धार्मिक, ज्योतिषीय विश्लेषणमा दशैं–२०७१

697 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

 हरि पन्त
hari 22हिन्दूधर्म मान्ने नेपालीको सबैभन्दा महत्वपूर्ण पर्व बडादशैं घर आँगनमा आइसकेको छ । यसवर्ष २०७१ को वडादशैं यहि भाद्र २३ गते सोमबार बिहान १० बजेर १२ मिनटदेखि प्रारम्भ भैसकेको छ । खासगरि घटस्थापना आश्विन ८ गतेदेखि दशैं शुरु हुने भएपनि सोह्रश्राद्धको रुपमा २३ गतेदेखि दशैं प्रारम्भ भएको हो । यसवर्ष जमरा राख्ने औंशी आश्विन ८ गते परेको भएपनि ९ गते प्रतिपदाका दिन जमरा राख्न उचित देखिएको छ र त्यही दिनबाट मुख्यतःदशैं शुरुवात हुने गर्दछ । एकदिन ढिलोगरि जमरा राख्नका लागि शुभ सहित जुर्नुको परिणाम महानवमी यसवर्ष रहेको छैन । यसवर्ष आश्विन १५ गते फूलपाती भित्र्याउने, १६ गते महाअष्टमी र १७ गते विजयादशमी रहेको छ । वडादशैं एवं विजयादशी पर्वलाई धार्मिक एवं ज्योतिषीय दृष्टिकोणबाट धेरै प्रकारले विश्लेषण गर्न सक्निछ । धार्मिक दृष्टिकोणले वडादशैं के हो त ? यो कौतुहलता धेरैलाई हुन सक्दछ । बडादशैं एवं विजयादशमी एकतामा अनेकताले भसरपूर्ण विविध संस्कृतिहरुले सु–सम्पन्न हिन्दू धर्मावलम्वी नेपालीको एक महान पर्व हो । नेपालीले विभिन्न चाडपर्वहरु मान्नेक्रममा बडादशैं पर्व विशेषरुपले मान्ने गरिन्छ । हुनत नेपालमा दशैंलाई दशैंं अथवा बडादशैं या महान पर्व दशैं भनिन्छ भने भारतमा दशहरा वा दशेरा भन्ने गरिन्छ । वास्तवमा दशैंको धार्मिक महत्व र सांस्कृतिक परिपाटी अनुसार हिन्दूधर्म शास्त्रको पर्व र काण्डसंग सिधा सम्बन्ध राख्ने एउटा पर्व हो । हिन्दू धर्मशास्त्रको अध्ययनमा ‘पर्व’ भन्नाले कुख्यात असतिहरुलाई समाप्त गर्ने रणनीति अन्र्तगत हिसांत्मक युद्ध गरी विजय गरिएको कालजयी क्षण हो । त्यसैले दशैं हिन्दू धर्म शास्त्रकै कथामा उल्लेखित नवदुर्गा भवानी वा भगवतीहरुले शुम्भ, निशुम्भ र महिषाशूरहरु विरुद्ध लडेर विजय प्राप्त गरिएको पर्व हो । मुख्यतः नवरात्रि अर्थात नवदुर्गा भवानीको पूजा शरद याममा आश्विन महिना शुक्लपक्षको प्रतिपदादेखि शुरु हुने गर्छ । हामीहरु यसलाई नौरथा पनि भन्ने गर्दर्छौं । यस समयमा ब्रम्हण्डका सबै ग्रहहरु सक्रिय हुने गर्छन र ग्रहहरुको दुष्प्रभाव प्राणीहरुमा नपरोस भनेर दुर्गाको शक्तिलाई जगाउन नवदुर्गाको उपासना गर्ने गरिएको हो । भनिन्छ शक्ति विना शिव पनि शव बराबर हुन्छ । त्यसैले नवरात्रिमा दुर्गाको शक्तिको उपासना गरेर ग्रहहरुको शक्तिलाई नियन्त्रणमा राखिन्छ र ग्रहहरुको दुष्प्रभावबाट प्राणीहरुको रक्षा गरिन्छ । दुर्गाको शक्तिको नौ रुपहरु क्रमशः शैलपुत्री, ब्रम्हचारिणी, चन्द्रघंटा, कुष्माण्डा, स्कंदमाता, कात्यायानी, कालरात्री, महागौरी र सिद्धिदात्री हुन् । नवरात्रिमा दुर्गाको नौ शक्तिलाई जगाउनका लागि नर्वाण मंत्रको जप गर्ने गरिन्छ ।
