जडौरी ड्रेस लगाएर कसरी मेडल जितिन्छ?-हाम्रै प्रशिक्षक, पदाधिकारी नेपाललाई हराउँ अभियानमा लागे

830 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

rai

‘विदेशमा हुने गेममा नेपालको नाम राख्न भाग लिएको होइन रहेछ दाइ। विदेशी खेलाडीसँग भिडेर नेपाली खेलाडीले केही न केही सिकून् भन्ने पनि हैन रहेछ। यो त खेलकुदका ठूलाबडा श्रीमती, छोराछोरी लिएर विदेश घुम्ने मेसो रहेछ। यसपाला पनि त्यही भयो।’
‘खेलाडीको ट्रेनिङ, डाइट, सन्चोविसन्चो कसैले हेर्दैन। भिलेजमा लगेर हुल्दिए। त्यसपछि ठूलाबडाहरु टुरिस्ट बने घुमे, खाए, पिए।’
कालिकास्थान मुनलाइट वर्कसपमा स्कुटर बनाउन आएकी युवतीको मोबाइल संवाद ध्यान तान्ने खालको थियो। निलो ट्रयाकसुट लगाएकी युवतीको हाउभाउले खेलाडी हुन् भन्ने ठम्याउन गाह्रो थिएन।
मेरो मोटरसाइकल पनि मर्मत भइरहेको थियो। भर्खरै दक्षिण कोरियाको इन्चोनमा एशियाली खेलकुद (एशियाड) सकिएको थियो। यिनले त्यतैको कुरा गरिरहेकी छिन् भन्ने प्रष्ट बुझिन्थ्यो।
मोबाइल नबुझिएर हो वा खेलाडीमाथि भइरहेको थिचोमिचोको आक्रोशले हो, उनको स्वरले वर्कसपको कल्याङमल्याङलाई फिका बनाइदिएको थियो।
‘अरु के कुरा, ड्रेस त कोरियनको जडौरी लगाएर खेल्नुपर्‍यो,’ उनी झन् गहिरो कुरा गर्दै गइन्, ‘खेलाडीले लगाउनुपर्ने चश्मा धरी पाइएन।’
यो तथ्य मन कुँडिने खालको थियो। जुन देशका खेल पदाधिकारी ५८ करोड घोटालाको संसदीय छानबिनमा तानिएका छन्, त्यहाँका खेलाडीले बजेट अभाव भन्दै जडौरी लगाएर एशियाली गेम खेल्नुपर्ने!
त्यसपछि उनीहरुको कुराकानी खेलाडी भागेको विषयमा सुरु भयो। ‘खेलाडी भागेर बेइज्जतै भयो दाइ,’ उनले दिक्क मान्दै भनिन्, ‘पहिले भागेका खेलाडीहरु हामीलाई भेट्न आएका थिए, हामीलाई पनि लुकौं भन्दै थिए।’
कोरियामै लुकेका खेलाडीको मनोदशा पनि उनले बुझेकी रहिछन्। एकैछिन अघि झोँक मार्दै आफैले भनिन्, ‘हाम्रो त कम्तीमा एउटा जागिर छ, रासनपानी पाइन्छ। खेलमा रगतपसिना बगाएर केही नपाउने उनीहरु भागे भनेर के गाली गर्नु खै।’
यिनको लामो टेलिफोन संवाद नसकिँदै मेरो बाइक बन्यो। कुरेर बसिरहेँ। पत्रकारितामा खेल क्षेत्रको रिपोर्टिङ गर्ने चाँजो नमिलेको मलाई यिनका प्रत्येक वाक्य मर्मस्पर्शी लागिरहेका थिए। खेलमा कति झेल छ भन्ने इतिवृत्तान्त बुझ्न सजिलो भइरहेको थियो।
‘पत्रकारको पनि कुरा नगर्नुस् दाइ। तिनीहरु पनि पदाधिकारीकै पछि कुद्ने हुन्। हाम्रो कुरा कहाँ लेख्दिन्छन्? राणा, शाह, ठकुरीका छोराछोरीको खेलाडी भए भने फोटो छाप्छन्। आफू त इलामको पनि देहात गाउँको राईको छोरी परियो। पढेलेखेको पनि छैन,’ यिनको यो वाक्यको वाणले मलाई पनि लाग्यो।
