‘प्रयास गरे सफल नहुने कुनै क्षेत्र छैन ’- अजय रेग्मी (कलाकार, नक्कली बाबुराम)

855 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

कलाकारितामा उनी नक्कली बाबुराम भट्टराईको नामले परिचित छन् । केहि टेलिसिरियलहरुमा नेता बाबुराम भट्टराईको भेषधारी क्यारिकेचर गरेर चर्चामा आएका कलाकार रेग्मी आफू आफ्नो वास्तविक नाम भन्दा पनि बाबुरामको नक्कली भेष र क्यारिकेचरले चिनिन चाहन्छन् । नाटक र गितहरुका म्युजिक भिडियो हुदै यतिबेला उनी केहि टेलिचलचित्रमा बाबुरामको भुमिकामा देखा परे पछि भने सबैले उनलाई नक्कली बाबुराम भट्टराईको नामले चिन्न थालेका हुन् । उनै रमाइला पात्र रेग्मीसँग यसपटक  dhadingnews का सम्बाददाता  सन्तोष राज सापकोटा ले भलाकुसारी गरेका छन् । प्रस्तुत छ उनीसँग गरिएको कुराकानीको सम्पादित अंश :

nakkali baburaam

यहाँको कलाकारिता क्षेत्रमा उपस्थिती कहिलेबाट हो ?

आज भन्दा करिव ५  वर्ष अगाडि देखि म यस क्षेत्रमा लागेको हुँ । एसएलसी परिक्षा सकेर म यस क्षेत्र तिर छिरेको हुँ ।

अहिले सम्म कुनकुन टेलिफिल्महरुमा काम गर्नु भएको छ ?

मेरीवास्सै र भद्रगोल लगायतका हास्य टेलिश्रृंखलाहरुमा नेकपा माओवादीका नेता मोहन वैद्यको भुमिकामा अभिनय गरेको थिएँ । यसका अतिरिक्त म्युजिक भिडियोहरु र पछिल्ला दिनहरुमा स्टेज कार्यक्रमहरुमा नेता बाबुराम भट्टराईको भेषधारी क्यारिकेचरमै व्यस्त छु ।

नक्कली बाबुरामको कुरा गर्नु भयो, तितोसत्य टेलिश्रृंखलामा देखिने नक्कली भट्टराई तपाईं नै हो कि ?

होइन, उहा बाबुरामको भेषमा ‘ज्योति काफ्ले’ हुनुहुन्छ म चाहिं बाबुरामकै अर्को रुपमा प्रस्तुत हुदै आईरहेको छु । बाबुराम भट्टराईको भुमिकामा हामी २ जना नै छौं । धेरैजसो यसमा झुक्किनु भएको छ । हाम्रो अभिनय, बोलीचाली र भेषभुषा उस्तै भएकाले यस्तो भएको हो । म चाहिं विभिन्न स्टेज कार्यक्रमहरु र म्युजिक भिडियोहरुमा पनि बाबुरामकै भुमिकामा अभिनय गर्ने गरेको छु । एनटिभी प्लसमा झंकार कार्यक्रम र विमल डाँगीको तिजको गितमा पनि नक्कली बाबुरामकै भुमिकामा अभिनय गरेको छु ।

तपाईंले सक्कली बाबुरामलाई भेट्नु भएको छ त ?

भेटेको छु । उहाँ सम्मिलित थुप्रै कार्यक्रमहरुमा उहाँकै नक्कल गरेर कमेडी पनि प्रस्तुत गर्ने मौका पाएको छु । मेरो र उहाँको गृह जिल्ला एउटै भएकाले संविधानसभाको चुनाव पछि उहाँ गोर्खा जानु हुँदा मैले बाबुराम भट्टराईलाई भेटेको थिएँ ।

तपाईंले सक्कली बाबुरामकै अगाडि नक्कली बाबुराम भएर प्रस्तुत हुँदा उहाँको प्रतिक्रिया के थियो ?

