एकै स्थानमा पुस्तक प्रदर्शनी र साहित्यिक महोत्सव

702 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाडौँ, –
विना कर्म फल्ले यहाँ फसल हुँदैन्न ।
स्वर्ग जाने टिकट दिने पसल हुँदैनन् ।
सर्प भित्र विष हुन्छ, उसै भित्र मणी पनि,
भन्दिन म सबै खराब असल हुँदैनन् ।

pustak pradashaniसाहित्यकार निशा केसीले प्रदर्शनी मार्गस्थित भृकुटीमा आयोजना गरिएको साहित्यिक यात्रामा यिनै मुक्तकीय हरफहरु बाचन गरिरहँदा स्रोता मन्त्रमुग्ध भएर मुक्तकमार्फत आनन्द लिइरहेका थिए ।

बृहत् राष्ट्रिय पुस्तक प्रदर्शनी तथा साहित्यिक यात्रा महोत्सव–२०७१ ले आयोजना गरेको उक्त कार्यक्रममा लामो समयसम्म लेखक, निर्देशक तथा नाटककार चेतन कार्की, साहित्यकार ज्ञानु अधिकारी र शैलेन्द्रप्रसाद नेपालसँग नेपाली मुक्तकको लोकप्रियता, विकास र लेखनका सम्बन्धमा छलफलसमेत भएको थियो ।

लेखक, निर्देशक, तथा नाटककार चेतन कार्कीले कविताको लघुतम रुप, चर्तुरपंक्ति र आफैमा पूर्णभएको रचनालाई नै मुक्तक मान्नुहुन्छ ।

मुक्तक बन्नका लागि चार हरप, भावना अभिव्यक्ति र कलात्मक कृति मुक्तकभित्र पर्ने बताउँदै उहाँले भन्नुभयो, “पहिल्लो समयमा मुक्तकका बारेमा विभिन्न परिभाषा आए पनि संक्षिप्त, कलात्मक तथा व्यङ्यात्मक रचना नै बढि उत्कृष्ट देखिएको छ ।”

मुक्तक साहित्यको छोटो रुप भएको उल्लेख गर्दै त्यसमा स्रोतालाई आकर्षक गर्न सक्ने व्यङ्ग्यात्मक शक्ति रहेको साहित्यकार ज्ञानु अधिकारीको सहमति छ ।

नेपालमा मुक्तकको विकास मोतिराम भट्टको समयमा भएको बताउँदै साहित्यकार शैलेन्द्रप्रसाद नेपालले महाकाव्य र खण्डकाव्यबाट निकालिएको अर्थपूर्ण एकाइलाई मुक्तक भएको चर्चा गर्नुहुन्छ ।

सो अवसरमा घनश्याम न्यौपाने ‘परिश्रमी’, महादेव विश्वकर्मा, शुनिल अधिकारी, आनन्द श्रेष्ठ, नवीन चिराक, युवराज लामिछाने, दिव्य गिरी, विष्णुबाबु देवकोटा, तिलस्मी प्रभाष, विनोद उदय, विष्णुप्रभा सापकोटा, विष्णुबहादुर सिंहलगायतले मुक्तकमार्फत स्रोतालाई आकर्षण गर्नुभएको थियो ।

भदौ २७ गतेदेखि सुरु भएको महोत्सव–२०७१ मा अहिलेसम्म करिब रु ५० लाख को पुस्तक बिक्री भएको आयोजकले जनाएको छ । सो पुस्तक प्रदर्शनीमा सबैभन्दा बढी बिक्री हुने पुस्तकहरुमा विजय कुमारको ‘खुसी’, रुकमाङ्गद कटवालको ‘आत्मकथा’ र सुबिन भट्टराईको ‘साया’ लगायतका पुस्तक रहेका छन् ।

सो पुस्तक प्रदर्शनीमा फिनिक्स प्रकाशन, पाँच पोखरी प्रकाशन, ऐरावती प्रकाशन, डिकुरा प्रकाशन, पैरवी बुक हाउस, प्रगति पुस्तक सदनलगायत करिब १२० वटा प्रकाशनले प्रकाशित गरेका पुस्तक प्रदर्शनीमा राखिएको छ ।

साहित्यिक यात्रा महोत्सवका संयोजक विप्लव ढकालले अहिले काठमाडौँमा गरिए जस्तै साहित्यिक यात्रा उपत्यका बाहिर मुलुकका विभिन्न तीन स्थानमा पनि गर्न लागिएको जानकारी दिनुभयो ।

साहित्यिक यात्रामा पुस्तक विमोचन, विशेष काव्यसभा, गजल बाचन, मुक्तक मेला र साहित्यका विभिन्न विधामा छलफल लगायत आजसम्म करिब १५ वटा कार्यक्रम सम्पन्न गरिसकिएको छ भने असोज ५ अर्थात् १० दिनसम्म २४ वटा कार्यक्रम सम्पन्न गरिने संयोजक ढकालको भनाइ छ ।

महोत्सव व्यवस्थापक कमल ढकालले साहित्यिक र पुस्तक प्रदर्शनलाई जोडेर एकै ठाउँमा नेपालको सन्दर्भमा पहिलो पटक भएको जिकिर गर्नुभयो । एउटै मञ्चमा नेपाली साहित्यका विभिन्न विधामा १० दिनसम्म कार्यक्रम सञ्चालन गरिएको पनि पहिलो पटक भएको उहाँको दावी छ ।