नर्वाण भनेको नव वर्ण हो, नव वर्ण अर्थात नौ अक्षरको उक्त मंत्र ‘ऐं ह्रीं क्लीं चामुंडायै विच्चै’ हो । नौ अक्षरको यस मंत्रको एक–एक अक्षरको सम्बन्ध दुर्गाको एक–एक शक्तिसंग साथै नौ वटै ग्रहहरुसंग हुने गर्छ । नौ अक्षरी मंत्रको पहिलो वर्ण (अक्षर) ऐं को सम्बन्ध दुर्गाको पहिलो शक्ति शैलपुत्रीसंग रहेको हुन्छ भने उक्त अक्षरको जपले सूर्य ग्रहलाई नियन्त्रण गर्दछ । नवरात्री (नौरथा) को पहिलो रातमा शैलपुत्रीको उपासना गरिन्छ । नवरात्रिको दोश्रो रातमा दुर्गाको दोश्रो शक्ति ब्रम्हाचारिणीको उपासना गरिन्छ भने नर्वार्ण मंत्रको दोश्रो वर्ण (अक्षर) ह्रीं को सम्बन्ध ब्रम्हचारिणीसंग रहेको हुन्छ । यसले चन्द्र ग्रहलाई नियन्त्रण गर्दछ । त्यस्तै नर्वार्ण मंत्रको तेश्रो वर्ण क्लीं को सम्बन्ध दुर्गाको तेश्रो शक्ति चन्द्रघंटासंग रहेको हुन्छ भने यसले मंगल ग्रहलाई नियन्त्रण गर्दछ । नवरात्रिको तेश्रो रातमा चन्द्रघंटाको उपासना गरिन्छ । त्यस्तैगरी नर्वार्ण मंत्रको चौथो अक्षर चा को सम्बन्ध दुर्गाको चौथो शक्ति कुष्माण्डासंग हुन्छ भने यसले बुध ग्रहलाई नियन्त्रण गर्ने गर्छ । नवरात्रिको चौथोरातमा कुष्माण्डाको उपासना गरिन्छ । पाचौं अक्षर मुं ले वृहस्पती ग्रहलाई नियन्त्रण गर्छ भने यसको सम्बन्ध दुर्गाको पाँचौं शक्ति स्कंदमातासंग रहेको हुन्छ जसको उपासना नवरात्रिको पाचौंरातमा गरिन्छ । नवरात्रिको छैठौं रातमा उपासना गरिने दुर्गाको शक्ति कात्यायानीको सम्बन्ध नर्वाण मंत्रको छैठौं अक्षर डा संग रहेको हुन्छ जस्ले शुक्र ग्रहलाई नियन्त्रण गर्ने गर्छ । त्यस्तै नर्वाण मंत्रको सातौं वर्ण यै को सम्बन्ध दुर्गाको सातौं शक्ति कालरात्रीसंग रहेको हुन्छ भने नवरात्रिको सातौं रातमा कालरात्रिको उपासना गरेर शनि ग्रहलाई नियन्त्रणमा राखिन्छ । नर्वाण मंत्रको आठौं अक्षर बि को सम्बन्ध दुर्गाको आठौं शक्ति महागौरीसंग रहेको हुन्छ भने नवरात्रिको आठौंरातमा महागौरीको उपासना गरेर राहु ग्रहलाई नियन्त्रण गरिन्छ । नर्वाण मंत्रको अन्तिम तथा नवौं वर्ण च्चै को सम्बन्ध दुर्गाको नवौं शक्ति शिद्धिदात्रीसंग रहेको हुन्छ भने नवरात्रिको नवौंरातमा शिद्धिदात्रीको उपासना गरेर केतु ग्रहलाई नियन्त्रण गरिन्छ । ब्रम्हा, विष्णु र महेश्वरलाई नर्वाण मंत्रका तीन देवताहरु मानिन्छ भने यसका तीन देविहरु क्रमशः महाकाली, महालक्ष्मी र महासरस्वतीलाई मानिन्छ ।
