मकैबालीभित्र व्यावसायिक सयपत्री फूलखेती

617 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

filower-1024x756धादिङ, – जिल्लाको भूमिस्थान कार्कीडाँडाका किसानले मकैबालीभित्र सयपत्री फूलखेतीबाट आम्दानी लिन थालेका छन् । कार्कीडाँडाका अधिकांश किसानले मकैखेतीभित्र व्यावसायिक सयपत्री फूल उत्पादन गरी आम्दानी लिन थालेका हुन् ।

दसैँ–तिहार नजिकिँदै जाँदा कार्कीडाँडाका किसान मकैबारीभित्र लगाएका सयपत्री फूलखेती गोडमेलमा व्यस्त छन् । भुमेस्थान गाविसमा १० वर्षदेखि मकैभित्र व्यावसायिक फूलखेती गरी किसानले दोहोरो आम्दानी लिँदै आएका छन् ।

कार्कीडाँडामा सयपत्री र भट्टमासको खेती बढी हुने गरेको छ । दसैँ मनाउने आम्दानी स्रोत भट्टमास र सयपत्री फूल भएको स्थानीय बताउँछन् । डेढ सय घर–परिवारले व्यावसायिक सयपत्री फूलखेती गर्दै आइरहेका छन् ।

फूलखेती मकै बारीभित्र गर्न सकिने, त्यसका लागि छुट्टै मल हाल्नुनपर्ने, कोदालोले गोडमेल गर्न नपर्ने यसो झारपात मात्र ओखले पनि पुग्ने र रोग संक्रमण नहुने हुँदा फूलखेतीप्रति किसान आकर्षण बढेको स्थानीय पार्वती सुनारले बताइन् ।

सयपत्री फूलखेती गरेको स्थानीय भगवती सामुदायिक संस्थामा सुनार सदस्यका रूपमा कार्यरत छन् । उत्पादित फूल बेच्न बजार चहार्नुपर्ने अवस्था नरहेको स्थानीय बताउँछन् । तरकारीजस्तो फूल बेच्न बजार जानुनपर्ने बरु फूल खोज्दै व्यापारी गाउँमै आउने गरेको सुनार बताउँछिन् ।

कार्कीडाँडामा उत्पादित सयपत्री काठमाडौं, पोखरा पुग्ने गरेको छ । फूल फुल्न थालेपछि व्यापारी घरमै आएर अग्रिम रकम दिने गरेका छन् । स्थानीयले सयपत्री फूलमालाको प्रतिगोटा ५० देखि ८० रुपैयाँसम्म बिक्री गर्दै आएका छन् ।

फूलखेती गर्न सजिलो र आम्दानी पनि राम्रो हुने भएपछि स्थानीयले व्यावसायिक रूपमै आम्दानीको स्रोत बनाएको कार्कीडाँडाका जितबहादुर तामाङ बताउँछन् ।

पहिला मकैबारीभित्र खुर्सानीखेती गर्दै आएका स्थानीयले यतिबेला सयपत्री फूल लगाएर आम्दानी बढाएको उनको भनाइ छ ।

भूमिस्थानमा व्यावसायिक रूपमा गरिएको सयपत्री फूलखेतीबाट एक किसानले सिजनमा करिब डेढ लाख रुपैयाँसम्म आम्दानी लिँदै आएका छन् ।

नयाँ पत्रिका