किन पढ्नुपर्छ विजयकुमारको ‘खुसी’?

582 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

गुणराज लुइँटेल

timthumbग्रहण लागेर हटेको एउटा जिन्दगीको कथा

पत्रकार विजय कुमारको ‘खुशी’भित्र जोकसैले आफूलाई पाउँछ। खुशीभित्र मैले आफैंलाई पढेँ। प्रत्येक पानाहरूमा आफैंलाई देखेँ। तिनका सुस्केराहरूसँग म सुस्काएँ। तिनका सुखहरूसँग सुखी भएँ।
बुद्धिमान मानिसले अरूका अनुभवबाट सिक्छ। अब यो पुस्तक पढ्ने जसकसैलाई विजय कुमारका जीवनबाट सिकेर आफ्नो जीवनलाई सार्थक बनाउने अवसर मिल्नेछ। आफूलाई प्रगतिपथमा लगाउन चाहने प्रत्येक मध्यम वर्गीय मानिसको भगीरथ प्रयत्नको एउटा भरपर्दो दस्तावेज हो यो।
व्यक्ति युवावस्थाबाट प्रौढावस्थामा पुगेपछि ऊसँग अनुभव र विवेकका खात हुन्छन्। ऊ खुइय्य सुस्केरा हाल्छ। कठै मेरा ती दिन फर्केर आए कस्तो हुन्थ्यो! ऊ कल्पिन्छ। ती दिन फर्केर आउँदैनन्। ‘अचानक पत्रकार बन्धुलई होश आउँछ– सारा संसारका कुरा गर्दागर्दै, देशदुनियाका मानिससित परिचय बढाउँदाबढाउँदै आफैसित परिचय गर्न भुलिएछ (पृ. ३०३)।’
फर्केर नआउने ती दिन व्यक्तिको जीवनका अमूल्य निधि हुन्। विजय कुमारले ती निधिहरू सर्वजन हितायका निम्ति पस्किदिएका छन्। धेरै मानिस विजय कुमारजस्तै भाग्यमानी नहुन सक्छन्। बितिसकेको समय फिर्ता आउँदैन। जीवनको एउटा उचाइमा पुगेपछि पछुताउने समय पनि बाँकी रहँदैन।
विजय कुमारको पुस्तकलाई आत्मसात गर्नेले यतिका अनुभव गर्न प्रौढावस्थामा प्रवेश गर्नै पर्दैन। युवावस्थामै आफूलाई चिनेर व्यवहार गर्न सक्छन्। अतः यो युवाहरूका निम्ति एउटा पथप्रदर्शक हो। अत्यधिक मदिरासेवन धेरै व्यक्तिका जीवन बर्बाद भएका छन्। तिनले अब केही गर्नै पर्दैन। बजार जाने, विजय कुमारको किताब किन्ने, पढ्ने र मसक्क उनले जस्तै आँट गरेर अघि बढ्ने। बाँकी जीवन फेरि सुखसँग बित्नेछ।
म ढुक्कसँग भन्न सक्छु– खुशी पढिसकेपछि निश्चित रुपमा प्रत्येक पाठक गम्भीर हुन्छ। आद्योपान्त पढिसक्दा पाठकले कतै उनी र उनले भेटेका पात्रहसँग संवाद गर्छन्। कतै उनीसँगै रमाउँछन्। अनि कतै तपक्क दुई थोपा आँशु अनायासै परेली भिजाउन आइपुग्छन्। यो पुस्तकले पाठकसँग गहिरो संवाद गर्न सक्छ। पढ्ने मात्र होइन, जीवनमा प्रभाव पार्छ। निश्चित रूपमा भविश्यमा धेरै मानिसले आफ्नो जीवनमा प्रभाव पार्ने पुस्तकको पंक्तिमा ‘खुसी’लाई राख्ने छन्।
