गर्भवतीको सहयोगका लागि दैनिक १ रुपैया

552 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ,-जोखिममा परेका गर्भवती महिलाहरुको उद्धारका लागि आर्थिक श्रोत जुटाउन धादिङको वेनिघाट स्वास्थ्य चौकीले नयां अभियानको शुरुवात गरेको छ ।
आर्थिक अभावका कारण जोखिममा परेका जटिल अवस्थाका गर्भवतीहरुको हितलाई ध्यानमा राखी वेनीघाट गा.वि.स. को वडा स्तरका स्वास्थ्य आमा समूह तथा निगरानी समूहको पहलमा प्रत्येक घरधुरी, विभिन्न कार्यालय संघ–संस्था, विद्यालयहरु, होटल तथा रेष्टुरेन्टमा खुत्रुके राखी दैनिक रु. १ बचत गर्ने व्यवस्था मिलाउन लागेको हो ।
बेनिघाट स्वास्थ्य चौकीमा संचालन भएको गर्भवती महिला निगरानी समुहको गोष्ठीले उक्त निर्णय गरेको छ । स्वास्थ्य चौकीका प्रमुख बाबुराम कौडालको संयोजकत्वमा भदौ २७ गते सञ्चालन भएको गोष्टीमा बेनिघाट गा.वि.स. मा कार्यरत महिला स्वास्थ्य स्वयंसेविकाहरु, गाविसका सवै बिद्यालयका शिक्षिकाहरुका साथै सवै वडाका स्वास्थ्य आमा समूहका पदाधिकारीहरुको सहभागिता रहेको थियो ।
अभियानका रुपमा शुरु गरिएको खुत्रुकेमा बचत भएको रकम वर्षमा एक पटक तोकिएको स्थानमा खोली आमा सुरक्षा कोष खडा गरी सम्बन्धीत वडामा बिपतमा परेका जटिल अवस्थाका गर्भवती सुत्केरी र अन्य कडा रोग लागेका महिलाहरुको उपचारमा खर्च गरीने बताईएको छ । कोषमा जम्मा हुने रकमको आय व्ययको हर हिसाव पारदर्शी र व्यवस्थित गरिने स्वास्थ्य चौकी प्रमुख कौडालले वताउनु भयो । जोखिममा परेका गर्भवतीहरुलाई स्थानिय स्वास्थ्य चौकी तथा समुदायस्तरमा समुदायकै पहलख स्थापना भएका वर्थिङ सेन्टरहरुमा दक्ष प्रसुतीकर्मी द्धारा सेवा प्रवाह गरिने स्वास्थ्य चौकीले जनाएको छ । स्थानीय स्तरमा उपचार सम्भव नभएमा खर्च सहित सुविधा सम्पन्न स्वास्थ्य केन्द्रमा पठाउने निगरानी समुहले निर्णय गरेको छ । यस अभियानवाट जोखिममा रहेका गर्भवती महिला र उनको गर्भमा रहेको शिशुलाई अकाल मृत्युवाट जोगाउन मद्धत पुग्ने कौडालले वताउनु भयो ।