रेडपान्डाको आहारा संरक्षणमा स्थानीय

572 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

red pandaaइलाम,-खुल्ला चरिचरन कारणले विश्वमा दुर्लभ मानिएको रेडपान्डाको आहारा मासिन थालेपछि उत्तरी इलामका बासिन्दा आहाराको संरक्षणमा लागेका छन् ।

रेडपान्डाको मुख्य आहारा भालुचिन्डे गाईवस्तुलाई घाँसका रूपमा पनि प्रयोग गरिने र पुराना रूखदाउराको प्रयोग गर्न फँडानी भएकाले रेडपान्डा सङ्कटमा पर्नसक्ने स्थानीय बताउँछन् । सिमलको जस्तो पात भएको यो जातको रूखलाई संरक्षण गर्न सुलुबुङको माईपातालमा माईपोखरी हर्बल अग्र्यानिक एग्रिकल्चर प्रालिले भालुचिन्डेको विस्तार गर्न सुरु गरेको छ ।

उत्तरी क्षेत्रमा रहेका जरबुटे भालुपानी वन समूह, माईपाताल समूह, जौवारी हाँगेथाम, छिन्टापु टप्परे, चोयाटार, नयाँबजार र मावुथाम सामुदायिक वनमा भालुचिन्डे तथा मालिङ्गो संरक्षणका लागि हेरालुको समेत व्यवस्था गरिएको छ ।

मालिङ्गोको टुसा अत्यधिक रूपमा तरकारीका रूपमा प्रयोग हुने भएकाले यसको चोरी–निकासीसमेत हुने गरेको छ । खुल्ला चरिचरन र घाँस दाउराका लागि उत्तरी वनबाट मालिङ्गोको टुसा लुकिछिपी रूपमा बिक्री हुने गरेको समेत जमुनाका कुमार गुरुङ बताउँछन् ।

मालिङ्गो र भालुचिन्डे भएका स्थानमा रेडपान्डा बस्ने भएकाले समुदायले संरक्षणको प्रयास थालेका हुन् । रेडपान्डाको चोरी–निकासी रोक्न र यसको आहारा संरक्षण गर्ने जनचेतना जगाउने उत्तरी गाउँमा शनिबार रेडपान्डा दिवससमेत मनाइएको छ । दिवसका अवसरमा यहाँका सामुदायिक वनमा पाइने रेडपान्डा टिकाइराख्न आहाराको संरक्षण गर्नुपर्नेमा संरक्षणकर्मी फिञ्जु शेर्पाले जोड दिनुभयो ।

रेडपान्डा हेर्न आन्तरिक तथा बाह्य पर्यटक आउने भएकाले उत्तरी गाविसमा पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने विश्वास स्थानीयवासीले लिएका छन् । रेडपान्डा लोप हुन नदिन आहारा र यसको बासस्थान जोगाइराख्न स्थानीयले जोड दिएका छन् । जिल्लाका मावु, माईमझुवा, जमुना, माईपोखरी, नयाँबजार, प्याङलगायतका उत्तरी क्षेत्रका सामुदायिक वनमा रेडपान्डा पाइन्छ