दलाललाई लाखौं तिरेर अमेरिका छिर्न खोज्ने ३४ नेपाली कोष्टारिकामा पक्राउ

861 पटक पढिएको

सम्पादक: धादिङ न्यूज


imagehelper   कोष्टारिकाको बाटो हुँदै अमेरिका छिर्ने योजनामा रहेका २७ जना नेपालीहरु सोमबार कोष्टारिकामा पक्राउ परेका छन् । गत शुक्रबार कोष्टारिकाहुँदै अमेरिका छिर्ने योजनामा रहेका यस्तै ७ जना नेपालीहरुलाई कोष्टारिकाको राष्ट्रिय प्रहरीले सेन्ट्रल प्यासेफिक कोष्टमा पक्राउ गरेको थियो । उनीहरु पानामाको सिमा क्षेत्रमा पक्राउ परेका थिए । विना कागजपत्र कोष्टारिकाहुँदै अमेरिका आउने योजनामा रहेका नेपालीहरुसँगै दुईजना बंगालादेशी नागरिकहरु पनि रहेका थिए । उनीहरु एसयुभी गाडीमा चढेर निकारागुवातर्फ लाग्दै गर्दा बीचैमा पक्राउ परेका हुन् ।

         चालकलाई मानव तस्करीको अभियोगमा प्रहरीले पक्राउ गरेको छ । उत्तरी पानामाबाट निकारागुवातर्फ जानका लागि मानव तस्करहरुले कोष्टारिकालाई मार्गको रुपमा प्रयोग गर्ने गरेको कोष्टारिकाका जन सुरक्षामन्त्री सेल्सो गाम्बोआले बताएका छन् । निकारागुवाबाट मेक्सिकोहुँदै उनीहरु संयुक्त राज्य अमेरिकामा छिर्ने गरेका छन् ।
मन्त्री गाम्बोआले भनेका छन् –“कोष्टारिकाको बाटो हुँदै गैरकानुनी रुपमा अमेरिका छिर्न खोज्नेहरु इक्वेडरसम्म समुन्द्रको बाटो आउने र त्यसपछि स्थलमार्गहुँदै अगाडि बढ्ने जानकारी हामीसँग छ । हामी मानव तस्करीमा संलग्न स्थानीयहरु पत्ता लगाउने प्रयासमा छौं । ”
पक्राउ परेका नेपालीहरुलाई उनीहरुको स्वास्थ्य अवस्थाबारे बुझ्नका लागि स्थानीय स्वास्थ्य संस्थामा लगिएको थियो । त्यसपछि उनीहरुलाई अध्यागमन अधिकारीको जिम्मा लगाइएको स्थानीय सुरक्षा मन्त्रालयले जारी गरेको वक्तब्यमा उल्लेख छ ।

140905Migrants1-1000x647

 गत शुक्रबार कोष्टारिकामा पक्राउ परेका नेपालीहरु (तलकाे तस्विरमा)  । सोमबार कोष्टारिकामा पक्राउ परेका नेपालीहरु (माथिको तस्विरमा) । तस्विर श्राेत : कोष्टारिकाको सुरक्षा मन्त्रालय


