हुन सक्छ । यी सबै कुराको तर्क भइरहदा छोरीको अधिकारका सवालमा भने मौन हुनु हुँदैन यसका लागि सामाजिक रूपमै यसको औपचारिक व्यवस्थाको सुरूवात गर्नु पर्दछ ।
(महतो सरकारी विद्यालयकी शिक्षिका हुन् ।)

-मधेश दर्पण फिचर सेवा बाट