पत्रकार हुन इम्प्याथी (अरूका दुःखलाई आत्मसात गर्ने गुण) आवश्यक हुन्छ। इम्प्याथी नभएको व्यक्ति पत्रकार भयो भने त्यसले आफ्नो रोजीरोटी कमाउँछ, जीवनलाई बुझ्न सक्दैन। त्यसले समाजमा रहेका आवाज विहीनलाई कुनै आवाज दिन सक्दैन। आज हाम्रो मुलुकका निम्ति यस्ता पत्रकारको आवश्यकता छ। र, पत्रकार हुन चाहने र भइरहेकाहरूका निम्ति यो एउटा राम्रो पथप्रदर्शक पनि हो।
‘सिपोरा गुरूङलाई मैले टेलिभिजनको सेटमा त्यत्तिकै छाडिनँ। नेपालको अत्याधुनिक अस्पताल ग्रान्डी लिएर गएँ। डा. चक्रराज पाण्डेसित सहयोगको याचना गरेँ। ग्रान्डी अस्पतालले सिपोराको अपरेसन र उपचार निःशुल्क गरिदियो (पृ. ३१९)।’
यस्ता उदाहरण धेरै छन्। दोस्रो संविधानसभा निर्वाचनको रिपोर्टिङ गर्न तुफानी गतिमा लेटाङतिर गुडिरहेको जिपलाई उनले रोकेर बाटो छेउ सकीनसकी ह्विलचयेयर ठेल्दै गरेका युवा किफास मगरको अन्तर्वार्ता उनले गरे। मनकारीहले उनलाई सहयोग गरेपछि भावनाले भिजेका स्वरमा विजय कुमारलाई फोन आयो।
विजय कुमारले अन्तर्वार्ता गरेका व्यक्तिहरू मार्फत् आफूमा यथेष्ट इम्प्याथी भएको सन्देश पहिल्यै दिइसकेका छन्। पुष्पा बस्नेत, अनुराधा कोइराला, उत्तम सञ्जेलजस्ता समाजमा केही गरिहेका व्यक्तिहरू मात्र होइन, अनुहारभरि रौं भरिएकी बालिका वा अपांगता भएका व्यक्ति सबैमा यिनको दृष्टि परेको छ। त्यो उचाइको पत्रकारले भुइँका मान्छेहरूप्रति देखाएको विश्वास र तिनको जीवन परिवर्तनका निम्ति पत्रकारितालाई प्रयोग गर्न सकिने विश्वास पनि जगाएका छन्।
हो, यिनीभित्र हत्पति कसैले प्रवेश गर्न पाउँदैन। केही व्यक्ति होलान् जसले यिनलाई निकटबाट चिने। यो पुस्तक पढ्ने पाठकले अब यिनीसँग संवाद गर्ने अवसर पाउँछन्। यी अन्तरमुखी नभएको भए सायद सबै विषय बोलेरै सिध्याउने थिए होला। कसैसँग नबाँडेका कथाहरूलाई यिनले अक्षरहरूका आवाजहरू मार्फत् सार्वजनिक गरेको भन्दा अत्युक्ति हुने छैन।
विजय कुमार नामको यो पत्रकार प्राणीभित्र करूणा, क्षमा र भावनाका अजस्र स्रोत छन्। उनीजस्तै असल भावना भएका पत्रकार र पेशाकर्मीको एउटा ठूलो संख्या तयार हुने हो भने मुलुकले काँचुली फेर्न धेरै समय लाग्दैन। विजय कुमारको ‘खुशी’ भित्रका अक्षर र भावनाप्रति अविश्वास गर्नुपर्ने ठाउँ देखिन्न।
विजय कुमार खुला किताब होइनन्। यिनको बाह्य आवरण हेरेर यिनलाई चिन्न सकिन्न। ओखरजस्तै यिनीभित्र स्वादिलोपन र उपयोगीपन छ। बोक्रा हेरेर यी चिनिँदैनन्। ‘खुशी’ले यिनको जिन्दगीको ठूलो क्यान्भासमा एउटा सुललित चित्र कोरेको छ। कतिपय प्रसंगमा गलत किसिमले बुझिएका विजय कुमारलाई यो पुस्तकले राम्ररी बुझाएको छ।
