रविदत्त सापकोटा लुट्नेलाई रहजनी चोरी मुद्धामा कैद सजायँ

900 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ,- जिल्ला अदालत धादिङले रहजनी चोरी मुद्धामा चार जनालाई दोषि ठहर गरी जरीवाना सहित कैद फैसला सुनाएको छ ।
images (3)सदरमुकाम धादिङबेसीवाट शिक्षकहरुको तलव बुझेर बिद्यालय तर्फ जांदै गर्दा २०७० असोज १३ गते बेलुकी ५ वजे तिर अचने उच्च मावि खहरेका प्रधानाध्यापक रविदत्त सापकोटामाथि ज्यामरुङ गाविसको धुसेनीडांडामा सांघातिक हमला भई रकम लुटिएको थियो । एक बर्ष देखि जिल्ला अदालतमा चलिरहेको मुद्धाको किनारा लगाउँदै बुधवार जिल्ला न्यायाधीश रमेशराज पोखरेलको इजलासले रहजनी चोरी मुद्धामा संलग्न रहेको आरोपमा ज्यामरुङ गाविसका अर्जुन ठकुरी,हिरा राना र इश्वरी पल्ली मगरलाई ४ बर्ष २ महिना कैद सजाय सुनाएको हो । यसैगरी सोही मुद्धामा अभियुक्त ठहरिएका रामेश्वर गोतामेलाई ज्यानमार्ने उद्योगमा ५ बर्ष तीन महिना कैद सजायं सुनाईएको छ । सापकोटावाट लुटिएको रकम १६ लाख पन्ध्र हजार र जरिवाना समेत गरी अभियुक्तहरुवाट ३३ लाख रुपैया असुल उपर गर्न समेत अदालतले आदेश जारी गरेको छ ।
मोटरसाईकलमा सदरमुकामवाट घर तर्फ जांदै गरेका शिक्षक सापकोटालाई एकान्त जंगलमा नियन्त्रणमा लिई सडकवाट तल तिर खसाली रकम लुट्नुका साथै सांघातिक हमला गरिंदा सापकोटाको शरिर भरि घाउ चोट लागेको थियो । लामो समय सम्मको उपचार पछि सापकोटा बिद्यालय फर्किएका थिए । आंफु माथि भएको अपराधमा संलग्न भएका व्यक्तिलाई अदालतले दोषि ठहर गरी फैसला सुनाएकोमा सापकोटाले न्यायको जित भएको प्रतिकृया दिएका छन ।
अभियुक्त ठहर गरिएका मध्ये इश्वर पल्लीमगर यस अघिनै धरौटीमा रिहा भएका थिए । अन्य तीन जना भने पुर्पक्षका लागि थुनामा रहेकोमा बुधवारवाट जेल चलान गरिएको छ । मगरको भने प्रहरीले खोजी शुरु गरेको छ ।