निर्माण शुरु भएको तीन बर्ष बितिसक्दा पनि बनेन कारागार भवन

1044 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

DSC09121 (1)धादिङ,- जिल्ला कारागार धादिङको नयाँ भवन निर्माण शुरु भएको तीन बर्ष बितिसक्दा पनि निर्माण कार्य सम्पन्न हुन नसकेर भवन अलपत्र हुन पुगेको छ ।
कारागारको पुरानो घर जिर्ण हुनुका साथै क्षमता भन्दा धेरै वन्दी कैदी राख्नुपर्दा व्यवस्थापनमा कठिनाई थपिंदै गएपछि पछि नेपाल सरकारको
सहयोगमा २०६८ माघबाट कारगारको नयां भवन निर्माण सुरु गरिएको थियो । निमार्ण कार्य थालिएको तीन बर्ष बितिसक्दा पनि कारागारको नयां भवनको निर्माण कार्य सम्पन्न हुन नसकेको जिल्ला कारागार कार्यालय धादिङले जनाएको छ । अहिले रहेको कारागार भवनमा ३५ जना कैदी वन्दी राख्न सकिने क्षमता भएपनि भवनको अभावले क्षमता भन्दा चौव्वर कैदी बन्दी राख्नु परेको कार्यालयका प्रमुख चिरञ्जिवी गौतमले वताउनु भयो ।
सुविधा सम्पन्न नयाँ घर निर्माणका लागि तीन बर्ष अघिदेखि निर्माण कार्य अघि बढेको भएपनि ठेकेदार कम्पनीको ढिलासुस्तीले भवन निर्माण कार्य अलपत्र हुन पुगेको कार्यालयका नायव सुव्वा मदनकुमार श्रेष्ठको भनाई छ । नयाँ बन्ने कारागार घर १ सय ५० जना क्षमताको हुने छ भने कैदी बन्दिहरु राख्ने ५ वटा ठुला कोठाका साथमा सुविधा सम्पन्न भान्सा कोठा र शौचालय समेत रहने वताईएको छ ।
नेपाल सरकारको १ करोड ९० लाख ८० हजार ९ सय ९७ रुपैंया १३ पैंसाको लागतमा निमार्ण सुरु गरिएको भवनको प्राविधिक सहयोग शहरी विकास तथा भवन निर्माण कार्यालय नुवाकोटको छ भने निर्माणको ठेक्का थानी निर्माण सेवा काठमाण्डौले पाएको हो । ठेकेदार कम्पनीका प्रतिनिधि संग सम्पर्क हुन नसकेपनि जिल्ला कारागार कार्यालयको अभिलेख अनुसार निर्माण कार्यको अन्तिम म्याद २०७० असार मसान्तमा सकिएको हो । पहिलो चरणमो निर्धारित समयमा निर्माण कार्य पुरा हुन नसकेपछि २०७१ असार मसान्त सम्मको लागि म्याद थपिएपनि ठेकेदार कम्पनीले अहिले सम्म ७० प्रतिशत काम मात्र पुरा गरेको कार्यालयले जनाएको छ ।
जिल्ला कारागार धादिङमा अहिले क्षमता भन्दा बढी कैदी बन्दीहरु राखिएका छन । कारागार सबै भन्दा बढी कर्तब्य ज्यान, दोश्रोमा जवरजस्ती करणी, तेश्रोमा गाँजा, त्यसपछि चोरी मानव बेचविखन, लागु औषध, सार्वजनिक अपराधमा संलग्न भएकाहरु पुर्पक्ष तथा कैद सजायँ भोगिरहेका छन । कारागारमा अहिले महिला १७ र पुरुष १ सय १८ जना गरी जम्मा संख्या १ सय ३५ जना रहेका छन् ।