सहमति, सहकार्य, एकता र मेलमिलापका लागि प्रधानमन्त्रीको आग्रह

620 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

sushil koiralaaकाठमाडौँ, १२ कात्तिक । प्रधानमन्त्री सुशील कोइरालाले छठ पर्वका उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपालीमा सुस्वास्थ्य, दीर्घायु, सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको कामना व्यक्त गर्नुभएको छ ।

प्रधानमन्त्री कोइरालाले शुभकामना सन्देश दिँदै छुट्टै मूल्यमान्यता र विश्वाससहितको मौलिक संस्कृति बोकेको यस पर्वले सम्पूर्ण नेपालीको बीचमा बन्धुत्व, सद्भाव र हार्दिकता अभिवृद्धि गरी राष्ट्रिय एकतालाई मजबुत बनाउने विश्वास व्यक्त गर्नुभएको छ ।

उहाँले नेपाली जनताले छ दशकभन्दा लामो समयदेखि प्रजातन्त्रको स्थापना, पुनःस्थापना र विकासका लागि गरेका आन्दोलनको उपलब्धिका रूपमा प्राप्त सङ्घीयता, लोकतन्त्र, गणतन्त्र र समावेशितालाई संस्थागत गर्न संविधान निर्माणमा हरेक नेपालीले साथ दिनुपर्ने औँल्याउँदै आपसी सहमति, सहकार्य, एकता र मेलमिलापको माध्यमबाट नै ऐतिहासिक जिम्मेवारी पूरा गर्न सकिने बताउनुभएको छ । मुलुकलाई विकासको नयाँ चरणमा प्रवेश गराएर स्वदेशमा नै विश्वका विकसित देशका नागरिकसरहका सुखसुविधा पाउने अवसर सिर्जना गर्न सकिने विश्वास उहाँले व्यक्त गर्नुभएको छ ।

“छठ पर्वले समस्त नेपालीको मनमष्तिष्कमा देश र जनताको समुन्नतिका लागि सत्कार्य गर्ने सत्विचार सिर्जना गर्ने प्रेरणा दिन सकोस्, सबै नेपालीमा आशा, विश्वास र सकारात्मक भावनाको विकास गराउन सकोस्, जनताको सुख, शान्ति र समृद्धिका लागि काम गर्न सबै राजनीतिक दलका नेतालाई आपसी सहमति, सहकार्य, एकता र मेलमिलापका लागि थप उत्प्रेरित गर्न सकोस् ।” – सन्देशमा भनिएको छ ।