मानव तस्करीको जालो : नेपालदेखि  -अमेरिकासम्म

    नेपाली युवाहरुलाई गैरकानुनी रुपमा इराक र अफगानिस्तान जस्ता जोखिमपूर्ण मूलुकमा पठाउनका लागि मात्र होइन, मेक्सिकोको बाटो हुदै अमेरिका छिराउनका लागि नेपालमा मानव तस्करहरुको ठूलो गिरोह सकृय रहेको छ । तर इराक र अफगानिस्तानको तुलनामा नेपाली युवालाई अमेरिका पठाउने मानवतस्करहरुको संजाल निकै डरलाग्दो रहेको छ । इराक र अफगानिस्तानको तुलनामा गैरकानुनी रुपमा अमेरिका पठाउने कार्य बढी जोखिमपूर्ण भएकाले यस्तो मानवतस्करीमा नेपाली दलालहरुको संजालको सम्बन्ध विदेशी दलालसंग जोडिएको छ ।
नेपालबाट यस्तो मानवतस्करीमा डनहरुदेखि मेनपावर संचालकहरुसमेत सकृय रहेका छन् । श्रोतका अनुसार नेपालबाट गैरकानुनी रुपमा अमेरिका पठाउनका लागि एकदर्जनभन्दा बढी व्यक्ति सकृय रहेका छन् । काठमाडौंमा बसेर नेपाली युवालाई गैरकानुनी रुपमा अमेरिका छिराउने धन्दामा अहिले सबैभन्दा बढी पोखराका पूर्ण थापा सकृय रहेका छन् । काठमाडौंका व्यापारीहरुबाट हप्ता उठाउने डनको रुपमा  समेत चर्चा कमाएका पूर्ण थापाले अहिलेसम्म दर्जनौं नेपाली युवालाई गैरकानुनी रुपमा अमेरिका छिराइसकेका छन्  । उनैले पठाएका कैयन युवा अमेरिका आउने नाममा लाखौं रकम खर्च गरेर बीचबाटै फर्काइने गरेका छन् ।  कैयन युवा अमेरिका आउने क्रममा कता बेपत्ता भए भन्ने कुराको अत्तोपत्तो नभएको समेत श्रोतले बताएको छ ।
नेपालबाट भारतको दिल्ली पठाइएका युवालाई राना थर भएका अर्का दलालले विभिन्न दलालहरुको सम्पर्क हुदै इक्वेडरसम्म पु¥याउने गरेका छन् । इक्वेडरमा पनि डिबी थापा नामका नेपाली दलाल सकृय रहेका छन् । इक्वेडरमा नै घरजम गरेर रेष्टुरेन्टसमेत खोलेर बसेका थापाले त्यहा“ पु¥याइएका नेपाली युवाहरुलाई कोलम्बीया पु¥याउछन् । कोलम्बियामा रहेका पोखराका बिष्णु केसीले अमेरिका छिराउनका लागि लगिएका युवाहरुलाई निकारागुवासम्म पु¥याउने चाजोपाजो मिलाउने गरेका छन् । निकारागुवाबाट , होण्डुरस हुदै ग्वाटेमाला  छिराइसकेपछि त्यहा रामकृष्ण शर्मा नाम गरेका दलालले युवाहरुलाई मेक्सिको छिराउने व्यवस्था मिलाउछन् । रामकृष्ण शर्माले पहिले नेपालमा नै रहेर युवाहरुलाई गैरकानुनी रुपमा अमेरिका छिराउने काम गर्दै आएका थिए ।
मेक्सिको आइसकेपछि  भने कार्लोस नामको विदेशी दलाल सकृय रहेको छ । होण्डुरसका नागरिक कार्लोसले नेपाली युवाका साथै विश्वका अन्य देशबाट आएका व्यक्तिलाई जंगलै जंगलको बाटो हुदै अमेरिकाको टेक्सास छिराउने काम गर्दै आएका छन् । नेपालबाट अमेरिका छिराउनका लागि मानव तस्करका अरु संजालहरु समेत सकृय रहेपनि यो संजाल नै मुख्य संजाल हो ।