मानिसमा कमजोरी हुन्छन्। तर, कमजोरी त्यतिबेलादेखि हट्न थाल्छन् जब व्यक्ति आफैंले तिनलाई महसुस गर्न थाल्छ। आफूभित्रका कमजोरीलाई नलुकाई त्यसबाट विजय पाउन यिनले प्रयत्न गरेका छन्। अब यथार्थमै विजय कुमारले आफ्नो नाम सार्थक पारेका छन्। आफैंलाई चिन्ने र विजयी हुने व्यक्तिको रूपमा किताबले उभ्याएका छ।
सख्खर खाइरहेका सन्तले आफ्नो बानी हटाएर मात्र बालकलाई यो नखान उपदेश दिएको झझल्को आउँछ, विजय कुमारलाई पढ्दा। मदिराको नसामै चुर्लुम्म डुबेर उनले यो पुस्तक लेखेका भए सायद एउटा चर्चित व्यक्तिले लेखेको किताबका
रूपमा मात्र यसको स्थान हुने थियो। त्यसमा धेरै गम्भीर हुनुपर्ने अवस्था आउने थिएन। यिनले आफूलाई परिवर्तन गरेर लेखेको हुनाले यो जीवनको प्रयोगधर्मी पुस्तक पनि हो। विजय कुमारको यो जीवनप्रतिकै प्रयोग हो।
चाहेको भए यिनले हाम्रो शासन, प्रशासन र परराष्ट्रका धेरै रहस्यका गाँठा खोल्ने पुस्तक लेख्न सक्थे। भविष्यमा त्यस्तो लेख्लान् पनि। पुस्तकको प्रकाशक संस्था फाइन प्रिन्टका निरज भारीले आग्रह गरेजस्तै समाजका निम्ति एउटा उपयोगी पुस्तक भएर यो आएको छ। यो किताब त घरघरमा आफ्ना किशोरवय पार गर्दै गरेका छोराछोरीलाई पनि पढाइने छ।
हो, प्रत्येक व्यक्तिको जीवनमा कथा हुन्छन्। ती भनिन र सुनिन लायकका कथा हुन्छन्। तर, विजय कुमारको जस्तो घटनाप्रधान जीवन कमैको हुन्छ। ५२ वर्षको उमेरमा यिनले देख्न र भोग्न केही बाँकी छैन। त्यही भएर यिनी एउटा वैराग्यजस्तो भावका साथ अहिले पत्रकारितामा छन्। ठूला मानिसहरूलाई भेटेर र तिनका अन्तर्वार्ता गरेर आफ्नो अहंकारलाई चुल्याउनु पर्ने दरकार यिनलाई परेको छैन।
तिनले जीवनमा धेरै ठूला मानिस भेटेका छन्, असाध्यै मीठा परिकार चाखेका छन् र मदिरा सेवनबाट डुबिसकेको जिन्दगीलाई फेरि उठाएका छन्। यिनको कथा पढ्ने प्रत्येक अत्यधिक मदिरासेवनबाट पीडित व्यक्तिले यो समस्याबाट मुक्ति पाउने अचूक बाटो पाउने छ। यस अर्थमा पनि यो पुस्तक समस्यामा परेका धेरै जीवनको उद्धारक बन्नेमा ढुक्क हुन सकिन्छ।
चाँडै सबैले चिनिने व्यक्ति बन्न यिनी पत्रकारितामा आएका थिए। छँदाखाँदाको ओभरसियरको जागिर छाडेर यिनी पत्रकारितामा लागे। सुरुका दिनमा यिनमा अभिमान थियो। त्यसलाई समय क्रममा पहिचान गरे। त्यसबाट पनि मुक्त भए। पत्रकारितामा नयाँ प्रयोगहरू गरे। पत्रकारितामा सुरुमा डरले चिच्याएको शैलीलाई नै मानिसहरूले मन पराइदिए।
