आमाबाबु सम्झँदै विद्यालय भवन

713 पटक पढिएको

सम्पादक: Dhadingnews.com

आमाबाबु सम्झँदै विद्यालय भवनधादिङ/बाँचुञ्जेल राम्रो हेरचाह नगर्नेले पनि मरेपछि जन्म, शिक्षादीक्षा र कर्म दिने आमाबाबुलाई विभिन्न तरिकाले सम्झने गर्छन्, धर्म, समुदाय, क्षेत्रअनुसार फरक–फरक शैली र परम्परामा। धादिङका एक व्यक्तिले आफ्ना बाबुआमालाई स्मरणीय र प्रशंस्य शैलीले सम्भि्कए– दुर्गम गाउँमा लाखौं निजी खर्चले विद्यालय भवन बनाइदिएर।

उत्तरी धादिङको विकट क्षेत्र गुम्दी– ६ का हरि सिंखडाले आमा–बाबुको नाममा ५२ लाख रुपैयाँ लगानी गरेर तामाङखर्क उच्च माविलाई चारकोठे पक्की भवन बनाइदिएका हुन्। सिंखडाले स्वर्गीय मातापिताका नाममा बनाइदिएको भवनको नाम राखिएको छ– ‘नन्दभद्रा विद्यासदन’ । कांग्रेस वरिष्ठ नेता शेरबहादुर देउवाले बुधबार विशेष कार्यक्रमबीच व्यवस्थापन समितिका अध्यक्ष हरिमान श्रेष्ठलाई भवनको साँचो हस्तान्तरण गरे। सबैले हरिको यो कामको मुक्त कण्ठले प्रशंसा गरे।

कांग्रेस महासमिति सदस्य सिंखडा नन्दप्रसादका चार श्रीमतीमध्ये माइली श्रीमती भद्रादेवीका माइला छोरा हुन्। सामान्य किसान परिवारका नन्दप्रसादका चारै श्रीमतीका गरी १२ छोरा छन्। उनीहरु सबै शिक्षित छन्। आफ्ना आमाबाबुको शिक्षाप्रतिको मोहलाई जीवन्त राख्न व्यक्तिगत लगानीमा भवन निर्माण गरेको हरिले नागरिकलाई बताए। उतिबेला गाउँ आसपास पाठशाला नहुँदा बाबुले २०१५ सालमा त्रिशूली र ०१८ मा काठमाडौं लगेर आफ्ना सबै दाजुभाइलाई पढाएको सम्झँदै उनी भन्छन्, ‘त्यसबेलाको दुःख सम्भि्कएर विकट गुम्दीका बालबालिकालाई उच्च शिक्षा हासिल गर्न भौतिक सहयोग गरेको हुँ।।’

हेटौंडामा पोलिथिन पाइप उत्पादन उद्योग सञ्चालन गर्दै आएका उनका एक छोरा चाटर्ड एकाउन्टेन्ट र तीन छोरी युरोपमा छन्। उद्योग व्यवसायमा संलग्न सिंखडा साहित्यकार पनि हुन्। उनको ०३८ मा सामाजिक उपन्यास ’मोड’ र ०६९ मा राजनीतिक उपन्यास ’समयचक्र’ प्रकाशित छन्।

धादिङबेसीबाट मोटरमा पाँच घन्टा लामो कच्ची सडकको यात्राबाट पुगिने उक्त गाउँमा पक्की भवन भएको उक्त स्कुल आसपासका दर्जन बढी गाविसकै नमुना भएको छ। उनले जिल्ला सदरमुकाम धादिङबेसीबाटै रड, सिमेन्ट, ब्लक व्यक्तिगत खर्चमा ढुवानी गरेको बताए।

लामो समयदेखि सपरिवार काठमाडौं बस्दै आएका सिंखडाले भवन निर्माण, आधुनिक फर्निचर र ढुवानीका लागि ५२ लाख रुपैयाँ खर्चिएका छन्। शिक्षा क्षेत्रमा सहयोग गर्न रुचाउने उनले यसअघि बसेरी, आगिन्चोक, दार्खा, सत्यदेवी, री, तिप्लिङ, कटुञ्जे, नौबिसे, ढोला, सल्यानटार, गुम्दीकै कल्याण निमावि, नीलकण्ठ क्याम्पसलगायत दर्जन बढी विद्यालयको भौतिक पूर्वाधार निर्माणका लागि ५० हजारदेखि ५ लाख रुपैयाँसम्म आर्थिक सहयोग गर्दै आएको बताए। उनले गाउँकै धार्मिक स्थल निर्माणका लागि पनि दुईपटक गरी १ लाख ७१ हजार सहयोग गरेका छन् ।

भवन हस्तान्तरण समारोहमा उपस्थित गाउँलेबीच विद्यालयको सम्मान ग्रहण गर्दै सिंखडाले नन्दभद्राको नाममा क्याम्पस स्थापना गर्न समेत आवश्यक पर्ने सम्पूर्ण आर्थिक सहयोग उपलब्ध गराउने बताए। उत्तरी क्षेत्रका २० गाविसमध्ये त्रिपुरेश्वरको खहरे र सल्यानटारमा गरी दुइटा क्याम्पस सञ्चालित छन्। यी दुवै स्थानमा पुग्न पैदल पाँच घन्टा लाग्ने हुँदा उच्च शिक्षाका लागि जिल्ला सदरमुकाम धादिङबेसी र काठमाडौं धाउनुपर्ने बाध्यता छ।

उनले उत्तरका दर्जन बढी गाविसको बीच भागमा पर्ने सो स्थानमा निकट भविष्यमै नन्दभद्रा सामुदायिक क्याम्पस स्थापना गरिदिने बताए। उनले भने अब यहाँका छोराछोरी उच्च शिक्षा लिन कहीँकतै भौंतारिनुपर्दैन भन्दै क्याम्पसको तयारीमा जुट्न स्थानीयलाई आग्रह गरे।

सिंखडाकै लगानीमा हेलिकप्टर चढेर हस्तान्तरण समारोहमा पुगेका प्रमुख अतिथि देउवाले सिंखडाको मुक्तकण्ठले प्रशंसा गरे। व्यक्तिगत लगानीमा विकट स्थानमा पक्की भवन निर्माण गरेर सिंखडाले अनुकरणीय कार्य गरेको उनले बताए। देउवाले देशको समग्र विकासका लागि शिक्षामा लगानी बढाउन आवश्यक भएको बताउँदै शैक्षिक क्षेत्रमा सबैको लगानी आवश्यक भएको बताए। छोटो समय बोल्ने स्वभावका देउवाले राजनीतिक कुराभन्दा पनि प्रशंसामै समय खर्चिए। धनसँगै मनका खानी सिंखडाले क्याम्पससमेत स्थापना गरिदिने बताएपछि उत्साही बनेका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्रेष्ठले तुरुन्तै क्याम्पसको तयारीमा जुट्ने प्रतिबद्धता व्यक्त गरे। उक्त उच्च माविमा हाल ६ सय ९० जना विद्यार्थी अध्ययन गर्ने प्राचार्य भरत सिंखडाले जानकारी दिए।( नागरिकन्युज डट कम बाट )