सुत्केरी अस्पतालमा अलपत्र

645 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

sutkeri_20141017105434धादिङ , आश्विन ३१ – विदेशबाट सँगै आएका श्रीमान् बेपत्ता भएपछि जिल्ला अस्पतालमा एक सुत्केरी महिला बिचल्लीमा परेकी छन् । तीन छोरासहित श्रीमान् कृष्ण तामाङलाई बालाजुस्थित डेरामा छाडेर २ वर्षअघि रोजगारका लागि मलेसिया पुगेकी झार्लाङ-३ की सिर्जना तामाङ अस्पतालको सुत्केरी कक्षमा अलपत्र छिन् । सिर्जनाले गत मंगलबार छोरा जन्माएकी हुन् ।

मलेसियामा रोजगारकै क्रममा आफूलाई मैदी घर बताउने अपरिचित युवासँग अवैध सम्बन्धबाट गर्भ रहेपछि कम्पनीले दुवैलाई नेपाल फिर्ता पठाएको थियो । आठ महिने गर्भवती सिर्जना र युवक भदौ १२ गते नेपाल आएका थिए । करिब एक साता काठमाडौंमा सँगै रहे पनि अहिले युवक बेपत्ता छन् ।

‘सिर्जनाले ती युवाको खोजी गरी पाउँ भन्ने निवेदन दिएपछि अनुसन्धानमा लागेको प्रहरी नायब उपरीक्षक प्रकाश मल्लले बताए । गर्भवतीलाई संरक्षण र उद्धारका लागि महिला तथा बालबालिका कार्यालय जिम्मा लगाइएको थियो । कार्यालयले रक्तअल्पताको आशंका गर्दै सिर्जनालाई गत शनिबार नै अस्पताल भर्ना गरेको थियो । उनले मंगलबार बिहान स्वस्थ बच्चा जन्माएकी थिइन् । ‘रगत कमीबाहेक सुत्केरी र शिशुको अवस्था सामान्य छ,’ अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. रशिला अमात्यले बताइन् ।

-तस्बिर र समाचार इकान्तिपुरवाट