काँचको पर्दामा झुल्किने विजय कुमारले नेपाली पत्रकारितामा लाग्दा भोगेका हण्डर र ठक्करहरूले यस क्षेत्रका समस्यालाई सर्वसाधारणको दृष्टिभित्र ल्याइदिएको छ। कुनै पनि व्यक्तिलाई अवसर एकपटक आउँछ। अथवा कसैले त्यो मौका दिन सक्छ। त्यो अवसरलाई उसले आत्मसात गर्‍यो भने ऊ विजय कुमार बन्न सक्छ।
समकालीन नेपाली पत्रकारितामा विजय कुमार प्रत्येक क्षेत्रमा देखिन सक्छन्। क्रेनले टिपेर कुनै पदमा पुर्‍याएर मात्र पुग्दैन। त्यसका निम्ति सम्बन्धित व्यक्तिको कठोर मेहनत आवश्यक हुन्छ। त्यो मेहनतसँग साक्षात्कार गर्न यो पुस्तकले मौका दिन्छ।
जीवन संयोगहरूको कोलाज हो। त्यही नेपाल टेलिभिजन हो जहाँ उनी तालिमका निम्त छनोट हुनबाट समेत वञ्चित भएका थिए। अनि पटकपटक अपमानित भएर पनि उनी निकालिए पनि। यिनी आर्थिक संकटमा परेका छन्– अहिलेका अधिकांश पत्रकारहरू जस्तै। यिनको भाग्य हो– मुलुकका नामीदामी व्यापारी, नेता, कुटनीतिज्ञ, प्रकाशकसम्म पुग्न सके। अर्को हिसाबले भन्दा उनीहरू नै यिनीसम्म आइपुगे।
अरुको कुभलो नचिताउने व्यक्तिलाई कतै न कतैबाट सहयोग आउँछ। विजय कुमारलाई प्राप्त सहयोग पनि यिनै कोटीका हुन्। यो पुस्तक एउटा विश्वासको दस्तावेज पनि हो। कुनै एउटा बाटो बन्द भए पनि व्यक्तिको जीवनमा अन्य बाटाहरू खुलिरहेका हुन्छन्। बस्, व्यक्तिले प्रयत्न गर्न छाड्नु हुन्न। यही सन्देश दिन्छ यो किताबले।
खुशी पुस्तकका शब्दमा शक्ति छ। जब शब्दहरूमा जीवन भोगाइका यथार्थ हुन्छन्, तिनले पाठकलाई आश्वस्त पार्छन्। ती छमछम नाँच्छन्। पाठकलाई आफ्नै कथा बाँडेजस्तो तुल्याउँछन्। पक्कै पनि ‘खुशी’का प्रत्येक शब्दमा विजय कुमारको हृदय बोल्छ। त्यसैले यसमा शक्ति छ।
मलाई याक एण्ड यति होटलको खचाखच विमोचन समारोहदेखि नै एउटा भिन्न अनुभूति भइरहेको थियो। विमोचन समारोहको मञ्चमा विजय कुमारका मुस्कुराइरहेका ठूला फोटाहरू थिए। किताबको नामै खुशी। वातावरण खुशी। अनि खुशी सम्झेर सबैका ओठमा खुशी नै खुशी। मान्छेहरू खुशीखुशी आए, खुशीखुसी सुने र खुशीखुशी हिँडे।
मैले पनि एकथान खुशी बोकेर हिँडेपछि त्यसलाई सुम्सुम्याएँ। मानौं मभित्रको खुशीको एउटा पुलिन्दा यसमा छ। म जतिसक्दो चाँडो यसलाई पढ्न चाहन्थेँ। दुई दिनमै सिध्याएँ पनि। यो यस्तो पुस्तक हो जसलाई तपाईंले पढ्न थालेपछि बिसाउन मन लाग्दैन। प्रत्येक वाक्य अर्थपूर्ण छन्। र, उत्सुकताले निरन्तर पाठकलाई तानिरहन्छ। बरु यी पंक्तिहरू लेख्न मैले ढिलो गरिरहेको छु। कारण :  म सकेसम्म मानिसहरूलाई प्रभाव पर्ने गरी यो किताबको बारेमा बताउन चाहन्छु। मेरो आग्रह छ सबैले यो जीवनोपयोगी पुस्तक पढून्।
