धादिङ जिल्ला प्रशासनमा सेवाग्राहीको भिड-पालो पर्खन दिनभरी लाईनमा वस्न वाध्य

543 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

केशव अधिकारी

सोमवार जिल्ला प्रशासन कार्यालय धादिङमा नागरिकता र पासपोर्ट वनाउने फाराम बुझाउन पालो पर्खदै सेवाग्राही  तस्बिर - केशव अधिकारी
सोमवार जिल्ला प्रशासन कार्यालय धादिङमा नागरिकता र पासपोर्ट वनाउने फाराम बुझाउन पालो पर्खदै सेवाग्राही
तस्बिर – केशव अधिकारी

धादिङ,२७ असोज ः दशैंको विदा पछि जिल्ला प्रशासन कार्यालय धादिङमा सेवाग्राहीको भिड निकै बढ्न पुगेको छ । भिडभाडका कारण सामान्य कामका लागि जिल्ला प्रशासन पुगेका सर्व साधरण घण्टौं लाईनमा वस्न वाध्य हुने गरेका छन । दशैं मनाउन देश विदेशवाट घर आएकाहरु यति बेला जिल्ला प्रशासन कार्यालयमा पुगेर नागरिकता प्रमाण पत्र लिने तथा राहदानी वनाउने काममा लागे पछि प्रशासन कार्यालयमा सेवाग्राहीको भिड ह्वात्तै बढ्न पुगेको हो ।
आईतवार र सोमवार गरी जिल्ला प्रशासनमा नागरिकता र राहदानी वनाउन आउनेहरुको संख्या १ हजार भन्दा बढी रहेको थियो । कार्यालयमा सेवाग्राहीको भिड थपिएपनि एक जना सहायक प्रमुख जिल्ला अधिकारीको भरमा सबै काम सम्पन्न हुनुपर्दा सेवाग्राही दिनभरी पालो पर्खन लाईनमा वस्न वाध्य हुने गरेका छन । कार्यालयमा दुईजना सहायक प्रमुख जिल्ला अधिकारीको दरवन्दि भएपनि एक जनाको दशैंअघि सरुवा भएको थियो । सरुवा भएर जानले कार्यालय छाडिसकेको भएपनि सरुवा भएर आउने नयां व्यक्ति नआईपुगेका कारण सहायक प्रमुख जिल्ला अधिकारी नन्दलाल शर्मालाई कामको चटारो पर्ने गरेको कर्मचारीहरुको भनाई छ । सहायक प्रमुख जिल्ला अधिकारी शर्माका अनुसार धादिङ जिल्ला प्रशासनवाट दैनिक ३ सयको हाराहारीमा पासपोर्ट र नागरिकता बितरण हुने गर्दछ ।
कार्यालयमा सेवाग्राहीको भिड बढ्दै गएको भएपनि सोमवारदेखि प्रमुख जिल्ला अधिकारी वाशुदेव घिमिरे विदामा वसेपछि जिल्ला प्रशासन कार्यालयमा सामान्य कामका लागि पनि सेवा पाउन दिन भरी कुर्दा पनि पालो नआउने होकि भन्ने त्रासमा रहनु परेको सेवाग्राहीहरुको भिडमा भेटिएका नेपाली कांग्रेस धादिङ एक नम्बर क्षेत्रीय समितिका सभापती राजु पाख्रिनले वताए । प्रशासन कार्यालयमा आउनेहरुमा अधिकांश राहदानी वनाउने आएकाहरु हुने गरेको पनि पाख्रिनको भनाई छ ।
दशैंको फुलपाती भन्दा दुई दिन अघि मात्र धादिङ सरुवा भएरआएका प्रमुख जिल्ला अधिकारी घिमिरेले आंफु नयाँ भएको र दरवन्दि अनुसारका सबै कर्मचारी कार्यालयमा नभएकाले दैनिक कार्य सम्पादनमा केही ढिलाई हुन पुगेको वताएका छन । केही दिन भित्रमै सेवाग्राहीले भोग्नुपरेको सास्तीलाई कम गर्न आंफुले पहल गर्ने प्रमुख जिल्ला अधिकारी घिमिरेले वताए । दुई वजे पछि राहदानीका लागि बुझाउनु पर्ने रकम लिन कार्यालयले इन्कार गरिदिंदा विहानै देखि लाईनमा वसेका सेवाग्राही मर्कामा पर्ने गरेको सर्वसाधारणको गुनासो छ । राहदानी वापत कार्यालयमा जम्मा हुने रकम बैकमा दाखिला गर्नुपर्ने र दुई वजेपछि बैकले रकम नलिने भएका कारण समस्या उत्पन्न भएकोले यस समस्याको समाधानका लागि छिट्टै निकास खोजिने प्रमुख जिल्ला अधिकारी घिमिरेले वताएका छन ।