ग्रामीण भेगका बिद्यार्थीलाई जिल्लावासीको सहयोग

1072 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

हरि पन्त
2धुंवाकोट –धादिङ जिल्लाको धुवाकोट गाविस वडा नं. ४ स्थित श्री जनकल्याण प्रा.वि.मा शुक्रबार पूर्वान्ह ३ बजे तिरको वातावरण अति नै रोमाञ्चक थियो । शुक्रबारको दिन विद्यार्थीहरु १ बजे नै घर जानुपर्ने भएपनि सबै कुरेरै बसेका थिए । विद्यालयका व्यवस्थापन समिति, शिक्षक–शिक्षका, अभिभावक, विद्यार्थी सबै अत्यन्तै खुशी थिए । विद्यालय तथा विद्यार्थीहरुका लागि पहिलो पटक सहयोगी हात लिएर केही पाहुनाटोली आउँदैछन् भन्ने थाहा पाएर उनीहरु सबै विद्यालय प्राङ्गणमा जम्मा भएका थिए । उनीहरु पाहुनाको स्वागत गर्न आतुर थिए । उनीहरुले स्वागतका लागि दुई वटा स्वागत गेट समेत निर्माण गरेका थिए । विद्यालयका सहयोगी हात बोकेर आउने पाहुनाहरु थिए धादिङ–पोखरा सम्पर्क समितिको एक टोली । टोलीमा ३५ जना सहभागी थिए । समितिको टोली त्यहाँ पुग्दा लामो र जोखिमयुक्त यात्राका कारण थकित र निराश थियो । जिल्ला सदरमुकाम धादिङवेशीदेखि त्यहाँ (चिम्नेखर्क) पुग्ने सडक जम्मा २० कि.मि. मात्र भएपनि सडक अतिनै साँगुरो र जोखिमयुक्त थियो । देशभर भइरहेको दुर्घटनाको भयले सबै नागरिक यात्राका क्रममा तनावमा रहने गर्दछन् । त्यो तनाव समितिको टोलीमा पनि देखिन्थ्यो । यात्रा अवधिभर कसैको पनि मुहार हँसिलो थिएन । उनीहरुले रमाइला–रमाइला गफ गर्दै तनाव कम गर्ने प्रयत्न गरेका थिए ।
थकित र निराश मुद्रामा जब समितिको टोली विद्यालय कम्पाउण्ड बाहिर पुग्यो तालीको गड्गडाहट चल्यो । उनीहरुले फूलमाला र तालीले पाहुना टोलीको भव्य स्वागत गरे । विद्यार्थी, शिक्षक–शिक्षिका, अभिभावक सबै दुई लाइनमा बसेर पाहुनालाई स्वागत गर्दै विद्यालय प्राङ्गणको कार्यक्रमस्थलमा पुर्याए । उनीहरुको त्यो स्वागतले समितिका पदाधिकारी सबैको तनाव र थकान मेटाइदिएको थियो ।
कार्यक्रमस्थलमा पुगेर समितिको टोलीले कार्यक्रम शुरु गर्ने वित्तिकै स्वागत गर्न बसेका सबै एकै ठाउँमा जम्मा भए । कार्यक्रम अवधिभर सबैभन्दा बढी चासो विद्यार्थीहरुको थियो । उनीहरुले नृत्य र गीतमार्फत समेत पाहुनाटोलीको स्वागत गरे । समितिले गरेको सहयोगमा १५ हजार रुपैयाँ नगदका साथै पाठ्यपुस्तक र खेलकूद सामाग्री विद्यालयका लागि थियो । विद्यालयमा ६५ जना विद्यार्थी अध्ययनरत छन् । उनीहरु सबैका लागि विद्यालय पोशाक, कापी, कलम थियो । सबै विद्यार्थीलाई नै सो सामाग्री समिति आफैले हस्तान्तरण गर्न सम्भव नभएपछि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विचारी सापकोटा र प्रधानाध्यापक शालिकराम सापकोटालाई हस्तान्तरण गरिएको थियो । त्यस अवसरमा समितिका केही पदाधिकारी एवं सदस्यले समेत व्यक्तिगत रुपमा शैक्षिक सामाग्री सहयोग गरेका थिए । सहयोग सामाग्री पाएर प्रफुल्लित मुद्रामा प्रधानाध्यापक शालिकराम सापकोटाले धादिङ–पोखरा सम्पर्क समितिप्रति आभार व्यक्त गरे । उनले भने–‘राज्यले गर्नुपर्ने यस्तो सहयोग सामाजिक संस्थाले गर्नु अत्यन्तै सह्रानीय छ । समितिको यो सहयोगप्रति विद्यालय परिवार अत्यन्तै हर्षित छ । समितिको सधैं भलो होस् ।’ विद्यालयको २३ वर्षे इतिहासमा पहिलो सहयोग प्रास्त गरेको समेत उनले बताए । धादिङ–पोखरा समितिका अध्यक्ष बलराम खतिवडाको अध्यक्षतामा भएको कार्यक्रममा समितिका सल्लाहकार परिषद संयोजक एवं पूर्व अध्यक्ष रुद्र खनाल, वरिष्ठ उपाध्यक्ष गोकर्ण लम्साल, सचिव गोकर्ण अधिकारी लगायतले समितिको सानो सहयोगलाई स्वीकार गरेकोमा विद्यालयप्रति आभार व्यक्त गरेका थिए ।
समितिका अध्यक्ष बलराम खतिवडा नेतृत्वको टोलीमा पदाधिकारी, सदस्यका साथै पोखरा र धादिङका पत्रकार समेत सहभागी थिए । कार्यक्रम संयोजक गुणराज सापकोटा (भरत) र सह–संयोजक नवराज सापकोटा थिए । संयोजक र सह–संयोजक सापकोटाद्वय समितिका सदस्य एवं त्यहाँकै स्थानीय हुन् । समितिले गरेको सहयोग सामाग्री नगद बाहेक ८० हजार बराबरको रहेको कोषाध्यक्ष लालप्रसाद पाठकले जानकारी दिए ।