यसरी छिराइन्छ अमेरिका
अमेरिका आउन चाहने नेपालीहरुले सुरुमा राजधानी काठमाडौंमा रहेका मानव तस्करहरुलाई भेटेपछि सुरु हुन्छ, गैरकानुनी रुपमा अमेरिका छिर्ने कठीन यात्रा । दुबई, कतार र मलेसिया पठाउने दलालहरुजस्तै मेनपावर नै खोलेर बसेका हुदैनन् अमेरिका पठाउने मानव तस्करहरु । उनीहरुसम्म पुग्नको लागी अमेरिका आउन चाहनेहरुले विभिन्न शुत्रहरुमार्फत पहल गर्नुपर्ने हुन्छ ।  शुत्रमार्फत मानव तस्करहरु समक्ष पुगेपछि सुरु हुन्छ, पैसाको मोलतोल ।
एकजनालाई अमेरिका छिराउनका लागि लाग्ने रेट हो , बीस लाख । तर मोलतोलपछि केही रकम कम पनि हुन सक्छ । मोलतोल गर्न सक्नेहरुका लागि त १०÷१२ लाखमै पनि छिनोफानो हुने गरेको श्रोतको दावी  छ । श्रोत भन्छ – “गत वर्षसम्म ९ लाखमा समेत अमेरिका छिराउने दलालहरु भेटिन्थे तर अहिले भने १८ लाख घटी कसैले पनि पठाउदैन ।”
पैसाको छिनोफानो काठमाडौंमा हुन्छ । पचास प्रतिशत रकम उतिबेलै खनखनी गनेर दिनुपर्छ दलाललाई । बा“की रकम भने अमेरिकाको टेक्सास आइपुग्दासम्म दिएपनि हुन्छ । दलाललाई रकम बुझाएपछि अमेरिका जानका लागि मिति तय गरिन्छ । एकपटकमा १५÷२० जनासम्मलाई पठाइने भएकाले दलाललाई पैसा बुझाएको अबधीबाट अमेरिकातर्फको यात्रा सुरु गर्नका लागि दुई तीन महिनासमेत लाग्न सक्छ ।
यात्रा सुरु गर्नु अगाडि अमेरिका आउनेका लागि केही अनिवार्य शर्त र नियमहरु राखिएको हुन्छ । खनखनी गनेर पैसा बुझाएपनि बीचबाटोमा पक्राउ परेमा वा पक्राउ पछि नेपाल पठाइएमा पनि दलाललाई बुझाएको रकम फिर्ता नहुने पहिलो शर्त हो । अमेरिका पुग्दासम्म बीचबाटोमा आइपर्ने सबैखाले जोखिमको लागि अमेरिका पठाउनेकाममा सकृय दलालहरु होइन, जाने व्यक्ति आफै उत्तरदायी हुनुपर्ने अर्को शर्त हो । किनभने गैरकानुनी रुपमा अमेरिका छिर्ने क्रममा ज्यानै जानेसम्मको खतरा समेत हुने गरेको छ ।
अमेरिका जाने यात्रामा निस्किसकेपछि मोबाइल, घडी, क्यामेरा वा अन्य कुनै धातुजन्य बस्तु बोक्न प्रतिबन्ध लगाइएको हुन्छ । किनभने जंगलको बाटो हिड्दा हवाइ गस्तीका क्रममा मेटल डिटेक्टर समेत प्रयोग हुनसक्ने भएकाले सुरक्षाका लागि भन्दै यस्तो प्रतिबन्ध लगाइने गरेको श्रोतले जानकारी दिएको छ । नेपालबाट हिडिसकेपछि नेपालमा रहेका आफन्तहरुलाई फोन गर्नसमेत प्रतिबन्ध लगाइएको हुन्छ । सुरक्षा निकायले फोन ट्यापीङ गर्न सक्ने भन्दै यस्तो प्रतिबन्ध लगाइएको हो । केही खाद्य पदार्थ र लत्ता कपडाबाहेक अरु कुनै सामान बोक्न नपाइने नियम बनाएका छन्, मानव तस्करहरुले । अर्कातर्फ अमेरिका आउन चाहने व्यक्तिलाई बाटोको बारेमा र सम्पर्क व्यक्तिको बारेमा कतै कही नबोल्न कसम खुवाइएको हुन्छ ।