उहाँले यसलाई सकारात्मक रुपमै लिनु भएको छ । कलाकार भएर अभिनय गर्दा राम्रो–नराम्रो दुवै पक्षलाई समेटेर लैजानुपर्ने सुझाव दिनु भएको थियो । नकारात्मक छविलाई मात्र उतार्दा राम्रा कुराहरु ओझेलमा पर्ने भएकाले दुवै पक्ष केलाएर अगाडि जान सके राम्रो हुने उहाँको प्रतिक्रिया थियो ।

अनि बाबुरामकै रोलमा अभिनय गर्ने सोच चाहिं कहाँबाट पलाएको हो नि ?

म मेरीवास्सैमा मोहन वैद्यको रोल गर्न गएको बेलामा धुमुर्स दाईले तिमी त बाबुरामको रोलमा पनि फिट हुने रहेछौ भन्नुभयो । त्यसपछि प्रयास गर्दै जाँदा स्टेज कार्यक्रमहरुमा म नक्कली बाबुराम भएर देखा पर्न थालेको हुँ ।

अहिले सम्म कुनकुन टेलिसिरियलहरुमा कसकसको रोलमा भुमिका निर्वाह गर्नु भएको छ नि ?

मेरीवास्सैमा मोहन वैद्यको भुमिकामा र अन्य म्युजिक भिडियोहरुका साथै स्टेज कार्यक्रमहरुमा बाबुराम भट्टराईको नक्कली रुप लिएर प्रस्तुत भईरहेको छु ।

नक्कली बाबुरामको रुपमा परिचित रहनु भएको छ, दर्शकहरुले बाहिरतिर हिंड्दा कतिको जिस्क्याउँछन् नि ?

मेरो वास्तविक रुपमा त कमैले मात्र चिन्छन् । मैले भुमिका निर्वाह गरेको मोहन वैद्यको रुपमा चिन्नेहरुले ‘वैद्य बा’ भनेर जिस्क्याउँछन् । युवा नै छु त्यसैले बा भन्दा अलि असजिलो लाग्ने रहेछ । केहिले बाबुराम भनेर जिस्क्याउँदा भने खुशि नै लाग्छ ।

नक्कली रुपले मात्र चिनाउँदा आफ्नो सक्कली रुप चाहिं ओझेलमा परे जस्तो लाग्दैन ?

म अभिनयका बेलामा मात्र नक्कली रुपमा हुन्छु । अभिनयपछि लगत्तै कपडा परिवर्तन गरेर आफ्नो सक्कली रुप अजय रेग्मी दर्शकहरुलाई चिनाउने गरेको छु । यसो गर्दा दुवै तरिकाबाट मलाई चिन्नेहरु पाएको छु । सक्कली रुप ओझेलमा परे जस्तो मलाई लागेको छैन ।

कला क्षेत्रमा लाग्ने प्रेरणा कहाँबाट प्राप्त भएको हो ?

सानै उमेर देखि यतातिर रुचि थियो । विद्यालयस्तरको पढाईको क्रममा पनि नाटक र अन्य यस्तै कार्यक्रमहरुमा भाग लिने गरेको थिएँ । यसो हुदा शिक्षकहरुले हौसला दिने गर्नु हुन्थ्यो जसले गर्दा मलाई यस क्षेत्रमा लाग्ने प्रेरणा मिलेको हो ।

पहिलो पटक क्यामेरामा फेस गर्नु भएको समय याद छ ?

आज भन्दा २ वर्ष अगाडि मेरीवास्सैमा मोहन वैद्यको भुमिकामा अभिनय गर्ने क्रममा पहिलो पटक क्यामेरामा फेस गरेको थिएँ ।

कलाकार नहुनु भएको भए तपाईं के बन्नुहुन्थ्यो ?

शायद म समाज सेबी हुन्थे होला l

यतिबेला कलाकारिता क्षेत्रमा पनि प्रतिस्पर्धा छ भनिन्छ । तपाईंको विचारमा यस क्षेत्रमा लागेर बाँच्न सकिएला ?