विजय कुमारको ‘खुशी’ हाम्रो जीवनका वहुआयामिक पक्षलाई सम्बोधन गर्ने एउटा राम्रो किताब हो। प्रत्येक सफल व्यक्तिजस्तै यसमा सपना छन्। ती सपना पूरा गर्ने तारिका पनि। त्यहाँ परिवार छ। एउटा सदस्यमा आएका विचलनले सिंगो परिवारमा पर्ने समस्याका रूपरेखा छन्। त्यहाँ जीवनप्रतिको जीजिविषा छ। अहंकार छ। र, अन्त्यमा यी सबैलाई महसुस गरिसकेपछि मुक्तिको प्रयत्न छ। सबै वस्तुको भोगपछि स्वाभाविकरूपमा तिनीहरूप्रतिको आशक्ति पनि हट्दै जान्छ। तर, यिनले बुझेर यी तत्वहरूबाट आफूलाई मुक्त पारेका छन्।
‘मेरो जीवनमा पनि कहिले घमण्डको ताप हावी भयो, कहिले स्वाभिमानको राप र कहिले विनम्र संवेदनशीलताको शितल छहारी। सब कुरा भयो तर नक्कलीपनको छाया ममाथि परेन (पृ. २७८)।’
यो पुस्तक पढिसकेपछि म निकै घोरिएँ। हाम्रा धेरै मानिसहरूले यो पुस्तक किन पढ्नुपर्छ? केही बुँदाहरू उल्लेख गर्नु उचित लाग्यो।
पत्रकारिता :
पत्रकार बन्नका निम्ति त्यही विषयभन्दा पनि विषयवस्तुलाई हेर्न सक्ने दृष्टिकोण चाहिन्छ। अझ सबैभन्दा महत्वपूर्ण पक्ष शिक्षा हो। आजको विजय कुमार बन्न प्रेस विज्ञप्ति मात्र पढेर पुग्दैन। त्यसमा पनि यिनले पुस्तकमा दिएका सन्दर्भहरूले देखिन्छ यिनको अध्ययन र संगतको धरातल।
जीवनमा अन्तर्वार्ता लिएका व्यक्तिहरूका सद्गुणहरूलाई आत्मसात गर्दा मात्रै पनि एउटा पत्रकार असल मानिस बनिसक्छ। तर, राम्रा अन्तर्वार्ता लिन आत्मासँग आत्माको संवाद हुनै पर्छ। विजयलाई पढिसकेपछि पक्कै पनि पत्रकारहरूका निम्ति त्यो क्षण आउनेछ।
पत्रकार बन्न निर्भय हुनुपर्छ। यिनको मनमा सधैँ पत्रकारिताका निम्ति टाउकोमा गोली थापेको सम्पादक पदम ठकुराठीसँग काम गरेको क्षण आइरहन्छ। डर त वीर अस्पतालमा उनलाई रातभरि कुरेर बसेकै बेला गइसकेको उनले पुस्तकमा खुलाएका छन्।
‘टाउकोमा गोली खाने सम्पादकको साटो कुनै घटिया सम्पादकका साथ करिअर सुरु गरेको भए, त्यस्तो हुने थिइनँ जस्तो भएँ। नीर शाहको साटो कुनै जागिरदास मानिसकताको मानिस नेपाल टेलिभिजनमा मेरो पहिलो हाकिम भएको भए, त्यस्तो हुने थिइनँ जस्तो भएँ (पृ. २६८)।’
यो पुस्तक पत्रकारहरूलाई पत्रकारिताको सोपान चढाउने मार्गदर्शक बन्न सक्छ। पत्रकारिता स्कुलहरूले यसलाई सन्दर्भ सामग्री बनाउन सके भने उपयोगी हुन्छ।
मदिरा :
