छाडा कुकुरले हैरानी

2520 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

 तस्बिर सौजन्य : इकान्तिपुर डट कम
तस्बिर सौजन्य : इकान्तिपुर डट कम

धादिङ, आश्विन २६ – सदरमुकाम धादिङबेंसीका सबै चोकमा यत्रतत्र जम्मा भएका छाडा र भुस्याहा कुकुरका कारण स्थानीय बासिन्दाले हैरानी बेहोर्नुपरेको छ। त्यसको सबैभन्दा बढी सास्ती यातायात व्यवसायी र विद्यार्थीले भोग्दै आएका छन्।

‘रातभर हल्ला गरेर सुत्न नदिने भएकाले कुकुर धपाउन बार्दलीमा ढुंगा जम्मा गरेर राख्ने गरेकोे छु,’ शान्तबजार चोकमा डेरा लिएका मणि दवाडीले भने। बढी व्यस्त रहने बीच, पुछार, सिरान र शान्त बजार तथा गणेश र आनन्दचोकलगायत सार्वजनिक स्थलमा दर्जनौं कुकुर भेला हुन्छन्। बीच सडकमा उभिएर बाटै नछाड्ने कुकुरले विद्यार्थीलाई समेत झम्टिने र टोक्ने गरेका छन्। दशैं अवधीमा ६ जनाभन्दा बालबालिकालाई कुकुरले टोकेर घाइते बनाएका थिए। उनीहरूलाई एन्टिरेबिज भ्याक्सिन दिइएको जिल्ला अस्पतालले जनाएको छ।

दसैंका बेला किनमेल गर्न सदरमुकाम आउने गाउँलेको साथ लागेर सदरमुकाम भित्रिने यस्ता कुकुर यतै बस्ने गरेका छन्। कटुन्जे ४ का झलक आचार्यका अनुसार उनीसँग आएको कुकुर सदरमुकाममै हरायो। सदरमुकाम आसपासका चार गाविस मिलाएर घोषणा गरिएको नीलकण्ठ नगरपालिकाले छाडा र भुस्याहा कुकुर नियन्त्रणमा पहल थालेको छैन। ‘नयाँ कार्यालय नै व्यवस्थापन गर्ने हम्मेहम्मे छ, कुकुर व्यवस्थापन कसरी गर्नु?’ नगरपालिकाका एक कर्मचारीले भने। जिल्ला पशु सेवा कार्यालयले कुकुर नियन्त्रण गर्ने औषधि र जनशक्ति अभाव रहेको जनाएको छ इकान्तिपुर डट कमले खबर लेखेको छ ।