यसवर्ष दशैंको बेला नागढुंगामा जाम नहुने

664 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

 

0काठमाडौं, – काठमाडौंबाट बाहिर जाने र काठमाडौं प्रवेश गर्ने मुख्य नाका थानकोट-नौबिसे सडकमा यसपाली पहिलेजस्ते जाम नहुने सरकारी टोलीले निष्कर्ष निकालेको छ ।

सडकको अवस्था र सडक मर्मतको स्थितिको बारेमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव शान्तराज सुवेदी नेतृत्वको टोलीले शुक्रबार गरेको स्थलगत अवलोकनमा यस्तो निष्कर्ष निकालिएको हो ।

निरीक्षण टोलीका अनुसार चाडपर्वमा उपत्यका प्रवेश गर्ने र बाहिर जाने गाडी सहज रुपमा दुई लेनमा चल्न सक्ने भएकोले जाम हुने अवस्था छैन ।

स्थलगत भ्रमणको क्रममा यो सडक खण्डमा क्रमश: मर्मत सम्भार एवं निर्माण भै सडक स्तरोन्नति भएको पाइएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।

तर, अझै पनि थालिएको काम याकघरको आसपास, गणेश मन्दिर, सुगरे खोलामा केही निर्माण कार्य बाँकी भएकोले यथाशिघ्र निर्माण सम्पन्न गर्ने, नालीहरु सफा गर्ने, खाल्डाखुल्डीहरुको मर्मत गर्ने, पिप्ला मोडको काठमाडौंतर्फको मोड सुधार गर्ने, खत्रीपौवामा रहेको जिल्ला विकास समिति धादिङ्गको कर उठाउने काउन्टरको कारण ट्राफिक जाम बढेको पाइएकोले त्यहाँबाट अन्यत्र जाम नहुने उपयुक्त स्थानमा स्थानान्तरण गर्न, खत्रीपौवा र गणेश मन्दिरमा गर्नुपर्ने अस्फाल्टको काम जतिसक्दो चाडै गर्न र तोकिएको समयमा काम नगर्ने ठेकेदारलाई प्रचलित कानून अनुसार कारवाही गर्ने समेत प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव सुवेदीले बताउनुभयो ।

काठमाडौं प्रवेश गर्ने प्रमुख मार्ग भएकोले यसको आगामी १० बर्ष सम्मको लागि सडकले सवारीको चाप धान्न सक्ने गरी योजना बनाउन र बाँकी सडक खण्ड समेत जिर्ण भएकोले उपयुक्त प्रविधि समेतको प्रयोग गरी सडक विस्तार एवं स्तरोन्नतिका लागि सडक निर्माणको डिजाइन गर्न समेत उहाँले सडक विभागका महानिर्देशकलाई निर्देशन दिनुभयो।

अवलोकन एवं निरीक्षणमा सडक विभागका महानिर्देशक देवेन्द्र कार्की र उपत्यका ट्राफिक प्रहरीका प्रहरी नायव महानिरिक्षक केशव अधिकारी तथा प्रहरी प्रधान कार्यालय र भरतपुर सडक डिभिजन कार्यालय एवं अन्य सम्बन्धित निकायका पदाधिकारीहरुको  पनि सहभागिता थियो ।

-उज्यालो अनलाईनवाट