तीन करोडको रक्त चन्दन बरामद-धादिङका राजु सिलवाल र सूर्यबहादुर तामाङ पक्राउ

4192 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

rakta chandan आरुघाट- गोरखाको आरु घाटमा करिब तीन करोड मूल्यको साढे ६ किलो रक्त चन्दन बरामद भएको छ। धादिङबाट गोरखाको आरुघाट हुँदै तिब्बततर्फ निकासी गर्न लागिएको रक्तचन्दन शनिबार दिउँसो चार बजे इलाका प्रहरी कार्यालय आरु घाटले बरामद गरेको हो ।

प्रहरीले चन्दन ओसारपसारमा संलग्न ग १ ख ४१२९ नंबरको ट्रक र ओसार पसारमा संलग्न तीनजनालाई नियन्त्रणमा लिएको गोरखाका प्रहरी प्रमुख डीएसपी रमेश थापाले जानकारी दिए। ‘रक्तचन्दन आफ्नो हो भनेर दाबी गरेका केरौंजा गाविस १ का आइतराम गुरुङ, ट्रक चालक नलाङ ६ धादिङका राजु सिलवाल र सहचालक खरी ६ धादिङका सूर्यबहादुर तामाङलाई पक्राउ गरिएको छ’ डीएसपी थापाले भने ‘नियन्त्रणमा लिएका सबैलाई हामी जिल्ला वन कार्यालयलाई बुझाउँछौं ।’ प्रचलित बन एन अन्तर्गत कारबाही हुने उनले बताए ।

२६ बोरा रक्तचन्दन मकैको भारीमा लुकाएर ल्याएको अबस्थामा भेटिएको इप्रका आरुघाटका प्रमुख प्रहरी निरीक्षक रविन्द्र खनालले जानकरी दिए। ‘विशेष सूचनाको आधारमा हामीले ट्रक खान्तलासी गर्दा ढोकाको आग्लो(ढोका थुन्न प्रयोग हुने साधन)को साइजमा काटिएका रक्तचन्दन २६ वटा बोरामा भेटियो’ प्रहरी निरीक्षक खनालले भने ‘अनि हामीले सामान र त्यहाँ भएका मान्छेलाई नियन्त्रणमा लियौं। प्रारम्भिक अनुसन्धानमा सो सामान आइतराम गुरुङ आफैले तिब्बतसम्म लैजानका लागि ल्याएको स्वीकार गरेका छन् ।’

रक्तचन्दन कटान गर्न तथा ओसारपसारमा प्रतिबन्धित बनस्पति हो। यसलाई चोरी तस्करी गर्नेहरुले प्रतिकेजी पाँच हजार रुपियाँका दरले बिक्री गर्ने स्रोतले जनाएको छ। जस अनुसार आरुघाटमा बरमद भएको रक्तचन्दनको मूल्य करीब ३२ लाख ५० हजार रुपियाँ पर्छ ।

यसअघि सोही रुट हुदै चोरी तस्करी हुन लागेको ३ करोड अमेरिकी डलर बराबरको चिरुको रौं पनि आरुघाट प्रहरीले बरामद भएको थियो। रक्तचन्दन भने शनिबार पहिलो पटक बरामद भएको हो। ठूलो परिमाणमा चिरु फेला परेपछि आरुघाट हुदै तिब्बतसम्म पुग्ने रुट प्रहरीको निगरानीमा रहेको जिल्ला प्रहरी प्रमुख डीएसपी थापाले बताए। ‘यो रुटबाट अबैध सामानहरु ओसार पसार हुन थालेपछि हाम्रो कडा निगरानीमा थियो’ डीएसपी थापाले भने ‘त्यसैले आज रक्तचन्दन बरामद गर्न पनि सफल भएका हौं।’ केही बर्षयता नेपालकै बिभिन्न सहर तथा भारतबाट पनि यो रुट हुदै तिब्बततर्फ र तिब्बतबाट यही बाटो हुदै भारत तथा अन्य मुलुकसम्म अबैध सामान ओसार पसार हुने गरेको छ अन्नपूर्ण पोष्ट डट कमले खबर लेखेको छ । ।