बेवारिसे शव व्यवस्थापनमा चुनौती

714 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

चितवन, १४ कात्तिक । बेवारिसे शव बढ्दै गएपछि त्यसको व्यवस्थापनमा चुनौती थपिएको छ । भरतपुर अस्पताल परिसरमा रहेको शवगृहको क्षमता छजनाको मात्र छ ।

दुईचार दिनमै शवगृह भरिँदा बेवारिसे शव बाहिरै राख्नुपर्ने बाध्यता छ । जसका कारण अस्पताल क्षेत्र प्रदूषित बन्दै आएको छ । भरतपुर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट चिकित्सक केशवराज भुर्तेलका अनुसार वर्षदिनमा झन्डै २०० को हाराहारीमा बेवारिसे शव जम्मा हुने गर्दछ ।

नारायणीमा बगाएर ल्याएकादेखि बेवारिसे अवस्थामा उपचारका क्रममा मृत्यु भएका सम्मका शव त्यहीँ जम्मा हुने गर्दछ । ऐनमा स्पष्ट रूपमा बेवारिसे शवको व्यवस्थापन स्थानीय निकायले गर्ने उल्लेख छ । यद्यपि शवपरीक्षणका लागि भन्दै अस्पतालकै शवगृहमा शव जम्मा गरिने गर्दछ ।

मेडिकल सुपरिटेन्डेन्ट भुर्तेलका अनुसार अहिले शवगृहभित्र नौ र बाहिर दुईवटा शव रहेका छन् । दुई वर्षअघि सम्म भरतपुर नगरपालिकाले हिउँदमा स्थानीय सामुदायिक वनमा खाल्डो खनेर पुर्ने र वर्षादमा नारायणी नदीमा बगाउने गर्दथ्यो । नदीमा बगाउन रोक लगाएपछि र स्थानीय जलदेवी सामुदायिक वनले शव गाड्न नदिएपछि समस्या उत्पन्न भएको भरतपुर नगरपालिकाका वातावरणीय विभाग प्रमुख इन्जिनियर विराट घिमिरेले बताउनुभयो ।

व्यवस्थापन गर्ने जिम्मेवारी नगरपालिकाको भए पनि सबै क्षेत्रबाट सहयोग नपाएसम्म समाधान गर्न नसकिने उहाँले बताउनुभयो । शव व्यवस्थापनको दीर्घकालीन समाधानको खोजीका लागि नगरपालिका लागिपरेको उहाँको भनाइ छ ।

व्यवस्थापन अघि राख्नका लागि भरतपुर अस्पताल परिसरमा बन्दै गरेको शवगृहसमेत अलपत्र परेको छ । आडैमा रहेको मेडिकल कलेजले ४० प्रतिशत र अस्पतालले ६० प्रतिशत खर्च गर्ने गरी निर्माण थालिए पनि मेडिकल कलेजले रकम नदिँदा निर्माण कार्य रोकिएको अस्पतालले जनाएको छ ।