धादिङको कपुरगाउँमा सामूहिक टीका

574 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ, -उत्तरी धादिङको लापा गाविसस्थित कपुरगाउँमा सबै मानिसले एकै ठाउँमा जम्मा भएर सामूहिक भाइटीका लगाएका छन् ।

दिदीबहिनी नहुने र दाजुभाइ नहुनेहरूका लागि मात्र होइन गाउँवासीले चाडबाडलाई भड्किलो हुनबाट बचाउन यसरी सामूहिक भाइटीका लगाउन थालेको स्थानीय तिम्ला निमाविका प्रधानाध्यापक बमबहादुर तामाङले बताए ।

तामाङ समुदायअन्तर्गत गोम्जा र मम्बाहरूले स्थानीय नमस्ते ग्रामीण विकास समाजको व्यवस्थापनमा सामूहिक भाइटीका लगाउने गरेका हुन् । चाडबाडमा भड्किलोपना बढ्दै गएकाले यसलाई समय र परिस्थिति सुहाउँदो र मर्यादित बनाउन सामूहिक अभियान थालिएको सण्माजका अध्यक्ष नीरबहादुर तामाङले बताए ।

कपुरगाउँका सबैजसो एक आपसमा नाता सम्बन्धका व्यक्ति भएकाले तिहारमा धेरैजसो घरमा दिदिबहिनी दाजुभाइका घरमा गएर टीका लगाउन दिनभरमा पनि नभ्याउने अवस्था आएको थियो ।

स्थानीय सामाजिक अगुवा रामबहादुर तामाङले भने, ‘हरेक घरका मानिसले कम्तीमा दुई हजारभन्दा बढी खर्च गर्नुपर्ने अवस्था आएको थियो । खर्चले धान्नै गाह्रो भएको थियो । अहिले सामूहिक टीका लगाउन थालेपछि प्रत्येक व्यक्तिले ३०० भन्दा बढी खर्च गर्न नपर्ने अवस्था आएको छ ।’

विदेश गएकाहरूको दिदीबहिनी वा दाजुभाइहरूले टीका लगाउन नपाएको अवस्थामा सबैका लागि दाजुभाइ र दिदिबहिनी एकै ठाउँमा जम्मा हुने र उनीहरूले दाजुभाइलाई टीका लगाएर आफ्नो दाजुभाइको अभाव खड्किन नदिने काम यस्तो सामूहिक टीकाबाथ भएको अर्का सामाजिक अगुवा घनबहादुर तामाङको भनाइ छ ।

यो गाउँमा रहेका ६५ घरपरिवारका मानिसले यस वर्ष सामूहिक टीका लगाएको तिम्ला निमाविका प्रधानाध्यापक तामाङले बताउनुभयो । सोही विद्यालयको प्राथमिक तहको भवनको चौरमा बसेर सामूहिक टीका लगाउने गरिएको छ ।

यस वर्ष पनि गाउँभरिका व्यक्तिहरू जम्मा भएर भाइटीका लगाएका थिए । भाइटीकापछि गाउँमा सांस्कृतिक कार्यक्रम गर्दै गाउँ बाहिरबाट आएकालाई विशेष स्वागत तथा बिदाइ कार्यक्रम आयोजना गर्ने गरिएको छ ।

सदरमुकामबाट तीन दिनको पैदलदूरीमा रहेको लापा गाविसको कपुरगाउँ विकास र राज्यको पहुँच नपुगेको गाउँका रूपमा चिनिँदै आएको छ राससमा खबर छापिएको छ ।