यस्तै दशमी संस्कृत शब्दबाट विस्तारित हुँदै नेपाली भाषामा आएको तद्भव शब्द हो ‘दशैं’ र नेपाली हिन्दु सम्प्रदायमा दशैं सबै भन्दा ठूलो र महत्वपूर्ण चाडको रुपमा मनाउने परम्परा रही आएको छ र अश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म १५ दिन धूमधामले मनाइने यो दशैं कहिलेदेखि शुरु भयो यसको कुनै ईतिहास भेटिएको छैन । प्राचिन कालदेखि हिन्दु समाजमा दशैं पर्व अत्यन्तै महत्वका साथ मनाइने गरिन्छ । दशैंको पौराणिक, सामाजिक, सांस्कृतिकका साथै राजनीतिक महत्व समेत विशिष्ट रहेको छ । देवी भागवत महापुराण अनुसार सत्ययुगमा महिषासुर नाम गरेको दैत्य राजाले देवताहरुका राजा ईन्द्रलाई युद्धमा जितेर स्वर्गमा राज्य गरे र देवताहरुमाथि आतङ्कपूर्ण शासन गर्न थाले र देवताहरु डराएर ब्रम्हाको शरणमा गए । ब्रम्हाको सल्लाहअनुसार बिष्णुसहित महादेवको शरणमा पुगे । सबै देवताहरुको छलफल पछि आफ्नो–आफ्नो शक्तिपुञ्ज निकाले र ती शक्तिपुञ्जहरु एकत्रित भइ शक्तिस्वरुपा नवदुर्गा भगवतीको रुप धारण गर्यो । नवदुर्गा भगवतीले नवौं दिनसम्मको युद्धपछि शन्ड मुन्ड र रक्तबिज सहित महिषासुरको वध गरिन् । दशौं दिन विजय उत्सव मनाइन । त्यो दिन आश्विनशुक्ल प्रतिपदादेखि दशमी परेको थियो । अद्भूत रामायण अनुसार अर्का कथा प्रसंग जोडिएको छ, दशैंसंग र रामले रावणको बध गरेर अयोध्या फर्केपछि ठूलो जनसभामा रामको जय ! जयकार र वीरताको बखान चलिरहँदा सीताले मुख बिगारेर व्यङ्गय मुश्कान छोडेको दृश्य वा सीताको व्यवहार बिस्वामित्रले याद गरेका रहेछन । जनसभा समाप्त भएपश्चात् विश्वामित्रले सीतासंग सोधे । धेरैबेरको अनुरोध पछि सीताले भनिन्–‘त्यो जाबो दशटाउके रावणलाई बध गर्दा रामको विरताको यत्रो बखान ? सहश्र टाउके अहिरावण र महिरावणलाई बध गरे भने तिमीहरुले के गर्दा हौ ? त्यसकारणले हाँसेकी हुँ ।’ सीताको यो अभिव्यक्तिले रामको सभामा ठूलो तरङ्ग पैदा गर्यो । रामको पुरुषार्थमा धक्का लाग्यो । त्यसपछि रामले भने–त्यसो भए म अहिरावण र महिरावणको बध नगरि छोड्दिन, रामले प्रतिज्ञा गरेर युद्धको तयारी भयो । घमासानको युद्धमा राम समेत उनका भाइहरु मुर्छित भए । कोलाहल मच्चियो । त्यहि मौका पारेर सीताले नवदुर्गा भगवतीको रौद्र रुप धारण गरि सहश्र टाउके रावणहरुको बध गरिन । त्यो समय पनि आश्विनशुक्लप्रतिपदादेखि नवमी नै परेको थियो । दशमीको दिन विजयोत्सव मनाइन । देवी भागवत अनुसार लङ्केश्वर रावणलाई रामले पराजित गर्न असमर्थ भएपछि शक्तिस्वरुपा भगवती दुर्गाको आह्वान गरे । चैत्रशुक्लप्रतिपदादेखि नवदुर्गा भवानीको उपासना गर्दै युद्ध गर्दा नवमीको दिन साँझ रामको लङ्का विजय भयो । त्यसैको खुशियालीमा दशैं मनाउँदै आइरहेको र चैत्र महिना गर्मि मौसमको कारणले आश्विनमा सारेको भन्ने उक्तिहरु पनि भेटिन्छन ।
उपरोक्त कथनहरुबाट असत्यमाथि सत्यको विजय भएको प्रतीकको रुपमा दशैं पर्व मान्नेहरु नवदुर्गालाई पशुपन्छी बलि दिन्छन । प्रसादको रुपमा मासु खान्छन । अर्काथरि मत अनुसार मानव शरीर नौवटा ढोका भएको मन्दिर हो । आत्मा शक्ति स्वरुपा भगवती हुन् । पशुपन्छी पनि भगवती माताकै सन्तान भएको हुनाले आफ्नै सन्तानको बलि माग्ने कुन त्यस्तो माता होला ? ज्ञानरुपी दीयो बालेर अज्ञानता रुपी अन्धकारलाई परास्त गरि मन्दिर उज्यालो पार्ने । काम, क्रोध, लोभ, मोह, अहंकार जन्य रावण र महिषासुरको जस्तो दुर्गुणहरुको बलि दिएर भगवतीलाई खुशी पार्ने दिवसको रुपमा दशैं पर्वलाई लिनुपर्दछ भन्ने पनि गरिन्छ । जसले जे अर्थ लगाए पनि दशैं मान्ने तरिकामा विविधता भए पनि आखिर दशैं त सबै हिन्दुहरुले मनाउँछन् ।
दशैंको महत्वलाई हेर्ने सामाजिक आधारहरु (१) त्याग्नु, हटाउनु, छोड्नु ः पुराना कुराहरु त्यागेर नयाँ नविन कुराहरु धारण गर्नु र यसभित्र भौतिक वस्तु र विचार सबै पर्न सक्छ । (२) पुनर्ताजगीकरण, शक्ति सञ्चयन र आनन्दपूर्वक उत्सव मनाउनु ः कामबाट फुर्सद लिने र पुनः काममा फर्कन शारीरिक तथा मानसिक उर्जा प्राप्त गर्नु । (३) नाता सम्बन्धको नविकरण र चिसिएको सम्बन्धलाई न्यानो बनाउने अवसर । यी विभिन्न आधारहरु हिन्दुको दशैंमात्र नभएर ईशाइको क्रिश्मस र ईस्टर, ईश्लामको रमजान, ईदुल फित्र, बकरिद, किरातीको साकेला, उधौली उभौली थकालीको फालो गुरुङगको टोहोंटे, ल्होसार थारुको माघी मधेसीको छठ आदिका पनि आधार हुन् भन्दा अतिशयोक्ति हुनेछैन । किनकी यी पर्वहरु हिन्दुको दशैं जस्तै ठूलो महत्वको पर्व अथवा दशैं रहेको हामी पाउछौं । त्यसैले सबै सम्प्रदायले सहिष्णुता र सद्भाव राख्दै सबैको चाड पर्वहरुलाई सम्मानको दृष्टिले हेर्नु नै मानव कल्याणको हितमा हुनेछ ।