कुनैपनि क्षेत्रमा इमान्दार र लगनशिल भएर लाग्ने हो भने र मिहिनेत गर्ने हो भने पक्कै पनि बाँच्न सकिन्छ तर कसरी बाँच्ने वा जीवन निर्वाह गर्ने भन्ने चाहिं आफैंमा भर पर्छ ।

कलाकारलाई राज्यले हेर्ने दृष्टिकोण कस्तो पाउनु भएको छ ?

राज्यले कलाकार, पत्रकार जस्तो पेशामा लागेकाहरुलाई हेर्ने दृष्टिकोण एकदमै कमजोर छ । मुखले चाहिं सम्मानित क्षेत्र भन्छ तर व्यवहारले चाहिं भने जस्तो गरेको पाईंदैन । राजनितीक दलका नेताहरुलाई जति पनि सहयोग गर्ने सरकारले कलाकारलाई भने बाँच्न सिकाएको छैन । बाँचुञ्जेल भोकै काम गर्दा वास्ता नगर्ने कलाकारलाई मरे पछिको सम्मान गरे जस्तो राज्यको देखावटी व्यबहारले यो क्षेत्र सोचे जसरी फस्टाउन सकेको छैन । राज्यले सहयोग गरेमा मात्र यसले फड्को मार्न सक्छ जस्तो लाग्छ ।

अभिनय गर्दाका कुनै रमाइलो क्षण छ कि ?

स्टेजमा गएर नक्कली बाबुरामको रोल गरेर फर्किएपछि आफ्नो वास्तविक रुप देखाउँदा दर्शकले दिने गरेको माया र ताली पछिको अवस्था साह्रै रमाइलो लाग्छ ।

अहिले सम्मको कुनै सुखद क्षण नि ?

मेरीवास्सैमा मोहन वैद्यको रोल खेलिसकेपछि पाईएको अरु सफलता नै मेरो लागि सुखद क्षण हो ।

अनि दुखद क्षण ?

अहिले सम्म त्यस्तो दुखद क्षण नै त खासै छैन ।

बाबुराम भन्दा अन्य राजनितिक नेताहरुको पनि क्यारिकेचर गर्ने गर्नु भएको छ कि ?

मैले उहाँ भन्दा बाहेक अरु ११ जनाको बोलीको नक्कल गर्छु । शुसिल कोइराला, प्रचण्ड , शेर बहादुर , झलनाथ , केपि ओली , माधव नेपाल लगायतका नेताको बोलीे र मोहन वैद्य, बाबुराम लगायतकाको भेषको नक्कल गर्ने गरेको छु ।

अलिकति पारिवारिक कुरा गरौं न, विवाह गर्नु भयो  ?

छैन, बेला भएकै छैन त ।

किन, कति वर्ष हुनु भयो र ?

म भर्खर २0 वर्षमै छु ।

कला क्षेत्रमै लाग्न चाहनेहरुका लागि के सल्लाह दिनु हुन्छ ?

नआतिएर अगाडि वढ्नुस । विस्तारै सफल हुनु हुनेछ । प्रयास गरेमा सफल नहुने कुनै क्षेत्र छैन ।

कुराकानीका लागि समय दिनु भएकोमा यहाँलाई धन्यवाद ।

मेरा कुराहरुलाई पाठक र दर्शक सामु पुर्याउने मौका दिनु भएकोमा तपाईं र तपाईंको मिडिया  dhadingnews.com  लाई पनि धेरै–धेरै धन्यवाद दिन चाहन्छु ।

अनि तपाई ले धादिङ्गको लागि सहयोग गर्छु भन्नुभएको छ के सहयोग गर्नुहुन्छ  l

म एउटा कलाकार भएको नाता ले गर्न सक्ने सम्पूर्ण सहयोग गर्ने छु र अझ राम्रो संग भन्नु पर्दा धादिङ् को लागि निशुल्क आफ्नो छेमता देखाउने प्रतिबद्धता जनाउछु l