बल्ल उनले मोबाइलको रातो स्विच थिचिन्। मैले परिचय गरेँ। सुटिङकी राष्ट्रिय खेलाडी अस्मिता राई रहिछन्। महेन्द्र पुलिस क्लबका लागि राष्ट्रिय प्रतियोगिताहरुमा आठ स्वर्ण जितेकी राई एशियाड, साग लगायत अन्तर्राष्ट्रिय खेलमा पटकपटककी सहभागी। दक्षिण एशियाली खेलमा तीनपटक फाइनल पनि पुगेकी।
भुक्तभोगीको अनुभवको आँखीझ्यालबाटै खेलक्षेत्रलाई चियाउन पाउनु सञ्चारकर्मीका लागि सुनौलो मौका थियो। मैले समय मागेँ। ‘तपाईँहरुले जे पायो त्यही लेख्दियो भने त हाम्रो लाइफ नै बिग्रिन्छ नि,’ उनले मानिनन्।
हाम्रो उद्देश्यबारे जानकारी गराए। ‘हुन त हामी पुरानो खेलाडी बोलेन भने कसले बोल्छ,’ उनको मन बदलियो, ‘विचरा नयाँहरुलाई झन् डर हुन्छ।’
भोलिपल्टको समय दिइन्। सुटिङमा नेपालका चार खेलाडी थिए। तीन महिला, एक पुरुष। अरु २४ खेलमा जस्तै यसमा पनि प्रदर्शन कमजोर नै रह्यो। राईको प्रदर्शन पनि जमेन।
विमला तामाङ्को कास्य पदकमा चित्त बुझाएर डेढ सयभन्दा बढी पदाधिकारी र २ सय ४ खेलाडी फर्किए। ‘एक कास्य र २४ हास्य पदक,’ खेल क्षेत्रमा जोक चलिरहेको छ।
सेतोपाटीले सुटिङकी अनुभवी खेलाडी अस्मिता राईलाई प्रतिनिधि खेलाडी मानेर यो दूरवस्था उजागर गर्ने प्रयास गरेको छ।
बाँकी राईकै शब्दमाः
सुटिङ असाध्यै एकाग्रता चाहिने खेल हो। त्यसैले सुटिङ रेन्ज विशेष किसिमको एयर कन्डिसन हलमा हुन्छ। विशेष खालको ड्रेस चाहिन्छ। छिसिक्क आवाजले पनि डिस्ट्रब नगरोस् भनेर हामी ‘न्वाइज रिडक्सन इयर फोन’ लगाउँछौं।
राइफल बोकेपछि हाम्रो पूरा ध्यान टार्गेटमा हुनुपर्छ। मनमा ताना खेल्यो कि कामकुरो बिग्रिहाल्छ। लुगा सपक्क मिलेको हुनुपर्छ।
हामी नेपाली खेलाडीलाई खेलबाहेकका अनेक ताना बोकेर हिँड्नुपर्ने बाध्यता छ। सुटिङ मात्र हैन, जुन गेमको हालत पनि उस्तै छ। आर्थिक अभाव र खेलकुदमा भित्रिएको राजनीतिले एकचित्तले खेल्न दिँदैन।
सुटिङ्मा ड्रेस, राइफल, पेस्तोल, गोली, चस्मा सबै आफैँले लिएर जानुपर्छ। फुटबल, भलिवल वा अरु जस्तो खेलसामग्री आयोजकले दिँदैनन्। सुटिङमा शत्रुलाई कमजोर होस् भन्ने सोचेर पनि यस्तो गरिएको होला!
सुटिङका तीन खेलाडी बर्षौँ पुरानो ड्रेसमा थियौं। यो ड्रेस सामान्यतया दुई वर्षमा ‘अनफिट’ भइसक्छ। अरु देशमा दुईदुई वर्षमा नापो लिएर नयाँ सिलाएकै हुन्छ।
स्नेहा राणाको अलि नयाँ नै थियो। फूलमाया क्यापछाकीको ड्रेस मेरो जत्ति थोत्रो नभएपनि पुरानै हो।
मेरो दश वर्ष पुरानो ड्रेस मिलेको थिएन। जीउ अलिकति बढ्ने, घट्ने बित्तिकै फिट हुँदैन। अर्डर गरेर सिलाउनुपर्छ। महँगो भएकाले हाम्रो संघले बनाउन सक्दैन। ठीकै खालको बनाउन नै नौं सय डलर लाग्छ।
बाक्लो खालको कपडाले बनेको गह्रु्रङो लुगा हुन्छ यो। ठूलो भए जीउलाई थिच्छ। सानो भए उकुस मुकुस भएर औडाहा हुन्छ। साइज ट्वाक्क मिल्यो भने शरीरका पार्टहरुलाई लक दिन्छ। मेरो ड्रेस पास नहुने भयो। आपत पर्ने भयो!