यसले विजय कुमारलाई झण्डै खाइसकेको रहेछ। उनले आफू यसबाट बाहिर निस्किन गरेको प्रयासलाई बेलिविस्तार लगाएका छन्। त्यतिमात्र होइन ‘आइ एम अल्कोहोलिक’ भन्न यिनलाई कति कठिन परेको रहेछ भन्ने यसमा
देखिन्छ।
हाम्रा धेरै कलाकारहरूमा पनि यो समस्या छ। रक्सीको लतमा लागेका धेरै प्रतिभाहरू असमयमै समाप्त भएका छन्। ती बाँचेका छन्। बाँचेर पनि ती मरेतुल्य छन्। तिनलाई यो अवस्थाबाट निकाल्न पाए हाम्रो समाज र राष्ट्रका निम्ति ठूलो योगदान हुन्छ। उनले आफूमा रहेको यो समस्याको खुलासा मात्र गरेका छैनन्, यसबाट उनको जीवनमा लागेको ग्रहणबाट कसरी बाहिर निस्किए भन्ने यस पुस्तकले देखाउँछ।
मदिराले उठ्न नसकी ह्यात होटलकै पार्किङ लटमा रातभरि सुतेका बेला त्यहाँका गार्डले आपसमा कुरा गरेको उनले सुने, ‘हेर, यस्तो राम्रो र बुद्धिमान मानिसको गति! दुई पेग थोरै खाए पनि त हुन्थ्यो नि! यो मान्छे मलाई टेलिभिजनमा सबैभन्दा मनपर्ने मान्छे थियो। तर यसको जस्तो हालतमा हुनुभन्दा त होटलमा गार्ड भएर जीवन बिताउनै राम्रो (पृ. १५)।’
मदिरा छोडेपछि आमाले घाम उदाए र अस्ताएजस्तै उनको विम्वलाई प्रयोग गरेकी छिन्। केही दिनका निम्ति ग्रहण लागेको स्थितिका रूपमा गरेको यो चित्रणले भावविह्वल बनाउँछ। ‘सूर्यजस्तो होस तँ। केही समय सानो ग्रहण लागेको थियो। मुक्त भइस्। यो भन्दा ठूलो खुसी मेरो लागि के हुन सक्छ र?’ (पृ. १२४) आमाको यो भनाइले कसको हृदय गाल्दैन र?
मदिरामा लठ्ठ भएका विजय कुमारका बारेमा उनकै छोरीले लेखेको र पछि त्यही कागजमा उनी ‘ग्रहण मुक्त’ भएपछि लेखेको प्रसंगले त हृदय विदीर्ण गराउँछ। प्रत्येक मदिराप्रेमी बाका सन्तानहरूको अवस्था दयनीय हुन्छ। उनले त्यसलाई चटक्क छाडेपछि सन्तानमा देखिएका सुखीबाट उनले पाएको खुसी अतुलनीय छ।
मदिराले खाइरहेका विजय कुमारले एक दिन छोरीले अंग्रेजीमा लेखेको एउटा कागजको टुक्रा फेला पारे, जुन अन्य धेरै बालबालिकाको मनमा भएको र लेख्न नसकेको कुरा हो। ‘कुन्नि किन हो, मेरो त्यति राम्रो बाबा राति त्यस्तो भएर आउँछ। मेरो राम्रो बाबालाई रक्सी खाएपछि कुनै अर्कै नराम्रो बाबाले खाइदिन्छ (पृ. २४)।’
धर्म–दर्शन :
लामा गुरूहरूलाई धेरै चिनेको छैन हामीले। हामी धेरै कर्मकाण्डबाट आएको समाज हौं। तर, बौद्ध दर्शनभित्र गहिराइ छ। लामा गुरुहरूले विजय कुमारलाई ज्ञान मार्गमा हिँडाएका छन्। त्यति मात्र होइन, उनलाई आफ्नै सम्प्रदायमा मात्र सीमित हुन उनले भनेका छैनन्। ती गुरुहरूले कतै बोलेर कतै नबोली उनलाई ज्ञान मार्गमा हिँडाएका छन्।