नेपालबाट अमेरिका आइपुग्दासम्म विभिन्न देश पार गर्दै आउनुपर्ने हुन्छ । ती देशहरुमा मानव तस्करहरुको आफ्नै सम्पर्क व्यक्ति राखिएको हुन्छ र उनीहरुसंग नेपालबाट पठाउने मानव तस्करहरुले नै सम्पर्क गराइदिन्छन् । अमेरिका पठाइने व्यक्तिलाई सुरुमा नेपालका मानवतस्करहरुले भारतको दिल्ली पठाउछन् । दिल्लीबाट दुबई पठाउनका लागि त्यहा“ अर्को एजेन्ट स्टान्डबाई राखिएको हुन्छ । दिल्लीबाट दुबईको भिसा पाउन सजिलो हुने भएकाले दलालहरुले दिल्लीको बाटो हुदै पठाउने गरेको श्रोतको भनाई छ । कुनै कुनै दलालहरुले भने सिधै दुबई पठाउने समेत गरेका छन् ।
इक्वेडरमा सम्पर्कका लागि पनि नेपाली दलाल नै राखिएको छ । तर इक्वेडरसम्म पुग्ने बाटो भने फरक फरक हुने गर्छ । कसैलाई दुबई हुदै विभिन्न देशहरु पारगरेर इक्वेडर पठाउने गरिन्छ भने कसैलाई सिंगापुरको बाटो पठाइन्छ । यसरी नेपालबाट इक्वेडरसम्म पठाउदा कम्तीमा तीनमहिनादेखि एकवर्षसम्मको अवधि लाग्छ । कुनै कुनै व्यक्ति त इक्वेडरसम्म छिर्नै नपाई दुबई वा सिंगापुरमा नै समातिने गर्छन् । यसरी पक्राउ परेका व्यक्तिलाई सम्बन्धित देशले नेपालमा नै फिर्ता पठाइदिने गरेको छ ।
हवाई यात्रा गर्नुपर्ने भएकाले गैरकानुनी रुपमा इक्वेडर छिर्न सम्भव छैन । त्यसैले जुनदेशबाट भिसा पाउन सजिलो हुन्छ, त्यहींदेशबाट एप्लाई गर्ने व्यवस्था नेपाली दलालहरुले नै मिलाएका हुन्छन् । इक्वेडरमा भिसा पाउन सजिलो भएकाले गैरकानुनी रुपमा अमेरिका छिर्नका लागि पहिलो ढोका पनि यहीं नै खुल्ने गरेको छ ।  इक्वेडरमा तीनमहिनासम्मको पर्यटक भिसामा छिराइसकेपछि भने हवाई यात्राको क्रम पनि अन्त्य हुन्छ । त्यसपछि अमेरिका छिर्ने यात्रामा निस्किएको व्यक्तिले पासपोर्ट पनि त्यहीं च्यातेर मिल्काउनुपर्ने हुन्छ । साथमा परिचय खुल्ने कुनै कागजपत्र पनि बोक्न पाईदैन ।
दक्षिण अमेरिकी देश इक्वेडरमा पुगेपछि त्यहा रहेका नेपाली दलालले विदेशी दलालको सहयोगमा दक्षिण अमेरिकाकै अर्कोदेश कोलम्बीया पु¥याउछन् । कोलम्बियाबाट सुरु हुन्छ मध्य अमेरिकी देशतर्फको यात्रा । दलालहरुले कोलम्बियाबाट मध्य अमेरिकाको निकारागुवा, होण्डुरस हुदै ग्वाटेमाला  छिराउने गर्छन् । ग्वाटेमालामा पनि नेपाली दलालहरु मार्फत त्यहाबाट अझ अगाडिको बाटो तय गरिन्छ । ग्वाटेमालाबाट उत्तर अमेरिकातर्फको यात्रा सुरु हुन्छ । त्यहाबाट उत्तर अमेरिकी देश मेक्सिकोमा आइसकेपछि भने पूर्णरुपमा नै विदेशी दलालको जिम्मा लगाइन्छ । त्यसपछि मेक्सिकोबाट जंगलैजंगलको बाटो दलालले अमेरिकाको टेक्सासमा छिराउछ । इक्वेडरबाट टेक्साससम्म आइपुग्दा पनि कम्तीमा तीनमहिनादेखि एकवर्षसम्मको अवधी लाग्छ ।
