फूल उत्पादन ६६.५ प्रतिशतले ह्रास

504 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

भक्तपुर, – तिहारका लागि अत्यावश्यक पर्ने मखमली फूल उत्पादन ६६.५ प्रतिशतले घटे पनि गुण्डुबाट मात्रै यस वर्ष रु एक करोडभन्दा बढीको फूल बिक्री भएको छ ।

जिविस स्थानीय विकास कोषले स्थानीय सामुदायिक संस्थामार्फत यहाँका स्थानीयवासीले सञ्चालन गरेको व्यावसायिक फूलखेतीको बुधबार अनुगमनका क्रममा फूलखेती गर्दै आएका कृषकले फूलको उत्पादन घटेकामा चिन्ता व्यक्त गरे ।

गत वर्ष गुण्डु गाविसका एकै गाउँले रु तीन करोड फूल उत्पादन गरेकामा यस वष घटेर रु एक करोडको फूल मात्र उत्पादन भएको कृषकले बताएका छन् । गुन्डुमा कोष, गाउँ विकास कार्यक्रमले फूलखेतीलाई प्रवद्र्धन र उत्पादनमा सहयोग गर्दै आएकोे छ ।

सात वर्षदेखि फूलखेती गर्दै आएकी गुण्डु–८ की मेला व्यवस्थापन समितिका अध्यक्ष एवम् सचेत महिला समूहकी अध्यक्ष सरिता कुँवरले यस वर्ष गुन्डुमा फूल उत्पादन विगतभन्दा दुई तिहाईघटेको बताउनुभयो । उहाँले भन्नुभयो, “सुरुको वर्ष एक रोपनी जग्गामा मखमली फूलको तीन हजारदेखि ४ हजारसम्म माला हुने गरेकामा यस वर्ष यसवर्ष मुस्किलले ८०० मात्रै माला भयो, गुन्डुमा धेरै फूल घट्यो ।”

गुन्डुमा मात्रै करिब ७०० घरपरिवारले व्यावसायिक फूलखेती गर्दैै आएका छन् । आफ्नो जग्गा नहुनेले एक रोपनी जग्गाको रु छ हजारदेखि रु १० हजारसम्म भाडा तिरेर फूलखेती गरेका छन् ।

घरमा आएका व्यापारीलाई सयपत्रीको माला उनेर बिक्री गर्न व्यस्त सचेत महिला समूहकी सरिता बस्नेतले एक रोपनी जग्गामा विगत वर्षमा चार हजारसम्म मखमली फूलको माला हुने गरेकामा यसवर्ष ४०० मात्रै माला भएको बताउनुभयो । “एक रोपनी जग्गामा पोहोर परार रु ५० देखि ५५ हजारसम्म आम्दानी हुने गथ्र्याे, यसवर्ष फूलखेती बिग्रिएकाले मुस्किलले रु १५ हजार मात्रै कमाइ हुने भयो ” उहाँले भन्नुभयो ।

कृषि कार्यालयबाट ल्याइएको फूलको बीउ नै नक्कली परेको र राम्रो बीउ नपाउँदा उत्पादन कम भएको हुन सक्ने गुण्डु–९ की फूलकृषक पार्वती कुँवरले बताउनुभयो ।

बजारसम्म फूल लैजान नपर्ने र स्वदेश तथा विदेशका व्यापारी घरमै आउने भएपछि उत्साहित भएका किसान उत्पादन घटेपछि निरुत्साहित हुन थालेका छन् । अरुको जग्गा भाडामा लिएर फूलखेती गरेका रमिता नगरकोटी र इन्दिरा नगरकोटीले यस वर्ष सुरुदेखि नै फूलमा रोग लागेको बताउनुभयो ।

गुन्डुमा मात्रै करिब ७०० रोपनीभन्दा बढी क्षेत्रफलमा फूलखेती गरिएको भए पनि उत्पादन घट्दै जान थालेपछि कृषक चिन्तामा पर्न थालेका छन् । गत वर्षभन्दा यस वर्ष फूलको मूल्यवृद्धि पनि उत्पादन कम भएकाले राम्रो आम्दानी भने गर्न नसकेको किसान बताउँछन् ।

विगत वर्षमा जस्तो उत्पादन भएको भए यस वर्ष गुन्डुबाट मात्रै रु पाँच करोडभन्दा बढीको फूल बिक्री हुनेमा उत्पादन कम भएकाले यस वर्ष रु एक करोड बढीमा फूल तथा माला बिक्री भएको व्यावसायी बताउँछन् ।

अनुगमनका क्रममा कोषका संयोजक राजन शर्माले यस वर्ष फूलखेती बिग्रिएकाले आगामी वर्ष यसलाई राम्रो बनाउन राम्रो बीउको व्यवस्था गरिने, तालिम दिइने, विषादीको वैकल्पिक उपायका बारेमा जानकारी दिइने बताउनुभयो ।