नाम्खा रिम्पोचेलाई २०६६ हिउँदमा भेटेको प्रसंग उल्लेख गर्दै उनी लेख्छन्, ‘नाम्खा रिम्पोचेको दर्शन पाउनेबित्तिकै मेरो संसार बदलियो। नाम्खा रिम्पोचेले ‘शब्द’द्वारा मलाई केही सिकाएनन्। शब्दबाट सिकाएको भए म केही सिक्ने पनि थिइनँ। उनले मलाई केही गरेर होइन, केही नगरी सिकाए। शब्दले होइन मौनताले पढाए (पृ. २९८)।’
चोकी निमा रिम्पोचे, दुजोम रिम्पोचेजस्ता अनेकन तपस्वी लामा गुरूहरूका प्रसंग छन् पुस्तकमा। स्वामी आनन्द अरुणको झलक बेलाबेलामा यसमा आइरहन्छ। अझ काठमाडौंमा ओशो आएका बेला ‘भगवान’ भन्ने शब्द व्यक्त गर्न नसक्ने टिठ अवस्थादेखि अहिलेका आध्यात्मिक चेतयुक्त विजय कुमारसँगको संक्रमण पनि हेर्न लायकको छ।
हाम्रोजस्तो विविधताले भरिएको यो मुलुकमा ज्ञानका यस्ता अजस्र स्रोत छन्। हामी जलस्रोतका मात्र धनी छैनौं। खाली हामीले तिनलाई सदुपयोग गर्न सकेका छैनौं। लामा गुरू हुन् वा मुसलमान फकिर, सबैका आध्यात्मिक चेतनाले हामीलाई मार्गदर्शन गर्न सक्छ। यो पुस्तक अन्य क्षेत्रको खोजका निम्ति पनि प्रेरित गर्ने किसिमको छ।
अन्त्यमा शैली
आखिर श्रीकृष्ण रहेछ एक भनेजस्तै जिन्दगीभरि राजादेखि रंकसम्मका अन्तर्वार्ता लिने यी पत्रकार विजय कुमारले पत्रकार जिन्दगीको गाँठी कुरा यसरी व्यक्त गरेका छन् :  ‘असंख्य अन्तर्वाता गरिसकेपछि मलाई आभास हुन्छ, जीवनको सर्वोच्च अन्तर्वार्ता त निःशब्द रहेछ! यसो भन्ने बेला मलाई थाहा छ, निशब्दता पारमार्थिक सत्य हो, व्यवहारिक सत्य होइन (पृ. २५८)।’
खुसीमा समेटिएका संवाद, यसमा रहेका राजनीतिक परिवर्तनका प्रसंग, यसमा जोडिएका जीवन र जगतका विषय आदि इत्यादिले यो पुस्तकलाई बहुआयामिक विषयको जानकारी दिनसक्ने गरी खँदिलो बनाएको छ। यो पुस्तक अनुभव, शिक्षा, आचार, जीवनको गति र दर्शनको संगम हो। विजय कुमारले आफूलाई एक दशकमा कहाँबाट कहाँ पुर्‍याएछन् भन्ने बुझ्न पनि पुस्तक आद्योपान्त नपढी सुखै छैन।
लेखन शैलीदेखि छपाइसम्म हिसाबले पनि यो कृति उम्दा छ। आफूलाई महान व्यक्तिका रूपमा मात्र खडा गर्न खोजेका भए विजय कुमारको यो कृति पनि आफ्नो तुष्टिको पुलिन्दा मात्र हुने थियो। पुस्तकको अन्तिममा आएर यी विनयी भावले लेख्छन् :
‘जुनजुन घटना वा जोजो मानिसले मलाई जीवनमा बग्न मद्दत गरे, ती सबलाई सलाम! जसजसले मलाई रोक्ने कोसिस गरे, तिनलाई पनि सलाम! प्रवाह नरोकिएको भए, म तालझैं जम्ने थिइनँ। नजमेको भए, आज यसरी बग्ने थिइँन (पृ. ३२६)।’
-सेतोपाटी डट कमवाट