दशैंलाई ज्योतिषीय विश्लेषणमा यो वर्ष कस्तो छ ? कुन राशिका व्यक्तिहरुलाई दशैं कस्तो हुन्छ ? विचार गरौं । मेष ः सोच्दै नसोचेको धन प्राप्ति, कृषि तथा पशुपालन गर्ने व्यवसायीले पैसा खूब कमाउने, जताबाट पनि खुशी लाग्दा समाचार प्राप्त हुनेछन् । तर पाचनप्रणाली सम्बन्धी समस्या, धार्मिककृत्य आदिमा अवरोध समेत हुनेछ । वृष ः आफन्त व्यक्तिसंग विवाद पर्ने सम्भावना, पेशागत हानी, गर्न खोजेका काममा बिघ्नबाधा धेरै देखा पर्नेछन् । स्वास्थ्यले साथ नदिन पनि सक्छ । आकस्मिक रोगले दुःख दिने छ । द्वादशस्थानको केतुका कारण शारीरिक विषमता, मानसिक सन्ताप, लेनदेनमा विवादका कारणले धार्मिक कार्यमा रुचि बढ्नेछ । मिथुन ः स्वास्थ्य सुरक्षित नहुने, महत्वपूर्ण काम, टाढाको यात्रामा अवरोध, शोकमा समेत पर्न समेत सकिनेछ, अपरिचित व्यक्तिबाट आक्रमण हुने सम्भावना, आर्थिक दृष्टिकोणले घाटा, पारिवारिक झै–झगडाका साथै मान्यजनबाट सहानुभूति पाइने, पशुर्चापायबाट आंशिक लाभ, मानसम्मान प्राप्त, शुभचिन्तकको सहयोग पनि पाइनेछ । कर्कट ः आम्दानीका नयाँ स्रोत थपिने, नयाँ–नयाँ कार्ययोजना बन्ने, सुन, जमीन, फलफूल व्यवसायको व्यापारमा वृद्धि, पद र पैसाभन्दा प्रतिष्ठासंग गाँसिएका काममा लगानी हुनुका साथै अढैया शनिका कारण आत्मीयजनबाट धोका, दुर्घटना, चोटपटक र अग्निको भय र भूमिसम्बन्धी विवाद समेत बढ्नेछ । सिंह ः स्वास्थ्यमा एक्कासी समस्या, काममा बिघ्नबाधा, सामाजिक जनजीवनमा अप्ठ्यारो पनि पर्ने, यात्रामा कठिनाई हुनुका साथै गुरु द्वादश भएका हुनाले अध्ययन, धार्मिक कार्य र आर्थिक सङ्कट समेत गर्नेछ । यसका साथै मित्रहरुबाट सहयोग, पशुचौपायबाट राम्रो लाभ र उत्सा, उमङ्गमा समेत वृद्धि हुनेछ । कन्या ः धन उठ्ने, गरेको परिश्रमको राम्रो लाभ पाइने, मानसिक शान्ति र आराम मिल्ने, पुराना इष्टमित्र एक्कासी भेट हुनेछन् भने अन्त्य साढेशातिका कारण परिवारका सदस्य एक्कासी बिरामी पर्ने, अप्रत्याशित खर्च बढ्ने, चोटपटक लाग्ने, आफूले रोजेको काममा आफ्नै व्यक्तिबाट अवरोध समेत हुन सक्नेछ । तुला ः समयमा खान नपाइने अथवा अगतिलो खाना सेवन गर्नुपर्ने, पुराना मित्रले व्यर्थैको विवाद र कुरा काट्ने, यात्रा पनि जोखिमपूर्ण रहनेछ । शनि मध्य शाढेसातिका कारण पशुचौपायबाट हानि नोक्सानी, शत्रुको सामना गर्नुपर्नेआर्थिक अभावले पिरोल्नुका साथै धार्मिक र आध्यात्मिक कार्य गरेमा व्यापार व्यवसायमा केही लाभ, मान्यजनको सहानुभूति अवश्य रहनेछ । वृश्चिक ः स्वास्थ्यले साथ राम्रै