हाम्रो बन्द प्रशिक्षणमा एकजाना कोरियन कोच ह्वाङ आउनुभएको थियो। इन्चोनमा हाम्रो आपत देखेर उहाँले एकजोर पुरानो लुगा ल्याइदिनुभयो। ट्राउजर मिल्यो। ज्याकेट ठीक भएन। अनि मेरो दश वर्ष पुरानै ड्रेसको कुइनो काटेर कामचलाउ बनाइयो। लुगा बल्लबल्ल टारियो।
त्यसो त हामीलाई सेकेण्ड ह्याण्ड ड्रेसको बानी छ। हामीले सुरुमा नेपालबाट खेल्न थाल्दा नै सिनियर दिदीहरुलाई सानो भएको पुरानो ड्रेस लगाएर सुरु गरेका हौं। विदेशमा ट्रेनिङ पाएकाले बाहेक सुटिङमा नयाँ ड्रेस पाउन जुग कुर्नुपर्ने बाध्यता छ।
राइफलको कथा पनि उस्तै छ। मैले वाल्थर एयर गनमा ट्रेनिङ गरेको थिए। कोरिया हिँड्नुभन्दा सात दिनअघि थाहा भयो, लाइसेन्स फेल भएको रहेछ। रिन्यूको विषयमा मलाई हेक्का भएन। हाम्रो संघमा राइफल रिन्यू गर्ने जिम्मा खेलाडीकै हो।
रिन्यू फेल नभएको राइफल खोजी गरियो। एसओसले दियो। त्यसम एक हप्ता प्राक्टिस गरेर उडियो।
गाउँघरमा हँसिया, कुटो, कोदालो, बञ्चरो त हात बसेको र नबसेको हुन्छ। सुटिङ त बन्दुक समातेर टार्गेटमा हान्नुपने खेल। हतौडी राम्रो नभई हुँदैन। हाम्रोमा त्यो कसले चिन्ता लिने?
म पावरवाला चश्मा लगाउँछु। सुटिङको ड्रेस लगाएर राइफल काँधमा राखेर टार्गेटमा ताकेपछि चश्माको सिसामा अलिअलि वाफ जम्छ। त्यसैले सुटिङ खेलाडीले लगाउने विशेष खालको चश्मा पाइन्छ। त्यसमा आफ्नो फिट गर्न मिल्छ। त्यसमा बाफ जम्दैन। त्यसको कम्तीमा १६ सय ५० युरो पर्छ। फेरि पैसाकै कुरा आउँछ। त्यसैले हामीहरु सामान्य चश्माको बाफको चिन्ता लिदै टार्गेट ताक्न बाँध्य छौं।
ट्रेनिङ पनि धित मर्नेगरी लिन पाइन्न। हामी सातदोबाटो सुटिङ रेञ्जमा ३/४ घन्टा तालिम लिन्छौं। विदेशमा त्यो ८/९ घन्टा चल्छ। गुरुहरु र हामीले चाहेर पनि लोडसेडिङका बेला ट्रेनिङ गर्न गाह्रो हुन्छ। एसी चाहिन्छ। त्यही तीन/चार घन्टामा पनि लोडसेडिङले डिस्टर्ब गर्छ। जेनेरेटरको सुविधा छैन।
अरु देशमा ट्रेनिङकै बेला कम्प्युटराइज्ड टार्गेटमा खेलाइन्छ। हाम्रो त्यो सुबिधा छैन। सेतो कागजमा हान्यो, बस्। कम्प्युटराइज्ड भयो भने एक अंकभित्रको नौ वटा दशमलव पनि कति ल्याइयो भने थाहा हुन्छ। हामी भने एकैपटक विदेशमा मात्र त्यस्तो टार्गेटमा खेल्न पाउँछौं।
ट्रेनिङका क्रममा खेलाडीलाई केही सुविधा हुन्न। आफ्नै भाडा खर्च गरेर वा स्कुटरको तेल सकेर सातदोबाटो गयो, फर्कियो।
हाम्रो संघमा त त्यस्तो छैन तर धेरैवटा संघको झगडाले प्रक्षिक्षण मारमा पर्छ। खेलाडीहरु हतोत्साही बनाइन्छ। पदाधिकारी, प्रशिक्षकले खेलाडीलाई तेरो र मेरो भनेर कित्ताकाट गरेका हुन्छन्।
कोरियामा मैले देखेँ, ‘नेपाली खेलाडीका ठूला शत्रु त्यही खेलका भिन्नै गुटका प्रशिक्षक र खेलाडी हुँदा रहेछन्। कुनै खेलाडीले जित्यो भने आफ्नो नाक काटिएला भन्ने जस्तो डर धेरैको हाउभाउमा देखिन्थ्यो। सबैले जितौं भन्दा पनि सबैलाई हराउँ भन्ने अभियानमा आएजस्तो लाग्ने।’
त्यस्तो देख्दा त लाग्ने, बेकार खेलाडी भइएछ। समाचार पढ्यो, साढे ६ करोड खर्च भयो भन्छन् हामीले पाएको दिनको २५ डलर हो। पुलिस, आर्मीको क्लब पनि नहुँदो हो त खेलको हाल झन् के हुन्थ्यो होला!
यस्तो अवस्थामा कतै टेक्ने समाउने नभएकाले धन्न कुन मनोवलले खेलिरहेका होलान् जस्तो लाग्ने।
हामी गएगुज्रेका खेलाडी भएर मात्र मेडल नजितेका होइनौं। मन्त्रालय, खेलकुद परिषद्, संघहरु खेलाडीजस्तै दत्तचित्त हुने हो भने अहिले भन्दा धेरै राम्रो गर्न सकिन्छ। मेडल जितेर देशको नाम राख्न सकिन्छ। ठूलाबडाले खेलुकुदलाई टुरिस्ट बन्ने भाँडो मात्र बनाइरहे भने स्थिति अझै बिग्रँदै जाने छ।
-सेतोपाटी डटकमवाट