मलेसिया पठाइएको कन्टेनर धादिङ नआईपुग्दै खाली-लागूऔषध र डलर तस्करीमा अनुसन्धान

562 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

 get_imgकाठमाडौं : राजधानीबाट सामान भरेर तेस्रो मुलुकका लागि हिँडेको ट्रकको कन्टेनर थानकोट काट्नासाथ रित्तो भेटिएपछि राज्य संयन्त्रसँगको मिलेमतोमा अवैध सामानको तस्करीलाई वैधानिकता दिने खतरनाक घटना अनुसन्धानको दायरामा आएको छ।

घटना गत शुक्रबारको हो। भारतबाट एउटा ट्रक सामान बोक्ने कन्टेनरसहित वीरगन्ज नाकाबाट नेपाल पस्यो। बेलाबेलामा कुनै सुरक्षा निकायले स्कर्टिङ गरेझैं गरी सुरक्षाका गाडी अघिपछि हुँदै काठमाडौं छिर्‍यो। भोलिपल्टै उक्त ट्रकमा चार हजार केजी चिया भरियो। त्यसपछि उस्तै गरी ट्रक बाटो लाग्यो वीरगन्जतिरै।

सुरक्षासमेत दिइएको आभास पाएपछि प्रहरीको विशेष ब्युरोको टोलीले त्यसलाई थानकोटदेखि निगरानीमा राख्यो। धादिङको गजुरी पुगेपछि त्यसको परीक्षण गर्दा ट्रक उस्तै खाली थियो तर कन्टेनरमा भन्सारको छापमात्र होइन कोलकाता हुँदै मलेसियासम्म निर्बाध पुग्न सक्ने गरी विमानस्थल भन्सारको पत्र पनि त्यहीं थियो।

प्रहरी स्रोतका अनुसार काठमाडौं आउँदा र फर्कंदा कुनै सुरक्षा निकायकै सहयोग र सुरक्षा दिएजस्तो देखिएपछि विशेष ब्युरोको टोलीले गजुरीमा ट्रक रोकेर खानतलासी गरेको थियो। त्यस क्रममा ट्रकका ड्राइभरमात्र फेला परे तर उनको साथमा भन्सारका सक्‍कली कागजात थिए। विमानस्थलमा लोड गरेको सामान नक्खुतिरै निकालेर खाली कन्टेनर लगेको बयान ड्राइभरले दिएका छन्।

यो प्रकरणको अनुसन्धान गरिरहेको राजस्व अनुसन्धान विभाग हरिहरभवनका निर्देशक कालीप्रसाद पोख्रेलले कन्टेनर किन खाली गरियो भन्‍ने खुल्न बाँकी रहेको बताए। उनका अनुसार चार हजार केजी चिया मणिराम पुरी भन्‍ने व्यक्तिले सिल भइसकेको कन्टेनरबाट झिकेर लगेको थाहा भएपछि पुरीलाई भदौ २६ गते पक्राउ गरिएको छ। ‘उनीसँग प्रारम्भिक बयानमात्रै लिइएको छ’, निर्देशक पोख्रेलले भने, ‘एअरपोर्टले निकासी दिएको छ तर सामान छैन।’

प्रहरी स्रोतले लागूऔषध कारोबार गर्ने नियत भएको आशंकामा अनुसन्धान गर्न राजस्व अनुसन्धान विभागलाई आग्रह गरिएको जानकारी दियो। सम्पूर्ण वैधानिक कागजात तयार गरेर सिलसमेत लगाई कन्टेनर लगेपछि वीरगन्ज भन्सारले सिलमात्र हेरेर छोडिदिनुपर्छ। त्यसैले यहाँबाट लोड गरिएको सामान सीधै कोलकाता बन्दरगाहसम्म पुग्न सक्छ।

बबिता बरालका नाममा मनकामना एक्सपोर्ट दर्ता गरी त्यसैबाट कारोबार सुरु गरिएको अनुसन्धानबाट खुलेको छ। ज्यादै कम पढेलेखेकी बबिताले आफूलाई एक हजार रुपैयाँ दिएर केही छिनका लागिमात्रै भन्दै आफ्नो नागरिकता लगेको जानकारी अनुसन्धानकर्तालाई दिएकी छन्।

कागजातमा चार हजार केजी चियाका लागि अमेरिकी डलरमा मूल्य भुक्तानी भएको समेत देखिएकाले सामान निकासी नगरी कानुनी आवरणमै अन्य अवैध कामका लागि प्रयोग भएको आशंका प्रहरीको छ।

भन्सारको सिल जस्ताको तस्तै देखिनु, चालकसँग उही सिरियल नम्बरका अरू सिल भेटिनु, विमानस्थल भन्सार प्रमुखको सक्‍कलीपत्र निकासीका लागि लेखिनु र सुरक्षा व्यवस्था गरेरै ट्रक राजमार्गमा चल्नुले व्यापारी र कर्मचारीको मिलेमतोमा लामो समयदेखि यस्तो धन्दा चल्ने गरेको आशंका प्रहरीको छ।

-अन्नपूर्ण पोष्ट दैनिकबाट