ज्यानै जाने जोखिम
लाखौं खर्च गरेर पनि सुरक्षित तरिकाले अमेरिका छिर्न पाइने कहा“ हो र ? अमेरिका आउने क्रममा बीच बाटोबाटै फर्काइनेमात्र होइन, ज्यानैजानेसम्मको खतरासमेत हुने गर्छ । दलाललाई लाखौं रकम बुझाउदा घरखेत त डूब्यो डूब्यो , ज्यानै जाने समेत खतरा हुने भएकाले घरपरिवारको समेत बिचल्ली हुने गरेको छ ।
इक्वेडरबाट मेक्सिकोहुदै अमेरिका छिर्ने क्रममा जंगल, ताल, खोला, समुन्द्र र मरुभूमीसमेत पार गर्नुपर्ने भएकाले भयंकर जोखिमको सामना गर्नुपरेको हो । घनाजंगलमा हवाइ गस्ती छलेर रातको समयमा हिड्नुपर्ने भएकाले कुनै कारणबस जंगलमा कुनै पनि छुटेको खण्डमा त्यो व्यक्ति जंगली जनावरको शिकार हुनुबाहेक अरु कुनै विकल्प छैन । नौ महिना लगाएर इक्वेडरदेखि अमेरिकाको टेक्सास आएका सुजन केसी भन्छन् – “ जंगलमा हराइयो भने फर्केर आउने आशा नगरे हुन्छ । ”
दिनको समयमा जंगलमा छाप्रा बनाएर सुत्ने र रातीको समयमा हिड्नुपर्ने भएकाले रातीमा हिड्दा काडाले कोतर्ने, हिलोमा फस्ने, लडेर शरिरमा चोटपटक लाग्ने जस्ता कुरा सामान्य हुने गरेको उनको अनुभव छ । त्यो बाहेक कैयनदिन भोकभोकै समेत हिड्नुपर्ने हुन्छ । उनी भन्छन् –“चार पा“चदिनसम्म भोकभाकै हिड्नुपर्दा घा“स र सिउडीका काडा खाएर समेत भोक मेटाइयो ।”
मेक्सिकोबाट अमेरिका छिर्ने क्रममा जंगल पार गर्दा अमेरिकन सेनाको हवाइ गस्तीले फेला पारेमा गोली हान्ने सम्मको खतरा रहन्छ । त्यतीमात्र नभई समुन्द्रको यात्रा गर्दा डुंगा नै पल्टने र सबैको ज्यान जाने खतरा समेत उत्तिकै हुन्छ । गैरकानुनी रुपमा अमेरिका छिर्ने क्रममा यसरी ज्यान गुमाउनेको बारेमा कसैलाई पनि पत्तो हुदैन । जथाभावी समुन्द्रको बाटो हिड्दा समुन्द्री छालका कारण पटकपटक दूर्घटना हुने गरेको छ । समुन्द्रको छालले डूंगा दूर्घटना हु“दा निकै मुस्किलले बाचेका सुजन भन्छन् –“ समुन्द्रको किनारामा दूर्घटना भएकाले पानी खाएरै भएपनि बा“च्न सफल भइयो । नत्र समुन्द्रको बीचतिर दुर्घटना भएको भए बाच्ने कुनै सम्भावना थिएन ।”
मेक्सिकोबाट गैरकानुनी अमेरिका आउने क्रममा को कसले कसरी ज्यान गुमाउनुपर्छ भन्ने कुनै ठेगान हुदैन । कतिपयका शव समेत फेला पर्दैन भने शव भेटिएपनि परिचय खुल्ने कुनै कागजपत्र नहुने भएकाले कुन देशको नागरिक हो भन्ने समेत पत्ता लगाउन मुस्किल हुन्छ । समुन्द्र र जंगलमा यसरी मारिएका व्यक्तिको पटकपटक शब भेटिने गरेको छ ।

– खसोखास साप्ताहिक न्युयोर्क