दिने, आम्दानीमा समेत वृद्धि, आफन्तहरूबाट मान–सम्मान मिल्ने, मनमा फूर्ति र उत्साह बढ्ने, परिश्रम अनुसारको आर्थिक लाभ, धार्मिक कार्यमा विशेष लगानी हुनेछ भने आद्य साढेसातिका कारणले शत्रुको सामना गर्नुपर्ने, धार्मिक कार्यमा रोकावट, आर्थिक सङ्कट समेत हुन सक्नेछ । धनु ः धन तथा जमिन लाभ, आफन्तसंग भेट हुने मौका मल्निे, मनले सोचेको कार्य सबै पूरा हुने, स्वास्थ्य राम्रो रहनुका साथै पारिवारिक सम्बन्ध सुमधूर, धार्मिक कार्यमा मन जाने, पशुचौपायबाट उचित लाभ, विशेवबाट रकम आउने, रोकिएको काम सम्पन्न हुनेछन्, नयाँ व्यवसायको शुभारम्भ समेत हुन सक्नेछ । मकर ः स्वास्थ्यमा खास कुनै गडवडी देखिने छैन, आँटेका सोचेका कामहरुमा भने कुनै न कुनै प्रकारको झन्झट र झमेला देखापर्ने, सापटी दिएको धन फिर्ता लिन मुश्किल, यात्रा कठिनाइ हुन सक्ने, षष्ठ गुरुका कारण शत्रु विवाद, कार्यमा विलम्वता, मनमा असन्तुष्टि, दाजुभाइमा मनमुटाव पनि हुन सक्नेछ । कुम्भ ः अनावश्यक कार्यमा खर्च गर्न मन लाग्ने, निरासका भावना मनमा उठ्ने, पति–पत्नीबीच मनमुटाव, आम्दानी भन्दा खर्च बढी, कामबाट जस नपाइने, मानसिक चिन्ता बढ्ने, आफन्तले नै कुरा काट्ने, यात्रा गर्दा झन्झट हुनेछ भने पारिवारिक मेलमिलाप, सामाजिक प्रतिष्ठामा वृद्धि, इष्टमित्र एवं हितैषीको सहयोग समेत प्राप्त नहोला भन्न सकिन्न । मीन ः आशा नै नगरेको ठाउँबाट धन प्राप्त, उच्चस्तरीय घनिष्ट मित्रसंगको भेट, पेशागत क्षेत्रमा नयाँ लाभ हुने छ भने अढैया शनिका कारणले कृषि तथा पशुचौपायबाट हानि, पारिवारिक झमेला, शत्रु समना, नयाँ खालको रोग देखा पर्ने, आफन्तबाटै विश्वासघात समेत नहोला भन्न सकिन्न ।
यस्तै यसवर्ष २०७१ राजनीतिक दृष्टिकोणले छोटो शव्दमा हेर्ने हो भने मध्यम रहेको छ । अथाृत राजनीतिक उतारचढाव धेरै आउने छैन भने शान्तिपूर्ण समेत रहनेछैन । देशको नयाँ संविधान वि.सं.२०७२ पश्चातमात्र आए देश र नेपालीको हितमा हुने ज्योतिष वैज्ञानि दृष्टिकोणमा देखिएको छ । यस्तै यसवर्ष राजा ःचन्द्रमा र मन्त्री ः चन्द्रमा रहेकाले कार्तिक महिनासम्म अत्यधिक वर्षा हुने र ठूलो जनधनको क्षति हुने देखिन्छ ।
अन्त्यमा बडादशैं, विजयादशीको पावन अवसरमा स्वदेश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपाली दाजुभाइ, दिदीबहिनीहरुमा सुख, शान्ति, संवृद्ध एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु ।
(लेखक ः युवा ज्योतिषी एवं पत्रकार हुनुहुन्छ)